निर्वाचनमा फेरि नमारिऊन् चेतनदीपहरू
बाजुरा : चुनाव नजिकिँदै जाँदा बाजुराको त्रिवेणी–७ मालाकोटका गगने ऐडीको मन फेरि अस्थिर हुन्छ। भीडभाड, नाराबाजी र सायरनको आवाज सुन्नासाथ उनी २०७९ मंसिर ४ गतेतिर फर्किन्छन्– त्यो दिन, जब चुनावी विवादले उनका एक्ला छोरा चेतनदीप ऐडीको ज्यान लियो।
२०७९ मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा नाटेश्वरी आधारभूत विद्यालय, दम्था मतदान केन्द्रमा राजनीतिक विवाद चर्कियो। स्थानीय तहमा बढ्दै गएको अविश्वास र आरोप–प्रत्यारोपबीच वातावरण संवेदनशील बनेको थियो। ऐडीका अनुसार नेपाली कांग्रेससँग आबद्ध केही कार्यकर्ता घरभित्रै पसी चेतनदीपलाई बाहिर तानेर निर्घात कुटपिट गरे। परिवारले चिच्याहट सुन्नुबाहेक केही गर्न सकेन। अन्तत: गम्भीर घाइते चेतनदीपको मृत्यु भयो। चुनाव सकियो, परिणाम आयो, सरकार फेरिए। तर, गगने ऐडीको घरमा सिर्जिएको शून्यता अझै भरिएको छैन।
घटनापछि मालाकोट क्षेत्र केही समय तनावग्रस्त बन्यो। सुरक्षा निकायले निगरानी बढायो। सो घटनामा २४ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ। प्रहरीद्वारा पक्राउ गरिएका आरोपितमध्ये ७ जना साधारण तारेखमा, ७ जना धरौटीमा र १० जना पुर्पक्षका लागि कारागारमा छन्। मुद्दा हाल विचाराधीन अवस्थामा छ। परिवारले निष्पक्ष छानबिन र दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै आएको छ।
चेतनदीप अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय अध्यक्ष थिए। सामाजिक र राजनीतिक रूपमा सक्रिय उनी निर्वाचनलाई लोकतान्त्रिक अभ्यासका रूपमा लिन्थे। ‘हामीले छोरालाई राजनीति सिकायौं, घृणा होइन,’ ऐडी भन्छन्, ‘तर घृणाले नै उसको ज्यान लियो।’
उनको मृत्युपछि परिवार आर्थिक र भावनात्मक रूपमा गहिरो आघातमा छ। श्रीमती विधवा बनिन्, साना सन्तान टुहुरा भए। भित्तामा टाँसिएको तस्बिर, उनका प्रयोगका सामान र सुनसान आँगनले त्यो दिनको स्मृति बारम्बार ताजा गराइरहन्छ। चुनावको चर्चा सुरु हुनासाथ गगने ऐडीको मन फेरि ढुकढुक हुन्छ। जेन–जी आन्दोलनपछि तीन वर्ष नबित्दै आगामी फागुन २१ गते पुन: प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ।
दलहरू प्रचार–प्रसारमा व्यस्त छन्, कार्यकर्ता सक्रिय छन्। तर, गगने ऐडीका लागि चुनाव उत्सव होइन-परीक्षा हो। ‘हार–जित लोकतन्त्रको हिस्सा हो,’ उनी भन्छन्, ‘तर ज्यान जाने खेल हुनुहुँदैन। चुनावले कसैको घर उजाड्नु हुँदैन।’ उनले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै संवेदनशील क्षेत्र पहिचान गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेका छन्। विशेष गरी घरमै पुगेर हुने आक्रमणजस्ता घटनाको पुनरावृत्ति रोक्न कडा निगरानी आवश्यक रहेको उनको भनाइ छ। निर्वाचन लोकतन्त्रको आधारस्तम्भ हो। तर, जब प्रतिस्पर्धा प्रतिशोधमा बदलिन्छ, त्यसले लोकतन्त्रकै आत्मामा चोट पु¥याउँछ। चेतनदीप ऐडीको मृत्यु एउटा परिवारको मात्रै शोक होइन-समाजका लागि चेतावनी पनि हो।
फागुन २१ नजिकिँदै गर्दा मालाकोटको एउटा घरबाट उठेको सन्देश स्पष्ट छ-लोकतन्त्रको नाममा अब कुनै बाबुले आफ्नो सन्तान गुमाउन नपरोस्। निर्वाचन सफल त्यतिबेला मात्र मानिनेछ, जब मतपेटिकासँगै प्रत्येक घरको सुरक्षा र विश्वास पनि सुरक्षित रहनेछ।
विगतबाट पाठ सिकेका छौं : प्रजिअ
बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार आगामी निर्वाचनलाई भयरहित बनाउन उच्च सुरक्षा सतर्कता अपनाइएको छ। विगतका कमीजोरीबाट सिकेर जिल्लाका ७७ मतदान स्थलको वर्गीकरण गरिएको छ-६२ अतिसंवेदनशील, १२ संवेदनशील र ३ सामान्य।
सुरक्षाका लागि ४ सयभन्दा बढी नेपाल प्रहरी, करिब २ सय सशस्त्र प्रहरी, ३ सयभन्दा बढी नेपाली सेना तथा १ हजार ६० जना म्यादी प्रहरी परिचालन गरिने उनले जानकारी दिए। सबै मतदान स्थलको स्थलगत अनुगमनसमेत गरिएको प्रशासनले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !