गगन चुनावी मैदानमा, देउवा उपचारका लागि विदेशमा

गगन चुनावी मैदानमा, देउवा उपचारका लागि विदेशमा

सर्लाही :  ‘साथीहरू, म कर्णाली प्रदेश जाँदैछु, १८ गते मात्र फर्कन्छु,’ स्थानीय नेता/कार्यकर्तासँग बिदा माग्दै गगन थापा सर्लाही–४ बाट बुधबार हिँडे। फरक परिवेश, फरक मतदाता, फरक स्थानमा उम्मेदवार बनेका गगनले स्थानीय नेता/कार्यकर्तासँग फेरि आग्रह गरे, ‘म यहाँ नहुँदा पनि तपाईंहरूले मतदातासँग हात जोड्ने, मुखले राम्रो बोल्ने र गोडाले हिँडेर घरघरै जानुहोला। सबैलाई मै हो गगन भनेर जिम्मा लिनुहोला। यत्ति काम अबको ८ दिनसम्म गरिदिनुहोला।’ 

गगनले आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ छोडेकै भोलिपल्ट बिहान सञ्चारमाध्यममा अर्को समाचार आयो– ‘कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुरतिर।’ विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्व लिएका गगनका लागि देउवा उपचारका लागि विदेश लागेको समाचार पक्कै पनि कर्णप्रिय थिएन। विशेष महाधिवेशन र गगनको नेतृत्वप्रति ‘मौन विरोध’ गरिरहेका देउवाको चुनावको मुखमा देश छोड्ने निर्णयले कांग्रेसको आन्तरिक विवाद छताछुल्ल भएको विश्लेषण गर्न थालिएको । किनभने, विशेष महाधिवेशनपछि देउवा र गगनबीच न औपचारिक छलफल छ, न त भेटघाट नै। यसले चुनावमा कांग्रेसलाई कस्तो प्रभाव पार्ला भन्ने अनेक अनुमान गर्न थालिएका छन्।

पार्टीको विशेष महाधिवेशनबाट कांग्रेसको जिम्मेवारी काँधमा लिएका थापालाई सबै निर्वाचन क्षेत्रका चुनावी सभालाई सम्बोधन गरिदिन नेता/कार्यकर्ताले आग्रह गरिरहेका छन्। तर, छोटो समय भएकाले थापा पोखरा र मधेसका केही जिल्लामा मात्रै चुनावी सभामा सहभागी हुनेछन्। आफ्नो निर्वाचन क्षेत्रमा १८ गते मात्रै पुग्ने उनको सचिवालयले जनाएको छ। यस्तो धपेडीबीच सर्लाही–४ को चुनावी नतिजाबारे अनेक टिप्पणी भइरहेका छन्।

देउवाको विद्रोहले जन्माएको शंका
विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व सम्हालेका थापाका लागि यो निर्वाचनबाट कडा परीक्षा हुँदैछ। पुरानो संस्थापन पक्षको खुलेर समर्थन नहुँदा थापाले दबाब त महसुस गरेकै छन्, बिहीबार मात्र निवर्तमान पार्टी सभापति देउवा सिंगापुर उडे पछि त थप शंका उपशंका गर्न थालिएको छ। हुन त, देउवाले निर्वाचनको विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्। दुई/दुईपटक पार्टीको सभापति र ५ पटक प्रधानमन्त्री भइसकेका देउवा निर्वाचनको मुखमा एक शब्द पनि नबोली स्वास्थ्य उपचार गराउने भन्दै विदेश लागे।

तर, कांग्रेसको गढ मानिने सर्लाही–४ मा देउवाको मौनता वा विरोधले चुनावमा कुनै प्रभाव नपार्ने यहाँका स्थानीय नेता बताउँछन्। कांग्रेसका स्थानीय नेता ललन कुमार सिंह केन्द्रको राजनीतिले सर्लाही–४ मा कुनै प्रभाव नपार्ने दाबी गर्छन्। ‘शेरबहादुर देउवाजीले बोले पनि नबोले पनि हामी गगन थापाजीलाई जिताएरै पठाउँछौँ,’ उनले अन्नपूर्णसँग भने, ‘हामीले नै उहाँलाई तपाईँ यता आउनुस्। तपाईंलाई जिताएर पठाउने काम हाम्रो भयो भनेरै बोलाएका हौं। हार्ने छुट उहाँलाई छैन। यो ठाउँको उचित विकासका लागि भन्दै उहाँलाई निमन्त्रणा दिएका हौं।’

पार्टीले थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरिसकेकाले पनि सर्लाही–४ को यो जटिल चुनावी गणित र त्यसबाट आउने नतिजाले थापाको आगामी राजनीतिक भविष्य र उचाइ तय गर्ने देखिन्छ। यद्यपि थापा भने मधेसमा पार्टी कमजोर हुँदै गएकाले आपूm झरेको बताउँछन्। ‘मधेसलाई जगाउन आइपुगेको छु। यति समथर मलिलो जमिन हुँदाहुँदै पनि मधेस दिनानुदिन पछि पर्दै जानुमा राजनीतिक दलले गरिखानो भाडो बनाएरै हो,’ थापाले भने, ‘अब राजनीति गर्ने थलो मात्र नभई मधेसलाई विकासको मूल फुटाउने क्षेत्रको रूपमा चिनाउनु आवश्यक छ।’

सर्लाही–४ राष्ट्रिय राजनीतिबाट ओझेलमा पर्दै आएको क्षेत्र मानिन्छ। अहिले पनि यो क्षेत्र बेरोजगारी र गरिबीका कारण पछि परेको स्थानिय गुनासो गर्छन्। ७५ वर्षीय बालदेव सहनी भन्छन्, ‘यहाँ धेरै थरीका नेताले धेरै आश्वासन बाँडे, सपना देखाए तर यहाँका जनताले कांग्रेसलाई विश्वास गर्दै आए। गगनका प्रतिस्पर्धीसमेत रहेका पूर्वकांग्रेस नेता अमरेशकुमार सिंहलाई आफूहरूले नै अघिल्लो पटक जिताएको उनको दाबी छ। 

२०७९ सालको निर्वाचनमा कांग्रेस छाडेर बागी उम्मेदवारी दिएका सिंहले कांग्रेसका आधिकारिक उम्मेदवारलाई हराउँदै जित हात पारेका थिए। अहिले उनै निवर्तमान स्वतन्त्र सांसद सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार छन्। घर आँगनको मान्छे भन्ने अपनत्वको भोट उनीसँग छ। तर पटक–पटक जित्दासमेत विकास निर्माणमा खासै काम नगरेको आरोप पनि जनताले उनलाई लगाउने गरेका छन्। स्थानीय मनोज सिंह भन्छन्, ‘हामीले अमरेश व्यक्तिलाई भोट हालेका हौं, घण्टीलाई होइन।  गगन थापा राष्ट्रिय नेता हो हामी उहाँलाई स्वागत गर्छौं। हामीलाई हाम्रो घर आँगनको नेता हुँदा उहाँको बाटो छेकेर पनि हाम्रा समस्या सुनाउन सक्छौं। गाली गर्न सक्छौं।’

जेन–जी आन्दोलनपछिको तरल राजनीतिक अवस्थामा थापाले काठमाडौंमा चुनौती बढेपछि सर्लाही झरेको आरोप थापामाथि विपक्षी दलका नेताले लगाउने गरेका छन्। सर्लाही–४ कै श्याम सिंह भन्छन्, ‘कांग्रेसबाटै अर्को यहीको उम्मेदवार उहाँले उठाउन सक्नुहुन्थ्यो तर आफैं किन आउनुभयोरु   उहाँले यहाँको अवस्था सहज ठान्नुभएको होला। त्यो हैन, यहाँ उहाँलाई गाह्रो छ। उहाँ आफ्नो ठाउँमा विद्वान् होला हाम्रो लागि उहाँ पाहुना मात्र हो।’

सर्लाही–४ मा एमालेबाट अमनिशकुमार यादव, नेपाली कम्युनिस्ट पार्टीका रजनीश राय र जनता समाजवादी पार्टी नेपालका रामेश्वर राय यादव पनि चुनावी मैदानमा छन्। त्यसैगरी, जनमत पार्टीबाट राकेश मिश्र उठेका छन्।

कांग्रेसको बिरासत फर्काउने जिम्मेवारी गगनको काँधमा
सर्लाही–४ का कांग्रेस नेता भन्छन्, ‘सर्लाहीमा कुनै समय यस्तो पनि थियो। नेपाली कांग्रेसबाट उम्मेदवारीमा नाम दर्ता गराएपछि उम्मेदवार चुपचाप बसे पनि जनताले चुनावी प्रचारप्रसार गरेर कांग्रेसका उम्मेदवारले सजिलै जित निकाल्थे।’ बुधबार सोही क्षेत्रमा अन्नपूर्णको टिम पुग्दा कांग्रेसका सभापति थापा लगातार ३–४ दिन चुनावी आमसभामा अन्य जिल्ला जान ठिक्क परेका थिए। आफू नहुँदा अबको ७ दिन आफैंलाई गगन थापा भनेर खटिदिन आग्रह गर्दै थिए।

हुन त, सर्लाही–४ मा १ पटक मात्र कांग्रेसबाहेक अर्को दलले चुनाव जितेको इतिहास छ। नत्र लगातार कांग्रेसले नै जित निकाल्दै आएको छ। २०७९ मा भने स्वतन्त्र उम्मेदवार डा। अमरेश सिंहले जितेका थिए। त्योभन्दा अघि उनी नेपाली कांग्रेसबाट दुईपटक निर्वाचित भएका थिए। तेस्रो पटकमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए।

देशभरिका निर्वाचन क्षेत्रहरूमध्येको चर्चामा रहेको सर्लाही–४ मा यतिबेला प्रतिष्ठाको लडाइँ छ। विभिन्न दलबाट गरेर ३५ जना उम्मेदवार रहेको यो क्षेत्रमा कोही वर्षौंदेखि जनताको नाडी छामेका उम्मेदवार छन् भने कोही सो क्षेत्र परिवर्तन गर्नका लागि भन्दै चुनावी प्रतिस्पर्धामा छन्। मुख्य प्रतिस्पर्धा कांग्रेस सभापति थापा र रास्वपाका सिंहबीच हुने देखिन्छ। दुवै नेताका लागि चौथोपटक जननिर्वाचित सांसद बन्ने मौका हो। सर्लाही–४ का जनताले सरकारको नेतृत्व गर्ने व्यक्ति पठाउँछन् कि सोही क्षेत्रबाट संसद्को यात्रा रोकिदिन्छन् यो भने जनताकै हातमै छ। तीनपटकसम्म सहजै जितेको काठमाडौं–४ छोडेर नयाँ भूगोल, भाषा फरक, रहनसहन फरक रोज्न आइपुगेका सभापति थापालाई जित निकाल्न त्यति सहज भने छैन। 

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले मधेसबाट सभापति थापालाई उम्मेदवार बनाएर मधेस र मधेसका मतदाताप्रति कांग्रेसले सम्मान प्रकट गरेको बताउँछन्। ‘अर्कातर्फ मधेसको माटोबाट विजयी गराएर त्यहाँको भावनासँगै सिंगो देशको भावनालाई सही र सबल ढंगले नेतृत्व गर्ने संकल्प पनि हो,’ शर्माले थापाको उम्मेदवारीबारे थपे।

सर्लाही कांग्रेसका नेताहरू भने यसपटक पार्टीमा आन्तरिक गुट अन्त्य भएकाले चुनाव जित्न कठिन नभएको बताउँछन्। रास्वपा उम्मेदवार सिंहले जेजस्तो रणनीति अपनाए पनि जित भने कांग्रेसकै हुने उनीहरूको दाबी छ। यही क्षेत्रबाट प्रतिनिधित्व गर्ने कांग्रेस मधेस प्रदेशका उपसभापति एवं प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंह पार्टी सभापति गगनलाई भारी मतले जिताएर पठाउने बताउँछन्। सिंहले अन्नपूर्णसँग भने, ‘हामीले जिताएर पठाउँछौं भनेरै बोलाएका हौं। उहाँले जितिसक्नुभएको छ। माहोल एकाएक उर्लिएको छ। यसअघि पटक–पटक जितेर गए पनि विकास शून्य भएकाले मतदाताले सिंहलाई मत दिनुहुन्न।’

एकथरी मतदाता परिवर्तनको लहर भन्दै रास्वपाका उम्मेदवारलाई जिताउनुपर्ने अभियान चलाइरहेका छन्। तर, थापाले जिते प्रधानमन्त्रीका उम्मेदवार जित्ने र आफूहरूको क्षेत्रको कायापलट हुने भन्ने विचार व्यक्त गर्ने मतदाता पनि उत्तिकै छन्।

सर्लाही–४ को राजनीतिक शक्ति सन्तुलन 
२०४८ देखि २०५६ सम्म भएका तीन निर्वाचन कांग्रेसका तत्कालीन नेता महन्थ ठाकुरले जितेका थिए। मधेस आन्दोलनपछि ठाकुरले कांग्रेस पार्टी परित्याग गरे। अनि, मैदानमा ओर्लिए– अमरेश सिंह। ०६४ को पहिलो संविधानसभा निर्वाचनमा ठाकुर र सिंहलाई हटाउँदै तत्कालीन मधेसी जनअधिकार फोरमका शिवपुजन राय विजयी भएका थिए। उनै शिवपूजनका छोरा अमनिस यादव अहिले एमालेबाट उम्मेदवार बनेका छन्। 

अमरेशले पनि कांग्रेसकै उम्मेदवार बनेर ०७० र ०७४ को निर्वाचन जिते। २०७९ मा कांग्रेसले उनलाई टिकट दिएन। अनि कांग्रेसबाट विद्रोह गर्दै स्वतन्त्र उम्मेदवार बने, चुनाव पनि जिते। ०७९ को निर्वाचनमा कांग्रेस र तत्कालीन माओवादी केन्द्र सहितको सत्ता गठबन्धनबाट कांग्रेसका नागेन्द्रकुमार उम्मेदवार बनेका थिए। नागेन्द्रले १८ हजार २ सय ५३ मत ल्याउँदा सिंहले २० हजार १७ मत ल्याएर विजयी भए।

गठबन्धनमा रहे पनि माओवादीका शिवपुजन रायले छोरीलाई निर्वाचनमा उठाए। मधुमाला कुमारी यादवलाई स्वतन्त्र उम्मेदवार बनाएका थिए। यादवले १४ हजार ६ सय २२ मत ल्याएकी थिइन्। समानुपातिकतर्फ भने कांग्रेस पहिलो पार्टी बनेको थियो। कांग्रेसले १६ हजार २८ मत ल्याएको थियो। जनमत पार्टीले १२ हजार ५ सय मत पाएको थियो। यो क्षेत्रमा समानुपातिकतर्फ माओवादीले तेस्रो धेरै मत पाएको थियो।  

अघिल्लो चुनावी आकडा
०७९ मा कांग्रेसले टिकट नदिएपछि चुनाव चिह्न ‘माछा’ लिएर निर्वाचनमा उत्रिएका अमरेशकुमार सिंहले कांग्रेसकै उम्मेदवारलाई १७ सय ६४ मतान्तरले पछि पार्दै विजयी बनेका थिए। सिंहले २० हजार १७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकै नागेन्द्र कुमारले १८ हजार २ सय ५३ मत पाएका थिए। तत्कालीन सत्ता गठबन्धनबाट टिकट पाएका नागेन्द्रलाई तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथ थियो।

तेस्रो मत पाएकी स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादव १४ हजार ६ सय २२ मत पाएकी थिइन्। जसपा नेपालका राजेशकुमार मि श्रको ५ हजार ८ सय १३ मत थियो। उक्त चुनावमा रास्वपा उम्मेदवार धिरज ठाकुर ३१८ मत पाएर नवौं स्थानमा पुगेका थिए।
यसपटक सर्लाही–४ मा ८ हजार ७३१ नयाँ मतदाता थपिएका छन। मतदाताको संख्या १ लाख २१ हजार २३१ पुगेको छ। निर्वाचन आयोगका अनुसार सर्लाही–४ मा अघिल्लो निर्वाचनमा १ लाख १२ हजार ५०० मतदाता थिए। प्रत्यक्षतर्फ कुल मतदाता संख्यामध्ये ६४।७६ प्रतिशत अर्थात् ७२ हजार ८५५ मत खसेको थियो। समानुपातिकतर्फ ६४।८४ प्रतिशत अर्थात् ७२ हजार ९३७ मत खसेको थियो।

सर्लाही–४ मा पर्ने पालिका र मतसंख्या
७ स्थानीय तहका ५१ वटा वडाहरू समेटिएर सर्लाही–४ बनेको छ। यो क्षेत्रमा बरहथवा नगरपालिकाका १, २, ३, ४, १३, १४, र १५ वडाहरू समेटिएका छन्। त्यस्तै, बसबरिया गाउँपालिकाका १, २ र ३ नम्बर वडा यस क्षेत्रमा पर्छन्। विष्णु गाउँपालिकाका १, २, ३ र ४ नम्बर वडाहरू यस निर्वाचन क्षेत्रभित्र पर्छन्। धनकौल र रामनगर गाउँपालिकाका सबै ७/७ वडाहरूसँगै बलारा र गोडैटा नगरपालिकाका क्रमशः ११ र १२ वटै वडाहरू यस निर्वाचन क्षेत्रमा समेटिएका छन्।

वडा र विगतको परिणाम
सर्लाही–४ का ५१ वडाहरूमा कांग्रेसबाट सबैभन्दा बढी १९ वडाध्यक्ष निर्वाचित भएका छन्। स्थानीय तह निर्वाचन–२०७९ को मतपरिणाम अनुसार, यहाँ नेकपा माओवादी र तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट ११–११ जना वडाध्यक्षमा विजयी भएका थिए। 

यी पार्टीका वडाध्यक्षहरूले पाएको मतमा पनि कांग्रेसकै धेरै छ। कांग्रेसका वडाध्यक्षहरूले पाएको मत २३ हजार १ सय ४३ छ। वडाध्यक्षहरूको मतमा माओवादी केन्द्र दोस्रो छ। उसले १८ हजार ५ सय २४ मत पाएको थियो। सर्लाही–४ मा सिंगो भूगोल पर्ने ५ पालिकामध्ये कांग्रेस एक पालिकामा मात्रै प्रमुख पदमा जित निकालेको थियो। कांग्रेसका तर्फबाट धनकौल गाउँपालिकाका अध्यक्षमा विजयी रामआ श्रम शाहले ४ हजार ४ सय ७७ मत पाएका थिए।

अपनत्व पाएँ

गगनकुमार थापा, 
सभापति, नेपाली कांग्रेस

चुनावी माहोल कस्तो छ ?  
देखिराख्नुभएको छ। हामी अहिले घरदैलोमा व्यस्त छौं।

काठमाडौं–४ को सहज माहोल छोडेर तपाईंले सर्लाही–४ रोज्नुको कारण के हो ? 

यसपालि अलि फरक माहोल पक्कै छ। मैले २०७९ को निर्वाचनकै बेला यहाँको परिस्थिति बुझेको थिए। पछि परेको भूगोलको विषयमा पहिले नै अध्ययन गरेरै आएको हुँ। तर, अहिले घरदैलोमा हिँड्दै गर्दा अझै नजिकबाट यहाँका जनताका माग, अपेक्षा बुझ्ने अवसर पाइरहेको छु। हरेक मान्छेका दैनिकी विषय हुन्छन्, तिनै समस्या समाधानका लागि यहाँका जनताको अपेक्षा हुने रहेछ। किनभने काठमाडौंको परिवेश फरक थियो। त्यहाँ संरचना लगायतका विषय विस्तारै विस्तारित हुँदै थिए। त्यहाँको प्राथमिकता फरक थिए। यहाँका फरक छन्। यहाँ जनताका अपेक्षा साना–साना छन्।

सर्लाही–४ का जनताले खासमा चाहेको के रहेछ ?  
यहाँका जनताका अपेक्षा धेरै छैनन्। दैनिकीका विषय सम्बोधन गरिएन भन्ने उहाँहरूको अपेक्षा छ। उहाँहरूको मुख्य मुद्दा नै कृषिको हो। उखुले मूल्य नपाएको विषय हो। समय–समयमा पाउनुपर्ने मलको विषय हो। सिँचाइको विषय हो। यहाँका समस्याको विषयको गइराई बुझ्ने मौका पाएको छु।

हुन त यो क्षेत्र कांग्रेसको गढ भनेर चिनिन्छ, चुनाव जित्न कत्तिको सहज महसुस गर्नुभएको छ ?  
यहाँका साथिहरूबाट एकदमै अपनत्व पाएको छु। यहाँका स्थानीय बस्तीमा महिला दिदीबहिनीहरूका कुरा त मैले सुनेको छु। तर मैले उहाँहरूले बोल्ने भाषामा जवाफ दिन सकेको छैन। सिक्दै छु। अहिले घरदैलो गर्दै हिँड्दा पनि धेरै कुरा बुझेको छु।

 यो क्षेत्र अति संवेदनशील क्षेत्र भन्ने सुनिन्छ। चुनाव नजिकिँदै जाँदा त्यस्तो केही अनुभव गर्नुभएको छ ?
  
मैले पनि सुनेको विषय हो। काठमाडौंबाट आउने क्रममा धेरै साथीहरूले भन्नुभएको थियो। तर, मलाई त्यस्तो कत्ति पनि महसुस भएको छैन। एकदमै अपनत्व पाएको छु। अरू पार्टीहरूले चुनाव प्रचार–प्रसारका क्रममा गर्ने हो हल्ला फरक कुरा हुन्। त्यो उहाँहरूको तरिका होला। नेपाली कांग्रेस शान्तिपूर्ण प्रचार–प्रसार गरिरहेको छ। तर सर्लाहीको मात्र कुरा हैन यदि संवेदनशीलको कुरा हो भने सिंगो देशभरि सुरक्षा संवेदनशीलतालाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्छ।

मधेसमा कांग्रेस कसरी जाग्दैछ ?  
सर्लाहीसम्म आउँदा देख्नुभयो होला। मधेसमा कांग्रेसको लहर छाएको छ। हामी जितेर गएपछि ६, ८ महिनामै भिजिबल परिवर्तन महसुस गर्नेछन्। 

जितेर गएपछि मधेसका मुद्दा कसरी सम्बोधन गर्नुहुन्छ ?  
मधेसको मुद्दा सरकारमा गएर मात्र हैन काठमाडौंको अदालत, सेना, प्रशासन, स्थायी सत्तालाई मधेसको दुःख बुझाउने काम नेपाली कांग्रेसले गर्छ। बोलेको कुरा पुरा गर्ने मेरो प्रतिज्ञा हो।


मन्त्रीलेभन्दा बढी काम गरेँ 

अमरेश सिंह, 
रास्वपा उम्मेदवार
चुनावमा जित निकाल्न कति सहज देख्नुहुन्छ ?  
 बहुमत भोटले मैले जित्दै छु, सहज असहजको कुरा नै छैन।  

काठमाडौंको सहज जित छोडेर नेपाली कांग्रेसका सभापति यता आउनुभएको छ। उहाँको उम्मेदवारीले तपाईंलाई चुनौती बढाएको हो?  
 उहाँ आउनुभएको छ। म उहाँलाई हाम्रो ठाउँमा स्वागत गर्छु। मेरो घरमा आउनुभयो भने म गम्छा लगाउँछु खाना खुवाएर पठाउँछु। आउनुस् न स्वागत छ। चुनावी प्रतिस्पर्धाको विषयमा उहाँ आउनुहुन्न। उहाँलाई ठूलो बहुमतले म जित्दैछु।

सर्लाही–४ का जनताले तपाईंलाई किन भोट हाल्ने ?   जनताका लागि तपाईंले के गर्नुभएको छ ? 
 मैले धेरै काम गरेको छु। चिनी मिल राखेको छु। बाटो पिच गराएको छु। विद्यालय बनाएको छु। म एउटा मन्त्री नभए पनि काम गरेको छु।

तपाईंको जित्ने आधार के हो ?  
 स्थानीय जनतानै मेरो आधार हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.