रौतहटमा ६५ उम्मेदवारले मात्र खोले ‘निर्वाचन बैंक खाता’
रौतहट : रौतहटमा विभिन्न दल र स्वतन्त्रबाट प्रतिनिधिसभाका उम्मेदवारले बैंक खाता खोलेका छैनन् । निर्वाचन आयोगको निर्देशिका अनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी सम्पूर्ण आय–व्यय बैंक खातामार्फत सञ्चालन गर्नुपर्ने भए पनि रौतहटमा अधिकांश उम्मेदवारले खाता सञ्चालन गरेका छैनन् ।
चार वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका कुल १४२ जनामध्ये ६५ जना उम्मेदवारले मात्र निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न जिल्ला निर्वाचन कार्यालयबाट सिफारिस लिएको निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले निर्वाचन खर्च पारदर्शी र व्यवस्थित बनाउन अनिवार्य गरिएको बैंक खाता खोल्ने प्रक्रियामा अपेक्षाकृत कम उम्मेदवार सक्रिय देखिएको बताए । ७७ जना उम्मेदवारले भने अझै आवश्यक प्रक्रिया पूरा नगरेको दासले बताए ।
निर्वाचन सम्पन्न हुन पाँच दिन मात्र बाँकी रहँदा पनि ठूलो संख्यामा उम्मेदवारले खाता नखोलेको उनले बताए । निर्वाचन क्षेत्र नम्बर १ मा दलगत १२ र स्वतन्त्र १२ गरी २४ जना उम्मेदवारले बैंक खाता खोल्न सिफारिस लिएका छन् । क्षेत्र नम्बर २ मा दलगत ९ र स्वतन्त्र ६ गरी १५ जना उम्मेदवारले सिफारिस लिएका छन् ।
क्षेत्र नम्बर ३ मा दलगत १० र एक स्वतन्त्र गरी ११ जना उम्मेदवारले खाता खोलेका छन् भने क्षेत्र नम्बर ४ मा दलगत १३ र स्वतन्त्र दुई गरी १५ जना उम्मेदवारले सिफारिस लिएको दासले बताए । निर्वाचन नजिकिँदै जाँदा सबै उम्मेदवारले बैंक खाता खोलेर खर्च व्यवस्थापन तथा प्रतिवेदन प्रक्रियामा सघाउन समस्या कार्यालयले सम्बन्धित उम्मेदवारलाई आग्रह गरेको दासले बताए ।
प्रतिक्रिया दिनुहोस !