मतदानस्थल पुग्न माडी नदी तरेर दुई घण्टा पैदल
प्यूठान : प्यूठानको एक मतदानस्थल पुग्न दुई घण्टा पैदल यात्रा गर्नु पर्दछ । सरुमारनी गाउँपालिका–४ स्थित कालिका प्राथमिक विद्यालय सिरुवारी केन्द्र पुग्न दुई घण्टा बढि पैदल हिँड्नु पर्ने बाध्यता रहेको छ ।
जिल्लामा १५८ मतदानस्थलका २३० मतदान केन्द्र रहेका छन् । यो मात्र यस्तो मतदान केन्द्र हो, जहाँ यातायातको सहज पहुँच पुगेको छैन। प्यूठान–भालुवाङ सडक खण्डको कुडुलेबाट माडी नदीको झोलुङ्गे पुल तरेर पैदल मतदाता केन्द्र पुग्नुपर्ने बाध्यता छ ।
‘सिरुवारी मतदान केन्द्र पुग्न दुई घण्टा बढी पैदल हिँड्नु पर्ने बाध्यता रहेछ’, प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाइँले भने, ‘संवेदनशिल मतदान केन्द्रभित्र पर्ने भएकाले विशेष सुरक्षा व्यवस्था मिलाएका छौं ।’ यस केन्द्रमा ४२८ मतदाता रहेका छन् । सुरक्षा निकायको टोलीले मतदानस्थलको स्थलगत अनुगमन गरेको प्रजिअ प्रसाईले जानकारी दिए ।
कुडुलेदेखि सिरुवारीसम्म मोटरबाटो निर्माण भए पनि माडी नदीमा पक्की पुल नहुँदा यातायात सुविधा पुग्न नसकेको हो । पुल निर्माणका लागि ठेक्का प्रक्रिया भएको तर समयमै पुल निर्माण नहुँदा यातायात असुविधा भएको सरुमारानी गाउँपालिका–४ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता चिन्त सोमैले बताए ।
‘२०७५ सालमा सम्भाव्यता अध्ययन, डिपीआर र माटो परीक्षणको काम भयो, लुम्बिनी प्रदेश सरकारबाट २०७७ मा ठेक्का लाग्यो’, उनले भने, ‘ठेकेदारकै कारण पुल निर्माणको काम अघि बढ्न सकेन ।’ प्रदेश सरकारले १२ करोड विनियोजन गरी पुल निर्माण प्रक्रिया कार्य अघि बढाएको उनले जानकारी दिए । उक्त ठेक्का प्रक्रिया तोडेर नयाँ प्रक्रिया शुरु हुन नसक्दा पुल निर्माण अन्यौलमा परेको उनको भनाई छ । हिउँदको समयमा खोला तरेर ट्याक्टरहरु सिरुवारी पुग्ने गर्दछन् । जिल्लामा कुल १ लाख ६५ हजार ४०६ मतदातायो रहेका छन् ।
प्रतिक्रिया दिनुहोस !