मतदान केन्द्र कब्जा वा मतपेटिका लुटपाट गर्नेमाथि प्रहरीले लिन सक्छ यस्तो 'एक्सन'

मतदान केन्द्र कब्जा वा मतपेटिका लुटपाट गर्नेमाथि प्रहरीले लिन सक्छ यस्तो 'एक्सन'
सुन्नुहोस्

काठमाडौं : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले कडा सुरक्षा योजना लागू गरेको छ। गुण्डागर्दी, मतदान केन्द्र कब्जा, आगजनी वा मतपेटिका लुटपाटजस्ता गतिविधिमा संलग्न हुनसक्ने आशंकित व्यक्तिहरूको पहिचान गरी आवश्यक परे अग्रिम नियन्त्रणमा लिने नीति अपनाइएको प्रहरीका एक उच्च अधिकारीले बताएका छन्।

मतदानस्थलको संवेदनशीलताअनुसार सुरक्षाकर्मी परिचालन गरिनेछ। सामान्य मतदानस्थलमा एक केन्द्र भए ३ नेपाल प्रहरी र ५ निर्वाचन प्रहरी खटाइनेछन्। थप केन्द्र भए प्रत्येकमा २ नेपाल प्रहरी र ४ निर्वाचन प्रहरी थपिने व्यवस्था छ। अतिसंवेदनशील मतदानस्थलमा भने एक केन्द्रका लागि ३ नेपाल प्रहरी र १० निर्वाचन प्रहरी तथा थप केन्द्रमा २ नेपाल प्रहरी र ४ निर्वाचन प्रहरी खटाइनेछ।

सुरक्षा निगरानी सुदृढ बनाउन जिओग्राफिकल इन्फोरमेशन सिस्टममार्फत मतदान केन्द्र र सुरक्षा इकाइबीचको दूरी, सडक अवस्था तथा सम्भावित सहायता पुग्ने समयको नक्साङ्कन गरिएको छ। आवश्यकताअनुसार ‘बडी वर्न क्यामेरा’ र ड्रोन प्रयोग गरी निगरानी तथा सूचना संकलन गरिनेछ।

सीमावर्ती जिल्लामा छिमेकी मुलुकका समकक्षी निकायसँग समन्वय गरी अवाञ्छित गतिविधि रोक्ने तयारी गरिएको छ। प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रका सीमामा चेकजाँच कडा पारिएको छ। मतगणना स्थलमा छेकबारसहित विशेष सुरक्षा प्रबन्ध गरिनेछ भने स्वास्थ्य, बारुण, एम्बुलेन्स, विद्युत्, टेलिफोन र खानेपानीजस्ता आपतकालीन सेवाका लागि सम्बन्धित निकायसँग समन्वय गरिएको प्रहरीले जनाएको छ। न्यूनतम बल प्रयोगको नीति अवलम्बन गरिने पनि प्रहरीको भनाइ छ।

मतदान केन्द्रमा खटिने सुरक्षाकर्मीले बुथ निर्माणमा सहयोग, मतदाताको लाइन व्यवस्थापन, मतपेटिका र मतदान सामग्री तथा कर्मचारीको सुरक्षा गर्नेछन्। प्रवेश विन्दुमा मतदाताको शरीर र झोला चेकजाँच गरिनेछ। मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित रूपमा तोकिएको स्थानसम्म पुर्‍याउन मोबाइल टोली (स्ट्राइकिङ फोर्स) परिचालन गरिनेछ।

एकभन्दा बढी मतदान केन्द्र भएको स्थानमा वरिष्ठ प्रहरी अधिकारीले सुरक्षा समन्वयकर्ता तथा मतदानस्थल कमाण्डरको जिम्मेवारी सम्हाल्नेछन्। मतदान अधिकृतसँग समन्वय गर्दै शान्तिपूर्ण वातावरण कायम राख्ने, समग्र सुरक्षा अवस्थाको अनुगमन गर्ने र आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गर्ने जिम्मेवारी कमाण्डरको हुनेछ।

मतदानस्थलको मूल गेटमा लामो हतियारधारी नेपाल प्रहरी तैनाथ रहनेछन्। उनीहरूले मतदाताको जाँच, लाइन व्यवस्थापन र बाह्य सुरक्षा अवस्थाबारे जानकारी दिने कार्य गर्नेछन्। मतदानस्थलको बीच भागमा मतपेटिकाको सुरक्षार्थ प्रहरी खटिनेछ, जसले मतपेटिका, मतदान सामग्री र कर्मचारीको सुरक्षा सुनिश्चित गर्नेछ।

निर्वाचनका लागि देशभर ७५ हजार ४७३ नेपाल प्रहरी र १ लाख ३३ हजार ९८० निर्वाचन प्रहरी परिचालन गरिने जनाइएको छ। समग्र सुरक्षा व्यवस्थालाई मजबुत बनाउँदै शान्तिपूर्ण र निष्पक्ष मतदान सुनिश्चित गर्ने लक्ष्य प्रहरीको रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.