किल्ला जोगाउने एमाले, लहर जाँच्ने रास्वपा, फर्किने दाउमा कांग्रेस
काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नम्बर–९ सँधै राजनीतिक चर्चाको केन्द्रमा रहने क्षेत्र हो । झिनो मतान्तर, बदलिँदो गठबन्धन, नयाँ अनुहार र पुराना विरासतबीचको टकरावले यो क्षेत्रलाई फेरि एक पटक राष्ट्रिय बहसको केन्द्र बनाएको छ । यहाँ अबको तीन दिनपछि हुने प्रतिनिधिसभा निर्वाचन केवल एउटा सिटको प्रतिष्पर्धा होइन, तीन ठूला शक्तिको प्रतिष्ठाको लडाइँ बनेको छ ।
यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो उपसभापति डोरप्रसाद अर्याल (डीपी) लाई मैदानमा उतारेपछि समीकरणमा हलचल आएको छ । पार्टी सभापति रवि लामिछाने हिरासत र जेलमा रहँदा कार्यवाहकको भूमिका निर्वाह गरिसकेका ५१ वर्षीय अर्याल पहिलो पटक संघीय चुनावी घरदैलोमा छन् ।
‘तपाईं मत बदल्नुस्, हामी देश बदल्ने छौं’ नारासहित उनी आफूलाई ‘रवि लामिछानेको पार्टीको दोस्रो मान्छे’ भन्दै मतदातामाझ पुगेका छन् । तर काठमाडौँ महानगरका पूर्व मेयर बालेन शाहसँगको एकतापछि पार्टीभित्रको शक्ति सन्तुलन फेरिएको सन्दर्भ पनि मतदाताले नियालिरहेका छन् ।
अघिल्लो निर्वाचनमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले रास्वपाका टेकबहादुर पोखरेललाई मात्र ९९५ मतले पराजित गरेका थिए । श्रेष्ठले ११ हजार ९५६ मत ल्याउँदा पोखरेल १० हजार ९६१ मतमा रोकिएका थिए । समानुपातिकतर्फ भने ११ हजार ५०२ मतसहित रास्वपा पहिलो बनेको थियो । यही तथ्यलाई आधार बनाएर रास्वपा नेताहरू यो क्षेत्र अनुकूल भएको दाबी गरिरहेका छन् । शहरी मतदाताको ‘छनौंट’ प्रवृत्ति र वैकल्पिक शक्तिप्रतिको आकर्षणले अर्याललाई बल पुर्याउने कि नपुर्याउने भन्ने प्रश्नको सम्भावित उत्तर भने चुनावकै दिन देखिने छ ।
एमालेले यस पटक लगातार दुई पटक विजयी भएका श्रेष्ठलाई दोहोर्याएन । अध्यक्ष केपी शर्मा ओली ले डा. अजयक्रान्ति शाक्यलाई उम्मेदवार बनाएर नयाँ अगाडि सारेका छन् । भूगर्भ, अर्थशास्त्र, समाजशास्त्र र संगीतमा अध्ययन गरेका तथा बौद्ध दर्शनमा विद्यावारिधि गरेका शाक्य बौद्धिक छविका उम्मेदवार मानिन्छन् । प्रदेशसभा सदस्य र मन्त्रीको अनुभव बोकेका शाक्यले सम्पदा संरक्षण, सांस्कृतिक प्रवद्र्धन र क्षेत्रीय विकासलाई एजेण्डा बनाएका छन् । २०७९ मा काठमाडौँका अन्य क्षेत्रमा पराजित हुँदा एमालेका लागि ‘बीउ जोगिएको’ एक मात्र किल्ला यही क्षेत्र थियो ।
उता नेपाली कांग्रेस ले यस पटक महिला अनुहार अघि सारेको छ । केन्द्रीय सदस्य नानु बाँस्तोलालाई पहिलो पटक संघीय संसदको टिकट दिँदै कांग्रेसले संगठनात्मक पकड र स्थानीय संरचनामा आधारित रणनीति रोजेको देखिन्छ । १४ वडामध्ये ८ वडामा कांग्रेसका वडाध्यक्ष छन्–काठमाडौँ महानगरका १२ र १४, नागार्जुनका ६, ९, १० तथा चन्द्रागिरिका १, १३, १५ मा कांग्रेसको पकड छ ।
बाँस्तोलाले ‘परिवर्तित कांग्रेस’ र १० भिजनसहित मत मागिरहेकी छन् । संविधानको रक्षा र विकासको संकल्प उनको मुख्य नारा हो । संविधानसभा निर्वाचन २०६४ र २०७० मा ध्यानगोविन्द रञ्जितले जितेको विरासत कांग्रेसका लागि आशाको आधार भए पनि त्यसयता यो क्षेत्र जित्न नसक्नु चुनौतीकै रूपमा छ ।
यस क्षेत्रका ७८ हजार ४९५ मतदातामध्ये ४० हजार २७८ महिला र ३८ हजार २१७ पुरुष छन् । शहरी, शिक्षित र राजनीतिक रूपमा सचेत मतदाताको प्रभाव यहाँ निर्णायक मानिन्छ । गठबन्धन बिनाको प्रतिष्पर्धाले पुराना दलहरूको मत विभाजन हुने आंकलन पनि छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का राधाकृष्ण महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टी का दिलकुमार कार्कीलगायत २४ उम्मेदवार मैदानमा छन् । साना दल र स्वतन्त्र उम्मेदवारको उपस्थिति मत काट्ने कारक बन्न सक्छ ।
काठमाडौँ–९ को यो भिडन्त केवल अंकगणित होइन एमालेका लागि किल्ला जोगाउने लडाइँ, रास्वपाका लागि शहरी लहर परीक्षण र कांग्रेसका लागि संगठनात्मक पुनरागमनको अवसर समेत हो । फागुन २१ ले केवल एक सांसद छान्ने छैन, काठमाडौँको भावी राजनीतिक दिशा पनि संकेत गर्नेछ ।
प्रतिक्रिया दिनुहोस !