रास्वपामाथि मौन अवधिमा आचारसंहिता उल्लंघनको आरोप
विराटनगर : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मोरङको निर्वाचन क्षेत्र नम्बर–६ मा मौन अवधिकै समयमा निर्वाचन आचारसंहिता उल्लंघन भएको विषयले विवाद चर्किएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार र कार्यकर्ताले आयोगको निर्देशन विपरीत गतिविधि गरेको भन्दै उजुरी परे पनि प्रभावकारी कारबाही नभएको गुनासो समेत आइरहेको छ ।
निर्वाचन आयोगले मतदान अगाडिको मौन अवधिमा प्रचारप्रसार, मतदाता प्रभावित पार्ने गतिविधि, नमुना मतपत्रसँग सम्बन्धित काम तथा निर्वाचन सम्पर्क कार्यालय सञ्चालन गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ । तर, स्थानीय प्रत्यक्षदर्शीका अनुसार मंगलबार रास्वपाको सम्पर्क कार्यालय खुला राखेर मतदाता सूची मिलाउने र नमुना मतपत्र तयारी गर्ने काम भइरहेको थियो ।
घटनाका बारेमा जानकारी दिँदै स्थानीय दिपल बञ्जाराले कार्यालय बन्द गराउन खोज्दा विवाद भएको बताए । उनले रोक्न जाँदा दुर्व्यवहार समेत भएको र पछि सशस्त्र प्रहरी पुगेर कार्यालय बन्द गराएको जानकारी दिए । उनले मौन अवधिमा यस्तो गतिविधि हुनु कानुनको ठाडो उल्लंघन भएको बताए ।
यता रास्वपा क्षेत्र नम्बर–६ का चुनावी कमाण्डर तथा उम्मेदवार रुविना आचार्यका पति प्रदीप उप्रेतीले भने आरोप अस्वीकार गरेका छन्। उनका अनुसार आयोगले उपलब्ध गराएको अनुसूची–९ अन्तर्गत मतदान प्रतिनिधिसम्बन्धी कागजात हस्तान्तरण गर्न मात्र कार्यालय खोलिएको हो । प्रचारप्रसार वा अन्य निषेधित गतिविधि नगरिएको उनले बताए । प्रहरी आएर कार्यालय बन्द गराएको दाबी समेत उनले अस्वीकार गरे । निर्वाचन हार्ने आकलन गरेका समूह नियोजित रूपमा रास्वपाविरुद्ध लागेको उनको आरोप छ ।
कोशी प्रदेश निर्वाचन कार्यालयका प्रमुख चोलाराज दंगालले अनुसूची–९ अनुसार मतदान प्रतिनिधि चयन गर्न पाइने भए पनि मौन अवधिमा अन्य कुनै गतिविधि गर्न नपाइने स्पष्ट पारे । नमुना मतपत्र तयारी वा मतदाता सूची मिलाउने काम निषेधित भएको उनले बताए ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत सरोज कोइरालाले मौन अवधिमा कार्यालय सञ्चालन र राजनीतिक गतिविधि आचारसंहिता विपरीत भएको बताए । उजुरी परेपछि सम्बन्धित उम्मेदवार वा प्रतिनिधिसँग मौखिक स्पष्टीकरण लिने र तत्काल सुधार गर्न लगाउने अभ्यास भइरहेको उनको भनाइ छ । उनका अनुसार मंगलबार कार्यालय खोलिएको पाइएपछि प्रहरी परिचालन गरी बन्द गराइएको हो ।
स्वतन्त्र उम्मेदवार उत्तम दाहालले भने रास्वपा र उम्मेदवार रुविनाविरुद्ध चार वटा लिखित उजुरी दिइसकेको बताएका छन् । बारम्बार मौखिक उजुरी गर्दा सुनुवाइ नभएपछि लिखित रूपमा निवेदन दिनु परेको उनले बताए । उजुरी दिइसकेपछि पनि ठोस कारबाही नभएको र अनुगमन अधिकारीहरूले फोन समेत उठाउन छाडेको दाहालको भनाइ छ ।
दाहालले दिएको उजुरीमा रास्वपाको पार्टी ब्यानरभन्दा तल राष्ट्रिय झण्डा राखेर दुरुपयोग गरेको, प्रचार सामग्रीको अवैध प्रयोग गरेको, आर्थिक अपारदर्शिता देखिएको तथा सामाजिक सञ्जालमार्फत क्यूआर कोड र बैंक खाता सार्वजनिक गरी प्रत्यक्ष चन्दा संकलन गरेको विषय समावेश छन् । निर्वाचन खर्च बैंक खातामार्फत पारदर्शी रूपमा गर्नुपर्ने प्रावधान भए पनि विवरण सार्वजनिक नगरी चन्दा उठाउनु आचारसंहिताविपरीत भएको उनको दाबी छ ।
आचारसंहिता अनुगमन अधिकृत कोइरालाले भने झण्डा प्रयोगसम्बन्धी विषय सुधार भइसकेको र उजुरी परेका अधिकांश घटनामा मौखिक स्पष्टीकरणमै उम्मेदवारले सच्चिने प्रतिबद्धता गर्ने गरेको बताए । हालसम्म मोरङमा ३२ जना उम्मेदवारलाई मौखिक स्पष्टीकरण सोधेर उल्लंघन रोक्न निर्देशन दिइएको र कसैलाई पनि लिखित स्पष्टीकरण वा थप कारबाही गर्नु नपरेको उनको भनाइ छ ।
छ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा विभिन्न दल र स्वतन्त्र गरी १ सय १० जना उम्मेदवार प्रतिष्पर्धामा छन् । मोरङ–६ मा मात्र १७ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । निर्वाचनको अघिल्लो दिनसम्म आइपुग्दा आचारसंहिता पालना र अनुगमनको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ । निर्वाचन आयोगले भने मौन अवधिको संवेदनशीलतालाई ध्यानमा राख्दै सबै दल र उम्मेदवारलाई कानुनी दायराभित्र रहन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस !