निर्वाचन उत्सव आज

संवैधानिक ‘लिक’मा मुलुकलाई फर्काउने ऐतिहासिक निर्वाचन आज

संवैधानिक ‘लिक’मा मुलुकलाई फर्काउने ऐतिहासिक निर्वाचन आज

जेन–जी आन्दोलनको बलमा अन्तरिम सरकार गठन भयो । प्रतिनिधिसभा विघटन गरियो । उक्त आन्दोलनलाई सम्बोधन गर्न संवैधानिक र राजनीतिक प्रक्रिया मिचिए । तिनै प्रक्रियालाई ‘लिक’ मा ल्याउन र जेन–जी आन्दोलनका माग सम्बोधन गर्न बिहीबार प्रतिनिधिसभा निर्वाचन हुँदैछ । यो निर्वाचनले ‘संवैधानिक र राजनीतिक’ प्रक्रियालाई लिकमा ल्याउने मात्र नभई देशकै भाग्य र भविष्य फैसला गर्ने भएकाले पनि राष्ट्रिय÷अन्तर्राष्ट्रिय क्षेत्रमा निकै चासोका साथ हेरिएको छ ।

काठमाडौं : जेन–जी आन्दोलनको बलमा विघटित प्रतिनिधिसभाको निर्वाचन बिहीबार हुँदैछ। निर्वाचन आयोगले सम्पूर्ण तयारी पूरा भएको भन्दै ढुक्क भएर मतदान गर्न सर्वसाधारणमा आह्वान गरेको छ। यो निर्वाचनले ‘लिक’ बाहिर गएको संवैधानिक र राजनीतिक प्रक्रियालाई ‘लिक’ मा फर्काउने भएकाले राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा निकै चासोका साथ हेरिएको छ। त्यतिमात्र होइन, नयाँ र पुराना भन्ने राजनीतिक शक्तिको पनि परीक्षण गर्नेछ। 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सम्पूर्ण मतदातालाई सक्रिय रूपमा मतदानमा सहभागी हुन आग्रह गरेका छन्। भण्डारीले लोकतान्त्रिक वैधतालाई नवीकरण गर्ने संवैधानिक अभ्यासका रूपमा हुन लागेको निर्वाचनमा सहभागी भई आफ्नो अमूल्य मत प्रदान गर्न आग्रह गरेका छन्।

निर्वाचनमा प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन्। प्रत्यक्षतर्फ ३ हजार १७ पुरुष, ३ सय ८८ महिला र १ अन्य गरी ३ हजार ४ सय ६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ३ सय ६३ पुरुष र १ हजार ७ सय ७२ महिला गरी ३ हजार १ सय ३५ उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ १ सय १० स्थानका लागि निर्वाचन हँुदैछ। यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र २ सय अन्य गरी १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन्। यस्तै, १ लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता रहेको आयोगले जनाएको छ। 

देशभर १० हजार ९ सय ६७ मतदान स्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिएका छन्। एक सय ४३ अस्थायी मतदान स्थल तय गरिएका छन्। निर्वाचन सुरक्षाका लागि ७९ हजार ७ सय २७ नेपाली सेना, ७५ हजार ७ सय ९७ नेपाल प्रहरी, ३४ हजार ५ सय ६७ सशस्त्र प्रहरी बल, १ हजार ९ सय २१ राष्ट्रिय अनुसन्धान र १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका कावा प्रमुख आयुक्त भण्डारीले जानकारी दिए। 

निर्वाचनमा २ लाख १५ हजार कर्मचारी खटिँदैछन्। आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुल ४ करोड २२ लाख ५१ हजार २ सय मतपत्र छापेको छ। यस पटकको निर्वाचनमा ४ अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्था निर्वाचन पर्यवेक्षणमा खटिएका छन्। निर्वाचन आयोगले मतपेटिका हेलिकोप्टरबाट गणना स्थलसम्म पुर‍याउने जनाएको छ। बुधबार आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका सचिव कृष्णबहादुर राउतले १५ जिल्लाका ६१ स्थानबाट मतपेटिका हेलिकोप्टरबाट संकलन गरी गणना स्थलमा पुर्‍याउने जानकारी दिए।

‘१५ जिल्लाका ६१ स्थानबाट ताप्लेजुङदेखि दार्चुलासम्मका मतदानपछिका ब्यालेट बक्स हेलिकोप्टरबाट संकलन हुन्छन्। अरू सवारीसाधनबाट हुन्छन्,’ आयोगका सचिव राउतले भने, ‘त्यसका लागि ढुवानीको रकम जिल्ला निर्वाचन कार्यालयमा पठाइएको छ। सबै सुरक्षा निकायको समन्वयमा मतपत्रसहितका मतपेटिका संलकन गरिनेछन्।’ उनका अनुसार डोल्पाका २३ र हुम्लाका ४ स्थानमा हेलिकोप्टरबाट मतपत्र, मतपेटिका, कर्मचारी र सुरक्षाकर्मी पनि हेलिकोप्टरबाट पठाइएको उनले बताए।

मतपेटिका परिवर्तन हुँदैन
निर्वाचनमा मतपेटिका ढुवानी गर्दा परिवर्तन गर्न सक्ने अवस्था नरहेको निर्वाचन आयोगले जनाएको छ। पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान भइसकेपछि ढुवानी गर्ने बेला कुनै पनि हालतमा मतपेटिका परिवर्तन नहुने बताएका छन्। 
भण्डारीले भने, ‘धेरैले सेनाको हेलिकोप्टरबाट ढुवानी गर्दा मतपेटिका परिवर्तन हुन्छन् कि भनेर सोधेका छन्। मतपेटिका कुनै पनि हालतमा परिवर्तन हुँदैनन्।’

ढुवानी गर्दा मतपेटिका परिवर्तन गर्न सक्ने अवस्था पनि नरहेको र मतदान सम्पन्न भएपछि सबै दलका प्रतिनिधिले लाहाछाप लगाउने उनले बताए। त्यसपछि मतगणनाका लागि मतपेटिका खोल्दा पनि त्यो लाहाछाप हेरिने भएकाले परिवर्तन गर्न सक्ने अवस्था नरहेको उनको भनाइ थियो। 

दुर्गमका मतपेटिका ढुवानी गर्न भने सेनाका साधन प्रयोग गरिने उनले बताए। केही जिल्लाका निर्वाचन केन्द्रबाट मतपेटिका ढुवानी गर्न सेनाको हेलिकोप्टर प्रयोग गरिने भण्डारीले जानकारी दिए। अन्य निर्वाचन क्षेत्रमा सवारीसाधनबाट सबै सुरक्षा संयन्त्रको सहयोगमा संकलन गरिने जनाएको छ। एकीकृत सुरक्षा व्यवस्थाअनुसार नै सुरक्षा व्यवस्था सरकारले मिलाएको जानकारी आएको समेत आयोगले जनाएको छ।

विगतझैं यसपटक पनि सुरक्षा प्रबन्ध मिलाइएको उनले बताए। ‘निर्वाचन सुरक्षामा परिवर्तन गरेका छैनौं। कुनै परिवर्तन भएको छैन। पहिलो घेरमा प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरमा सेना रहन्छ।’ निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आममतदातालाई आग्रह गरेका छन्।

९ लाख नयाँ मतदाता 
यसपटकको प्रतिनिधिसभा निर्वाचनमा करिब ९ लाख मतदाता नयाँ थपिएका छन्। निर्वाचन आयोगद्वारा प्रकाशित अन्तिम मतदाता सूचीअनुसार १३ निर्वाचन क्षेत्रमा ९ लाख बढी मतदाता थपिएका छन् । त्यसमध्ये पनि धेरै बढी मतदाता थपिएको निर्वाचन क्षेत्र हो, चितवन–२। जहाँ अघिल्लो निर्वाचनमा भन्दा यसपटक करिब १३ हजार मतदाता थपिएका छन्।  धनुषा–३ मा पनि करिब १२ हजार मतदाता थपिएका छन् । १० हजारभन्दा बढी मतदाता थपिएका निर्वाचन क्षेत्रमा लुम्बिनी प्रदेशअन्तर्गत बाँकेको एकमात्र निर्वाचन क्षेत्र परेको छ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनभन्दा यसपटक १० हजारभन्दा बढी मत थपिएका निर्वाचन क्षेत्रमा सबैभन्दा बढी साढे १३ हजार मतदाता झापा–२ मा थपिएका छन् । मधेस प्रदेशका सात, कोशी, बागमती र लुम्बिनीका क्रमशः तीन, दुई र एक निर्वाचन क्षेत्र छन्। यी १३ निर्वाचन क्षेत्र पर्ने ९ वटा जिल्ला सबै तराई–मधेसका हुन् । यो सूचीमा झापा १ र २, धनुषा ३ र ४ र चितवन २ र ३ का दुई दुईवटा निर्वाचन क्षेत्र परेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.