भक्तपुरमा ७६ मतदान स्थल,३७ संवेदनशील
भक्तपुर प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि भक्तपुर जिल्लामा ७६ मतदान स्थल र २ सय ३३ मतदान केन्द्र रहेका छन्। दुईवटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा निर्वाचन क्षेत्र नम्बर १ मा ३७ मतदान स्थल र १ सय १९ मतदान केन्द्र रहेका छन् भने निर्वाचन क्षेत्र नम्बर २ मा ३९ मतदान स्थल र १ सय १४ मतदान केन्द्र छन्।
भक्तपुरको ४ नगरपालिकामध्ये निर्वाचन–१ मा भक्तपुर र चाँगुनारायण नगरपालिकाका मतदाता रहेका छन् भने क्षेत्र नम्बर २ मा मध्यपुर थिमि र सूर्यविनायकका सबै मतदाता समावेश छन्। मतदाता नामावलीअनुसार क्षेत्र नम्बर १ मा १ लाख ७ हजार ५४ र क्षेत्र नम्बर २ मा ९८ हजार ३ सय ९६ गरी कुल २ लाख ५ हजार ४ सय १) मतदाता रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
पुरुषभन्दा महिला मतदाता बढी
भक्तपुरको दुवै निर्वाचन क्षेत्रमा पुरुषभन्दा महिला मतदाताको संख्या बढी छ। निर्वाचन–१ मा महिला मतदाताको संख्या करिब ३ हजार बढी छ भने क्षेत्र नम्बर २ मा पनि पुरुषभन्दा २ हजार बढी महिला मतदाता छन्। दुवै क्षेत्रमा गरी महिला मतदाता पुरुषभन्दा ५ हजार बढी रहेका छन्।
बहुसंख्यक मतदान स्थल विद्यालय भक्तपुरका बहुसंख्यक विद्यालय मतदान स्थलका रूपमा प्रयोग भएका छन्। कुल ७६ मतदान स्थल रहेकामा ५२ वटा विद्यालय रहेका छन्। यसमा तीनवटा संस्थागत विद्यालय र कलेजसमेत समावेश छन्।
सबैभन्दा ठूलो मतदान स्थल देकोचामा
मुख्य निर्वाचन अधिकृत नवराज दाहालले जनाएअनुसार प्रति १ हजार मतदाताका लागि एउटा मतदान केन्द्र कायम गरिएको छ। यसरी हेर्दा सर्वाधिक धेरै मतदान केन्द्र भएको मतदान स्थल भक्तपुर नगरपालिकाको देकोचास्थित ख्वप कलेज हो। यहाँ ६ वटा मतदानकेन्द्रमा गरी कुल ६ हजार ३ सय ९६ मतदाता रहेका छन्।
त्यसैगरी, सबैभन्दा सानो मतदान स्थल सरस्वती मावि काँक्राबारी हो। यहाँ एउटा मात्र मनदान केन्द्र रहेको छ र कुल मतदाता ४ सय ९४ जना मात्र छन्।
३७ मतदान स्थल संवेदनशील
सुरक्षा अवस्थालाई विश्लेषण गर्दा ३७ मतदान स्थललाई संवेदनशील वर्गमा राखिएको छ भने ३९ मतदान स्थललाई सामान्य मानिएको छ। अतिसंवेदनशील निर्वाचनस्थल भने नरहेको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले स्पष्ट पारेका छन्। प्रमुख जिल्ला अधिकारी ढकालले बताएअनुसार भौगोलिक बनावट र सुरक्षाका सिन्धान्तका आधारमा ३७ मतदान स्थललाई संवेदनशील मानिए पनि भक्तपुरको विगतको इतिहास हेर्दा कुनै पनि निर्वाचनमा अप्रिय घटना नभएका कारण सबै मतदान स्थललाई सामान्य अवस्थाको मान्न सकिन्छ।
३ हजार बढी सुरक्षाकर्मी परिचालन
प्रमुख जिल्ला अधिकारी उमेश ढकालले निर्वाचनका लागि नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी,म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धानका सूचकसहित करिब ३ हजार सुरक्षाकर्मी तैनाथ गरिएका छन्। मतदान स्थलमा सीसीक्यामेरादेखि ड्रोनबाट समेत निगरानीको व्यवस्था गरिएको उनले बताए। एक मदतान केन्द्रमा एक दर्जन सुरक्षाकर्मी तैनाथ रहेका उनले बताएका छन्। सुरक्षालाई थप प्रभावकारी बनाउन सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्यको नेतृत्वमा अनुगमन टोलि बनाइएको र त्यसले तत्काल आवश्यक सुरक्षा व्यवस्था मिलाउने उनले बताएका छन्।
निर्वाचनका लागि १ हजार ३ सय ९८ कर्मचारी
प्रत्येक मतदान स्थलमा ६ जना निजामती कर्मचारी गरी कुल १ हजार ३ सय ९८ कर्मचारीलाई निर्वाचन गराउने जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृत नवराज दाहालले जनाएका छन्। एउटा मतदान स्थलमा १ जना मतदान अधिकृत,एकजना सहायक मतदान अधिकृत,तीन जना सहायक कर्मचारी र एकजना कार्यालय सहयोगीको व्यवस्था गरिएको उनले बताए। त्यसका साथै प्रत्येक केन्द्रमा तीन जना स्वयंसेवकसहित कुल ६ सय ९९ जना स्वयंसेवकसमेत रहेका बताइएको छ।
४ मतदान केन्द्रमा सम्पूर्ण कर्मचारी महिला मात्र
निर्वाचन–२ को मध्यपुर थिमि नगरपालिकास्थित मतदान स्थल कृषि विकास बैंक तालिम केन्द्रलाई नमुना स्थलको रूपमा व्यवस्था गरिएको राधिका सुवालले जनाएकी छन्। यहाँ चार वटा मतदान केन्द्र रहेको छ र मतदान अधिकृत सहित सबै कर्मचारी महिला मात्र रहेका छन्। त्यतिमात्र होइन,यी चारैवटा मतदान केन्द्रमा सुरक्षाकर्मीसमेत सबै महिला छन्। यी ४ निर्वाचन केन्द्रमा यमुना महर्जन, तारा पाण्डे, संगीता राई र निशा ओलीलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ। यहाँ ३ हजार ८ सय ८५ जना मतदाता रहेका छन्।
२,०३४ अस्थायी मतदाता
भक्तपुरमा २ हजार ३४ जना अस्थायी मतदाता रहेका निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बीसीले बताएका छन्। उनीहरूका लागि मतदान स्थल भक्तपुर क्याम्पसमा केन्द्र स्थापना गरिएको छ। निर्वाचन कार्यालयका प्रमुख प्रकाश मगरले जनाएअनुसार अस्थायी मतदाता नामावलीमा नाम प्रकाशन भएका निजामती कर्मचारीहरूले यहाँबाट मतदान गर्नेछन्। निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरूका लागि भने खटिएको सम्बन्धित क्षेत्रमा नै समानुपातिक मत हाल्ने सुविधा भएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !