मकवानपुरमा दिउँसो १ बजेसम्म ३० प्रतिशत मत खस्यो
हेटौंडा : प्रतिनिधिसभा सदस्यको लागि भैइरहेको निर्वाचनमा मकवानपुरमा शान्तिपूर्ण ढंगले दिउँसो १ बजेसम्म ३० प्रतिशत मत खसेको छ। बिहीबार प्रतिनिधिसभा सदस्यका लागि भईरहेको निर्वाचन अन्तर्गत बिहान ७ बजेबाट जिल्लाका दश वटै स्थानीय तहमा मतदान जारी छ।
मतदानको क्रममा बिहान ७ बजे देखि १ बजेसम्मको समयमा ३० प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरि ढकालले बताए। मकवानपुरमा रहेको २ वटा निर्वाचन क्षेत्रमा ४४ जनाले निर्वाचन प्रक्रियामा सहभागीता जनाएका छन । जसमध्ये मकवानपुर क्षेत्र १ मा २३ जना र २ नम्बर क्षेत्रमा २१ जना गरि कुल ४४ जना निर्वाचन प्रक्रियामा सामेल रहेका छन ।
मकवानपुरमा कुल ३ लाख १५ हजार ३ सय ३४ मतदाता रहेका छन। तीमध्ये क्षेत्र नम्बर १ मा १ लाख ५८ हजार ४ सय ३५ र क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८ सय ९९ मतदाता छन। कुल मतदातामध्ये महिला १ लाख ५३ हजार ३ सय ७६, पुरुष १ लाख ६१ हजार ९ सय ५३ र अन्य ५ जना रहेका छन।
मतदानको समय बिहान ७ बजेबाट ५ बजे सम्मलाई तोकिएको छ। यस्तै मतगणना हेटौंडा उपमहानगरपालिका – ४ मा रहेको भुटनदेवी मा.वि गरिने तयारी गरिएको छ।
प्रतिक्रिया दिनुहोस !