ओखलढुंगाको मानेभञ्ज्याङमा स्थानीयले मतदान गरेनन्, समानुपातिकमा कमर्चारीको ४ मत
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलस्थित सहिद स्मृति आधारभूत विद्यालय सातसल्ले मतदान केन्द्रमा बिहीबार स्थानीयको एक मत पनि खसेन।
प्रतिनिधिसभा निर्वाचनका लागि भएको मतदानमा सो क्षेत्रका स्थानीयले बहिष्कार गरेका हुन्। निर्वाचनमा खटिएका कर्मचारीहरूले मात्रै मतदान गरेका छन्। मतदान केन्द्रमा समानुपातिक तर्फ ४ मत खसेको छ। दुई पुरुष र दुई महिला कर्मचारीले मतदान गरेका हुन्।
स्थानीयले हर्कपुरमा प्रादेशिक अस्पताल स्थापनाको माग गर्दै निर्वाचन बहिष्कार गरेका हुन्। यसअघि उनीहरूले सो क्षेत्रमा अस्पताल निर्माणका लागि करोडौंको जग्गा निःशुल्क सरकारका नाममा उपलब्ध गराएका थिए।
हाल त्यस क्षेत्रमा अस्पताल बन्ने प्रक्रिया सुरु नभएपछि उनीहरूले प्रतिनिधिसभा निर्वाचन बहिष्कार गरेर दबाब सिर्जना गर्न खोजेका छन्।
प्रतिक्रिया दिनुहोस !