रौतहटमा चारै क्षेत्रमा शान्तिपूर्ण निर्वाचन, मतगणनाको तयारी हुँदै
रौतहट : आसन्न प्रतिनिधि सभा सदस्यको लागि फागुन २१ गते भएको निर्वाचनमा रौतहट जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान कार्य सम्पन्न भएको छ ।
निर्धारित समय बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजेसम्म कुनै अप्रिय घटना नभई शान्तिपूर्ण रूपले सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए । पुरै तथ्यांक आउन समय लाग्ने भएपनि करिब ६० प्रतिशत मत खसेको अनुमान निर्वाचन कार्यालयको छ ।
स्वच्छ, निष्पक्ष र शान्त वातावरणमा निर्वाचन सुरक्षित र व्यवस्थित बनाउनको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको व्यापक सुरक्षा व्यवस्था मिलाइएको थियो । सुरक्षा निगरानी कडा पारिएकाले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग पुगेको भुसालले बताए ।
चार वटा निर्वाचन क्षेत्र रहेको रौतहटमा सबै क्षेत्रको मतपेटिकाहरू संकलन गरि सम्बन्धित मतगणना स्थलमा ल्याउने काम भइरहेको र मतगणना गर्ने तयारी समेत भइरहेको निर्वाचन अधिकृत छोटेलाल दासले बताए । क्षेत्र नम्बर–१ को मतगणना गौरमा रहेको जुद्ध माध्यमिक विद्यालयमा, क्षेत्र नम्बर–२ को ब्रम्हज्योति मावि लौकाहा, ३ को जनता मावि कटहरिया र ४ को जनज्योति उच्च मा वि चन्द्रपुरमा मतगणना हुने निर्वाचन अधिकृत दासले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस !