स्याङ्जा -२ मा सुरु भएन मतगणना, निर्वाचन आयोगको निर्णय कुर्दै दलहरु
स्याङ्जा : स्याङ्जा –२ मा मतगणमा अझै सुरु हुन सकेको छैन। बिहीवार सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान अधिकृतका हस्ताक्षर बिनाको मतपत्र मतपेटिकामा खसेपछि ती मतपत्रलाई के गर्ने भन्ने बिषयमा आयोगको निर्णय पर्खेर बसेका कारण मतगणना हुन नसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
वालिङ नगरपालिका –१० बालज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको १७१ वटा मतपत्र भेटिएपछि केही समय मतदान कार्य रोकिएको थियोे। सर्वपक्षीय सहमति गरेर मतदान सञ्चालन गरेपनि सो मतपत्र गणना गर्ने कि नगन्ने भनी प्राविधिक एवं कानुनी समस्या देखिएकाले निर्वाचन आयोगको निर्णयको पर्खाइमा मतगणना हुन ढिलाई भएको निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिए।
गएराती सर्वदलिय बैठक बसेको भए पनि आयोगको निर्णय, निर्देशन पर्खिएका कारण ढिलाई भएको बताइएको छ। निर्वाचन अधिकृतको कार्यलयले आयोगको आधिकारिक पत्र आएपछि मात्रै स्याङ्जा २ को मतगणना सुरु गर्ने जनाएको छ।
स्याङ्जामा ४९ प्रतिशत मत खसेको छ। दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा २ लाख ४८ हजार मतदाता छन। मतदाता मध्ये १ लाख २२ हजार ४६४ पुरुष, १ लाख २६ हजार ३५१ महिला र एक जना अन्य मतदाता छन्।
स्याङ्जामा ३ स्वतन्त्र सहित राजनीतिक दलकागरी २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। क्षेत्र नम्बर १ मा एक स्वतन्त्र उम्मेदवारसहित ११ राजनीतिक दलगरी १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । यसैगरी, क्षेत्र नम्बर २ मा २ जना स्वतन्त्रसहित १२ जना उम्मेदवार छन्।
प्रतिक्रिया दिनुहोस !