मोरङमा रास्वपाको अप्रत्याशित ‘उछाल’, दुई क्षेत्रमा जित र चारमा फराकिलो अग्रता

मोरङमा रास्वपाको अप्रत्याशित ‘उछाल’, दुई क्षेत्रमा जित र चारमा फराकिलो अग्रता
सुन्नुहोस्

विराटनगर : प्रतिनिधिसभा निर्वाचनको मतगणना चलिरहँदा मोरङ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय र अप्रत्याशित प्रदर्शन गरिरहेको छ । 

जिल्लाका छ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये रास्वपाले दुई क्षेत्रमा स्पष्ट जित हात पारिसकेको छ भने बाँकी चार क्षेत्रमा पनि ठूलो मतान्तरसहित अग्रता कायम गर्दै परम्परागत ठूला दललाई चुनौती दिएको छ । अहिलेसम्म सार्वजनिक मतपरिणाम अनुसार मोरङ–४ र मोरङ–६ मा रास्वपाका उम्मेदवार विजयी भइसकेका छन् । 

मोरङ–४ बाट रास्वपाका सन्तोष राजवंशी भारी मतान्तरसहित निर्वाचित भए । उनले ४० हजार ८ सय ३३ मत प्राप्त गर्दै नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेलाई पराजित गरेका हुन् । घिमिरेले १२ हजार ८ सय १८ मत मात्रै पाएका छन् । दुवैबीचको मतान्तर २८ हजार १५ रहेको छ ।

राजनीतिमा लामो समयदेखि सक्रिय, वैचारिक र अनुभवी नेताका रूपमा चिनिने घिमिरेलाई राजनीतिमा अपेक्षाकृत नयाँ अनुहार मानिएका राजवंशीले अत्यन्त ठूलो मतान्तरले हराएपछि यो परिणामलाई धेरैले चासोका साथ हेरिरहेका छन् । यस क्षेत्रमा तेस्रो स्थानमा रहेका नेकपा (माओवादी केन्द्र) का अमनलाल मोदीले १० हजार ७ सय ६२ मत प्राप्त गरेका छन् भने एमालेका केन्द्रीय सदस्य जीवन घिमिरे ६ हजार ९ सय ३३ मतमै सीमित भएका छन् । घिमिरेले आवश्यक मत नपाउँदा उनको जमानत समेत जफत भएको छ ।

मोरङ–६ मा पनि रास्वपाले अझ ठूलो मतान्तरसहित विजय हासिल गरेको छ । यस क्षेत्रमा रास्वपाकी उम्मेदवार रुविना आचार्यले ५५ हजार ५ सय १३ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला १२ हजार ८ सय ५० मतमा सीमित भएका छन् । आचार्य र कोइरालाबीचको मतान्तर ४२ हजार ६ सय ६३ पुगेको छ ।

राजनीतिमा नयाँ अनुहारका रूपमा चिनिएकी आचार्यले नेपाली कांग्रेसका वरिष्ठ नेता कोइरालालाई यति ठूलो मतान्तरले पराजित गर्नु मोरङको राजनीतिक परिदृश्यमा ठूलो घटनाका रूपमा हेरिएको छ । यस क्षेत्रमा एमालेका विनोद ढकालले ८ हजार ३ सय १७ मत पाएका छन् भने श्रम संस्कृति पार्टीका मातृका पौडेलले ३ हजार ४ सय मत प्राप्त गरेका छन् । ढकाल र पौडेल दुवैको जमानत जोगिन सकेन ।

मोरङका अन्य चार क्षेत्रमा भने मतगणना जारी रहेको छ । तर, प्रारम्भिक परिणामले ती क्षेत्रमा पनि रास्वपाका उम्मेदवारले उल्लेखनीय अग्रता बनाइरहेका छन् । मोरङ–१ मा रास्वपाका उम्मेदवार यज्ञमणि न्यौपाने १७ हजार ६० मतसहित अग्रस्थानमा छन् ।

यस क्षेत्रमा श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामा १० हजार ९ सय १५ मतसहित दोस्रो स्थानमा रहेकी छन् । नेपाली कांग्रेसका खड्गबहादुर फागो ७ हजार ७ सय ८४ मतसहित तेस्रो स्थानमा छन् भने एमालेका घनश्याम खतिवडा ५ हजार ९ सय ९९ मतमा सीमित भएका छन् ।

मोरङ–२ मा पनि रास्वपाका उम्मेदवारले उल्लेखनीय अग्रता बनाएका छन् । उनी २८ हजार ५ सय ४६ मतसहित पहिलो स्थानमा छन् । एमालेका दिलिपकुमार बगडिया ११ हजार ९३ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल ९ हजार ७० मतसहित तेस्रो स्थानमा रहेका छन् ।

मोरङ–३ मा रास्वपाका गणेश कार्की १३ हजार ४ सय ३७ मतसहित अगाडि छन् । यस क्षेत्रमा नेपाली कांग्रेसका सुनीलकुमार शर्मा ८ हजार ९ सय ५३ मतसहित दोस्रो स्थानमा छन् । श्रम संस्कृति पार्टीका अमिर मगरले ७ हजार ३ सय मत ल्याएका छन् भने एमालेका इरनकुमार राई २ हजार ८ सय ३१ मतसहित निकै पछाडि परेका छन् ।

मोरङ–५ मा रास्वपाकी उम्मेदवार आशा झा २० हजार २ सय ७४ मतसहित अग्रस्थानमा छिन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका फलुकुमार लालवानीले ७ हजार ६ सय ८८ मत पाएका छन् । नेकपाका शिवकुमार मण्डल ६ हजार ७ सय १२ मतसहित तेस्रो स्थानमा छन् भने जनता समाजवादी पार्टी (जसपा) नेपालका राजकुमार यादवले ६ हजार २ सय ५६ मत प्राप्त गरेका छन् । एमालेका मनोजकुमार अग्रवाल ५ हजार ९ सय ४४ मतसहित पाँचौँ स्थानमा रहेका छन् ।

मोरङ जिल्लामा रास्वपाको यस्तो प्रदर्शनले परम्परागत रूपमा बलिया मानिने नेपाली कांग्रेस, एमाले र नेकपा जस्ता दलहरूलाई गम्भीर झट्का लागेको छ । विशेषगरी लामो समयदेखि स्थापित नेताहरूलाई नयाँ अनुहारहरूले ठूलो मतान्तरले पराजित गर्नुलाई मतदाताको मनोविज्ञानमा आएको परिवर्तनका रुपमा हेरिएको छ । 

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी भए पनि हालसम्मको परिणामले मोरङको राजनीतिक समीकरणमा ठूलो फेरबदल हुने देखाएको छ । रास्वपाले जिल्लाका सबै निर्वाचन क्षेत्रमा जित्ने सम्भावना बलियो बनेर गएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.