गोरखा–१ को बल्ल मतगणना सुरु
गोरखा : शनिबारसम्म मतगणना सुरु हुन नसकेको गोरखा क्षेत्र नं १ को मतगणना बल्ल सुरु भएको छ । शनिबार दिउँसो साढे १२ बजेबाट मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको हो ।
प्रतिकूल मौसमका कारण मतपेटीका ढुवानी हुन नसक्दा गणना सुरु हुन नसकेको यहाँ बिहान मतपेटीका ओसारेसँगै गणना सुरु भएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका अन्तर्गत २३ वटा मतदानकेन्द्रको मतपेटीका हेलिकप्टरबाट ढुवानी गरिएको हो ।
जिल्ला सदरमुकामस्थित जिल्ला समन्वय समितिको कार्यालयमा मतगणना भइरहेको बताइएको छ । पहिले प्रत्यक्षतर्फको मतगणना गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए । शनिबार बिहान बसेको सर्वदलिय बैठकले उक्त निर्णय गरेको उनले जानकारी दिए ।
‘प्रत्यक्षको मतगणना सकेपछि मात्र समानुपातिक मत गणना सुरु हुन्छ,’ उनले भने, ‘पालिकाको वडागत रुपमा मतगणना गर्दै जान्छौँ ।’ सर्बदलीय बैठकले मतगणनास्थलमा एउटा उम्मेदवारको एक जनामात्र प्रतिनिधि बस्न पाउने व्यवस्था गरेको उनको भनाई छ ।
बिहीबार सम्पन्न निर्वाचनमा गोरखामा कुल १ लाख २१ हजार २६३ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यो जिल्लाको कूल मतदाता संख्यामध्य ५२.९३ प्रतिशत हो । कूल २ लाख २९ हजार ५८ मतदाता रहेको गोरखामा १ लाख २१ हजार २६३ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
एक लाख २० हजार ५२५ मतदाता रहेको क्षेत्र नं १ मा ६४ हजार पाँच (५३.११) प्रतिशत मत खसेको छ । यसैगरी, एक लाख आठ हजार ५३३ मतदाता रहेको क्षेत्र नं २ मा ५७ हजार २५८ (५२.७६) प्रतिशत मत खसेको निर्वाचन कार्यालयको भनाई छ ।
जिल्लामा २०७९ को निर्वाचनमा ५२.७७ प्रतिशत मत खसेको थियो । यस्तै, २०७४ सालको निर्वाचनमा ६५.३ प्रतिशत मत खसेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । गोरखामा मतदान गर्न २२५ मतदान स्थल र ३३३ मतदान केन्द्र निर्धारण भएका थिए । एउटा मतदानस्थलमा तीन वटासम्म मतदान केन्द्र थिए ।
प्रतिक्रिया दिनुहोस !