पर्सामा कांग्रेस, एमाले र मधेसी दलको विरासत ढाल्दै रास्वपाको ‘क्लिन स्वीप’

चार पूर्व मन्त्रीको जोगिएन साख

पर्सामा कांग्रेस, एमाले र मधेसी दलको विरासत ढाल्दै रास्वपाको ‘क्लिन स्वीप’

वीरगञ्ज : पर्साको चार वटै निर्वाचन क्षेत्रमा जित हात पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘क्लिन स्वीप’ गरेको छ । फागुन २१ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको आइतबार बिहान घोषित मतपरिणाम अनुसार, पर्सा क्षेत्र नम्बर १, २, ३ र ४ मा रास्वपाका उम्मेदवारहरु फराकिलो मतान्तरसहित निर्वाचित भएका हुन् ।  

यसअघिका निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी दलले जित हात पार्दै आएको पर्सा जिल्लामा  यसपालि भने ती दलको विरासत खोस्दै चार वटै निर्वाचन क्षेत्रमा रास्वपा विजयी भएको हो । २०७९ को निर्वाचनमा पर्साका चारमध्ये दुई वटामा कांग्रेस, एउटामा नेकपा एमाले र एउटामा जसपा नेपालले जित हासिल गरेको थियो । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा भने चार वटै क्षेत्रमा मधेसी दल (संघीय समाजवादी फोरमले ३ र लोसपाले १ क्षेत्रमा) ले बाजी मारेका थिए । 

२०७० को दोस्रो संविधान सभा निर्वाचनमा भने पर्साका चारमध्ये दुई वटा क्षेत्रमा कांग्रेसले र दुई वटा क्षेत्रमा एमालेका उम्मेदवार विजयी भएका थिए । त्यसअघिको २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा भने पर्साका तत्कालीन पाँच निर्वाचन क्षेत्रमध्ये तीनमा कांग्रेस, एउटामा मधेसी जनअधिकार फोरम नेपाल र एउटामा नेकपा एमाले विजयी भएको थियो । 

तर यसपालिकाको निर्वाचनमा पर्साका चार वटै निर्वाचन क्षेत्रमा पुराना सबै दलको विरासत ढाल्दै रास्वपाका उम्मेदवारहरु निर्वाचित भएका छन् । चारमध्ये तीन नेपाली कांग्रेसका तर्फबाट तीन पूर्वमन्त्री र नेकपा एमालेका तर्फबाट एक जना पूर्वमन्त्री चुनावी मैदानमा रहे पनि चारै जना पूर्वमन्त्रीले रास्वपाका उम्मेदवारसंग लज्जास्पद पराजय भोगेका छन् ।  

पर्सा क्षेत्र नम्बर–१ मा रास्वपाका बुद्धिप्रसाद पन्त (हरि पन्त) २७ हजार २ सय ७४ मतका साथ विजयी भएका छन् । निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवलाई १४ हजार २४४ मतको मतान्तरले पछाडि पार्दै पन्त निर्वाचित भएका हुन् । यसअघिका दुवै निर्वाचनमा लगातार जित हात पारेका एमालेका यादवले यसपालि भने १३ हजार ३० मत मात्रै पाए । उक्त क्षेत्रमा कांग्रेस उम्मेदवार अनिल रुंगटा भने ११ हजार ८८५ मतका साथ तेस्रो स्थानमा सीमित हुन पुगेका छन् । 

पर्सा क्षेत्र नम्बर–२ मा पनि रास्वपाकै उम्मेदवार सुशीलकुमार कानु ३० हजार ७४० मतका साथ निर्वाचित भएका छन् । निकटतम प्रतिष्पर्धी कांग्रेस उम्मेदवार तथा पूर्वमन्त्री अजयकुमार चौरसियालाई १८ हजार ८५० मतको मतान्तरले पराजित गर्दै कानु विजयी भएका हुन् । सातौ पटक निर्वाचन लडेका कांग्रेसका चौरसियाले ११ हजार ८९० मत मात्रै पाए । उक्त क्षेत्रमा एमाले उम्मेदवार रिमाकुमारी यादवले भने ११ हजार ६०५ मत मात्रै पाइन् । 

पर्सा क्षेत्र नम्बर–३ मा पनि रास्वपाकै उम्मेदवार रामाकान्त चौरसिया पनि फराकिलो मतान्तरका साथ निर्वाचित भएका छन् । निकटतम प्रतिष्पर्धी कांग्रेस उम्मेदवार तथा पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरीलाई १३ हजार ३१३ मतान्तरले पछाडि पार्दै रास्वपाका चौरसिया विजयी भएका हुन् । चौरसियाले २९ हजार ६६७९ मतका साथ जित हात पार्दा कांग्रेसका चौधरीले भने १६ हजार ३६६ मत मात्रै पाए । तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार रुपेशकुमार पाण्डेयले ११ हजार ९१४ मत ल्याए । 

पर्सा क्षेत्र नम्बर–४ मा पनि रास्वपाकै उम्मेदवार टेकबहादुर शाक्य २८ हजार ६ मतका साथ निर्वाचित भएका छन् । । निकटतम प्रतिष्पर्धी कांग्रेस उम्मेदवार तथा पूर्वमन्त्री रमेश रिजाललाई १५ हजार ४७२ मतको मतान्तरले पराजित गर्दै शाक्य निर्वाचित भएका हुन् । २०४८ यताका सबै निर्वाचनमा कांग्रेस उम्मेदवार बन्दै आएका रिजाल यसपालि भने १२ हजार ५३४ मतमै सीमित हुनु प¥यो । उक्त क्षेत्रमा नेकपा एमालेका उम्मेदवार जालिम मियाँ मन्सुरीले १२ हजार १४५ मत मात्रै प्राप्त गरेका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.