आठ उम्मेदवारको जमानत जफत, चार जनाले जोगाए
नुवाकोट : यस पटकको निर्वाचनमा उम्मेदवार बनेर मापदण्ड अनुसार तोकिएको मत प्राप्त गर्न नसकेका नुवाकोट–२ का अधिकांश उम्मेदवारहरुको जमानत जफत भएको छ । आठ जना उम्मेदवारहरुको जमानत जफत भएको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा नुवाकोट क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि निर्वाचनमा उठेका १२ मध्ये आठ जना उम्मेदवारको जमानत जफत भएको हो । प्रतिनिधिसभा निर्वाचन निर्देशिका २०८२ को परिच्छेद १० बमोजिम सदर मतको १० प्रतिशत मत प्राप्त नगर्ने आठ उम्मेदवारको जमानत जफत भएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा नुवाकोट–२ मा १२ जनाले राजनीतिक दलबाट आ–आफ्नो उम्मेदवारी दिएका थिए । जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अचुतम लामिछाने, नेपाली कांग्रेसका जगदीश्वरनरसिंह केसी, नेकपा एमालेका केशवराज पाण्डे, नेकपाका हिरानाथ खतिवडाले मात्रै जमानत जोगाउन सफल भएका छन् ।
नुवाकोट क्षेत्र नं. २ मा खसेको कुल ७० हजार चार सय ५२ मतमध्ये ६७ हजार ९० मत सदर भएको थियो । जमानत जोगाउन सदर मतको १० प्रतिशत प्राप्त गर्नुपर्ने प्रावधान अनुसार उम्मेदवारले ६ हजार सात सय ९४ मत प्राप्त गर्नुपर्ने हुन्छ । यद्यपि, नुवाकोट–२ मा विजयी भएको रास्वपा, निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा बाहेक अन्य उम्मेदवारले उक्त मत कटाउन सकेनन्। नेकपाको ११ मतका कारण जमानत जफत हुनबाट रोकिएको छ ।
नेकपाका उम्मेदवार हिरानाथ खतिवडाले ६ हजार सातसय २० मत पाएका थिए । अन्तिम मत परिणामअनुसार विजयी भएका रास्वपाका डा. अचुतम लामिछानेले ३२ हजार ५४ मत पाएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जगदीश्वरनरसिंह केसीले १५ हजार पाँच सय ३, नेकपा एमालेका केशवराज पाण्डेले आठ हजार दुई सय ८५, नेपाली कम्युनिष्ट पार्टीका हिरानाथ खतिवडाले ६ हजार सात सय २० मत पाएर कुल सदर मतको १० प्रतिशत मत पाएर जमानत फिर्ता भएको छ ।
उज्यालो नेपाल पार्टीका ज्ञानेन्द्र घलेको दुई हजार सात सय ५०, राष्ट्रिय प्रजातन्त्र पार्टीका झनकवहादुर प्याकुरेलले सातसय ७५ मत, श्रम संस्कृति पार्टीका विनोदकुमार तामाङले तीन सय ९६ मत, नेकपा माओवादीका नवराज ढुंगानाले ९० मत, नेकपा संयुक्तका किरण तिमिल्सिनाले ५२ मत, नेककिपाका सुवास भट्टले २८ मत र आम जनता पार्टीका मानसिंह गदाइलीले ११ मत पाएका थिए । चार उम्मेदवार बाहेक अन्य सबैको जमानत जफत हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय विदुर नुवाकोटले जनाएको छ । नुवाकोट–२ मा एक लाख २३ हजार नौं सय ३९ मतमध्ये ७० हजार चार सय ५२ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस !