गिनिजबुकमा लेखियो गोरखाकी आरोही पूर्णिमाको नाम
गोरखा : कीर्तिमानी सगरमाथा आरोही गोरखाकी पूर्णिमा श्रेष्ठ गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएकी छन् । १३ दिनको अवधिमा तीन पटक सगरमाथा आरोहण गर्न सफल महिलाका रुपमा श्रेष्ठ गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएकी हुन् ।
श्रेष्ठले सन् २०२४ मे महिनामा एकै सिजनमा १३ दिनमा सर्वाधिक (३ पटक) विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पाइला टेकेकी थिइन् । पुरुषले यसरी रेकर्ड कायम गरिसके पनि पहिलो महिलाको रूपमा पूर्णिमाले यो कीर्तिमान कायम गरेकी हुन् ।
उनले २०२४ मे १२, मे १९ र मे २५ मा सगरमाथा आरोहण गरेकी थिइन् । यो ऐतिहासिक उपलब्धि हासिल गरेको जानकारी दिँदै श्रेष्ठले यो कीर्ति आफ्ने मात्र नभई सिंगो देशकै भएको बताइन् । केही दिनअघि प्राप्त गरेको उक्त प्रमाणपत्र अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत् सार्वजानिक गर्दै उनले ‘सपना देख्ने हरेक महिलाले दृढ संकल्प, साहस र निरन्तर मेहनतका साथ असम्भव जस्तै देखिने सम्पूर्ण सफलताका शिखरहरू चढ्न सकून्’ भनेर लेखेकी छिन् ।
प्रतिक्रिया दिनुहोस !