सुनील शर्माको समाजसेवाभन्दा गणेश कार्कीको राजनीतिक लहर बलियो

सुनील शर्माको समाजसेवाभन्दा गणेश कार्कीको राजनीतिक लहर बलियो

विराटनगर : मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश कार्की विजयी भएका छन्। लामो समयदेखि स्वास्थ्य, शिक्षा र समाजसेवाका क्षेत्रमा सक्रिय रहेका नेपाली कांग्रेसका उम्मेदवार डा. सुनीलकुमार शर्मालाई पराजित गर्दै कार्कीले संसदको यात्रा तय गरेका हुन्। 

अन्तिम मतगणनाअनुसार कार्कीले ३६ हजार ९ सय २४ मत प्राप्त गर्दै डा. शर्मालाई १२ हजारभन्दा बढी मतान्तरले पराजित गरे। डा. शर्मा २४ हजार ३ सय ५४ मतमा सीमित भए। अन्य उम्मेदवारमध्ये श्रम संस्कृति पार्टीका अमिर मगरले १६ हजार ५ सय ९ मत ल्याए भने नेकपा (एमाले)का इरनकुमार राई ७ हजार ७ सय ५२ मतमा सीमित भए। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का डा. देउमान सम्बाहाङफे १ हजार २ सय ५९ मतभन्दा अघि बढ्न सकेनन्।

यो मतपरिणाम एउटा निर्वाचनको हारजित मात्रै नभएर मतदाताको बदलिँदो राजनीतिक मनोविज्ञान र नयाँ विकल्पप्रतिको आकर्षणका रुपमा स्थापित भएको छ। निर्वाचनको परिणामले ‘सुनीलकुमार शर्माको समाजसेवाभन्दा गणेश कार्कीको राजनीतिक लहर बलियो’ रहेको स्पष्ट पारेको छ। यसले पूर्वी नेपालको राजनीतिमा एउटा नयाँ सन्देशसमेत प्रवाह गरेको छ। डा. शर्मा स्वास्थ्य सेवा, शिक्षा र सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय छन्। मेडिकल व्यवसायीका रूपमा स्थापित उनी विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंस्थित काठमाडौं मेडिकल कलेजका सञ्चालकसमेत हुन्। शर्माले आफ्नो स्वास्थ्य संस्थामार्फत विशेषगरी पूर्वी नेपालका बिरामीलाई उपचार सेवा उपलब्ध गराउँदै आएका छन्। 

नोबेल शिक्षण अस्पतालले मोरङ, सुनसरी, झापा, धनकुटा, तेह्रथुम, भोजपुरलगायत पूर्वी पहाडी तथा तराईका जिल्लाका बिरामीलाई सहज उपचार सेवा उपलब्ध गराउँदै आएको छ। डा. शर्माले आर्थिक अवस्था कमजोर भएका बिरामीलाई निःशुल्क वा सहुलियतमा उपचार गराउँदै आएका छन्। मोरङ–३ का गरिब परिवारका बिरामीका लागि स्वास्थ्य बीमा शुल्क तिरिदिने, निःशुल्क उपचार गराउने तथा अन्य बिरामीलाई ५० प्रतिशतसम्म छुटमा उपचार उपलब्ध गराउनेजस्ता कार्यक्रमले उनलाई स्थानीयस्तरमा चर्चित समाजसेवीका रूपमा स्थापित गरेको थियो। 

उनले मोरङका विभिन्न गाउँमा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका थिए। स्वास्थ्य सेवामा पहुँच नपाएका नागरिकलाई सहज उपचार उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएका शिविरमा हजारौं बिरामीले सेवा पाए। त्यस्तै, चर्चित महिला फुटबलर सावित्रा भण्डारी ‘साम्बा’को उपचार निःशुल्क गराइदिने घोषणा पनि डा. शर्माले गरेका थिए। 

शिक्षा क्षेत्रमा पनि उनले उल्लेखनीय योगदान दिएका छन्। मोरङको रतुवामाईस्थित जनता माध्यमिक विद्यालयमा करिब दुई करोड रुपैयाँ बराबरको भौतिक संरचना निर्माणमा सहयोग पुर्‍याएका थिए। विद्यालयको शैक्षिक वातावरण सुधार, छात्रवृत्ति व्यवस्था र विभिन्न शैक्षिक कार्यक्रम सञ्चालनमा समेत उनको आर्थिक तथा व्यवस्थापकीय सहयोग रहेको छ। डा. शर्माले गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति कोष निर्माण गरी दलित, आदिवासी, मुस्लिम तथा विपन्न समुदायका विद्यार्थीलाई प्राविधिक र मेडिकल शिक्षामा निःशुल्क वा सहुलियत अवसर उपलब्ध गराउने कार्यक्रम पनि सञ्चालन गर्दै आएका छन्।

स्थानीयस्तरमा सडक, सरसफाइ, सामुदायिक पूर्वाधार विकास, विपद् राहत वितरण र सामाजिक कार्यक्रमहरूमा समेत उनी सक्रिय देखिँदै आएका थिए। आर्थिक अभावका कारण विद्यार्थीहरू पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उनले छात्रवृत्ति तथा शैक्षिक सहयोग कार्यक्रम निरन्तर अघि बढाएका छन्। तर, यस्ता सामाजिक गतिविधिका बाबजुद पनि निर्वाचनमा भने उनले विजय हासिल गर्न सकेनन्।

कांग्रेसका एक जना स्थानीय नेताले चुनावी परिणामप्रति प्रतिक्रिया दिँदै भने, ‘डा. शर्माले आफ्नो क्षेत्रका बिरामीलाई उच्च प्राथमिकतामा राखेर निःशुल्क र सहुलियत उपचार उपलब्ध गराउँदै आएका थिए। स्वास्थ्य र शिक्षा क्षेत्रमा ठूलो योगदान दिएका व्यक्ति चुनावमा पराजित हुनुपरेको छ , जनताको निर्णय स्वीकार गर्नुपर्छ। तर, यति ठूलो योगदान दिने व्यक्तिलाई मतदाताले पन्छाउँदा भविष्यमा सामाजिक क्षेत्रमा समेत असर पर्न सक्ने चिन्ता देखिएको छ।’

यद्यपि, डा. शर्मा स्वयं भने चुनावी परिणामलाई लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक हिस्सा मान्छन्। उनले निर्वाचन परिणामले आफ्नो सामाजिक काममा कुनै असर नपर्ने बताएका छन्। उनले भने, ‘चुनाव लोकतान्त्रिक प्रक्रिया हो। यसमा हारजित स्वाभाविक कुरा हो। निर्वाचनको परिणामले स्वास्थ्य, शिक्षा र सामाजिक सेवामा मेरो सक्रियतामा कुनै असर पार्दैन। म अझ सक्रियताका साथ समाजसेवामा लागिरहनेछु।’ उनले कार्कीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामनासमेत दिएका छन्। 

निर्वाचित भएका कार्कीले पनि आफूले मोरङ–३ को विकासलाई प्राथमिकतामा राख्ने बताएका छन्। संसदमा पुगेपछि स्वास्थ्य, शिक्षा, पूर्वाधार र रोजगारीका क्षेत्रमा नीति निर्माणमार्फत ठोस पहल गर्ने उनको भनाइ छ। कार्कीले भने, ‘पूर्वी नेपालको विकास र जनताको जीवनस्तर सुधार हाम्रो पहिलो प्राथमिकता हो। संसदमा नीति निर्माणसँगै विकासका योजनालाई अघि बढाउनेछौं।’

मोरङ–३ को निर्वाचन परिणामले एउटा नयाँ राजनीतिक यथार्थ पनि देखाएको छ। लामो समयदेखि परम्परागत दलहरूको प्रभाव रहेको क्षेत्रमा मतदाताले यसपटक वैकल्पिक राजनीतिक शक्तिलाई रोजेका छन्। यो परिणाम उम्मेदवारको व्यक्तिगत योगदान वा लोकप्रियताको आधारमा मात्र नभई राष्ट्रिय राजनीतिमा देखिएको परिवर्तनको लहर, पुराना दलप्रतिको असन्तुष्टि र नयाँ राजनीतिक विकल्पप्रतिको अपेक्षासँग पनि जोडिएको छ।

डा. शर्मा स्वास्थ्य, शिक्षा र समाजसेवामा सक्रिय व्यक्तित्वका रूपमा पहिचान बनाएका नेता हुन् भने गणेश कार्की वैकल्पिक राजनीतिक शक्तिको प्रतिनिधि बनेर संसद पुगेका छन्। यस अर्थमा मोरङ–३ को निर्वाचन परिणामले एक उम्मेदवारको हार वा अर्को उम्मेदवारको जित मात्र नभएर मतदाताको बदलिँदो राजनीतिक दृष्टिकोण र विकल्पको रोजाइलाई पनि स्पष्ट रूपमा देखाएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.