३९१ महिला उम्मेदवार चुनाव लड्दा १४ जना मात्र संसद छिर्दै

रास्वपाले १३ महिलालाई जिताउँदा, अन्य दलबाट कति ?

३९१ महिला उम्मेदवार चुनाव लड्दा १४ जना मात्र संसद छिर्दै

काठमाडौं : फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको परिणाम आउने क्रम जारी रहेका बेला हालसम्म १४ महिलाले संसदको ढोका उघारेका छन् । 

हालसम्मको मत परिणाम अनुसार प्रत्यक्षतर्फ १४ महिला उम्मेदवारहरू निर्वाचित हुँदै संसद पुगेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हासम्म ११९ जना निर्वाचित हुँदा १३ जना महिला रहेका छन् । पुरानो दल नेपाली कांग्रेसबाट १७ जना निर्वाचित हुँदा एक जना महिला निर्वाचित भएकी छिन् ।  निर्वाचित हुनेहरुमा सात जना ४० वर्ष मुनिका छन् ।

नेपाली कांग्रेसबाट दैलेखकी बासना थापा निर्वाचित भएकी छिन् । उनी ४५ वर्षकी हुन् । बासना २०७४ मा दैलेखको नारायणी नगरपालिकाको उपप्रमुख उठे पनि एमाले उम्मेदवारसँग पराजित भएकी थिइन् । पटक–पटक गठबन्धन भएका कारण १२ वर्षयता दैलेखमा कांग्रेसले प्रतिनिधि सभामा उम्मेदवारी दिएको थिएन । यस पटक एक्ला–एक्लै चुनावी मैदानमा उत्रिँदा कांग्रेसले जित निकालेको हो ।

कोशी प्रदेशबाट रास्वपाबाट चार महिला निर्वाचित भएका छन् । रास्वपाबाट झापा–१ मा २९ वर्षकी निशा डाँगी निर्वाचित हुँदै संसद पुगेकी छिन् । उनी यसअघि रास्वपाको तर्फबाट समानुपातिक सांसद थिइन् । उनी रास्वपाबाट सचेतक समेत थिइन् । निशा पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएकी हुन् ।

झापा क्षेत्र नम्बर–२ बाट ५५ वर्षकी इन्दिरा रानामगर विजयी भएकी छिन् । उनी यसअघि समानुपातिक तर्फबाट सांसद भएकी थिइन् भने उपसभामुख समेत भएर जिम्मेवारी वहन गरिन् । उनी सन् २०१७ मा बिबिसीको विश्वको प्रभावशाली एक सय महिलाको सूचीमा परेकी थिइन् । कारागारका बालबालिकाको अध्ययन र सुरक्षित आवासका लागि उनले काम गर्दै आएकी छिन् ।

रास्वपाबाट मोरङ–५ मा ४२ वर्षीया आशा झा विजयी भएकी छिन् । उनले शिक्षाशास्त्र संकायमा स्नातक गरेकी छिन् । झाले मधेसी महिलाको अधिकार र सामाजिक न्यायका लागि काम गरेकी थिइन् । उनी मधेसी महिला नागरिक समाजमा समेत सक्रिय रहँदै आएकी थिइन् ।

मोरङ–६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई हराउँदै रास्वपाकी ३१ वर्षकी उम्मेदवार रूबिना आचार्य संसद पुगेकी छिन् । उनले कोरोना संक्रमणकालमा ‘तातो भात’ अभियान चलाएकी थिइन् । काठमाडौ विश्वविद्यालयबाट एमबिए गरेकी उनले महिला उद्यमशीलता र सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएकी छन् ।

यस्तै मधेस प्रदेशबाट रास्वपाका तीन महिला प्रत्यक्ष निर्वाचित भएका छन् । सप्तरी–१ बाट ३६ वर्षकी पुष्पाकुमारी चौधरी निर्वाचित भएकी छिन् । मानविकी संकायमा उनले स्नातकोत्तर गरेकी छिन् । उनले सुरक्षित गर्भाधारण र गर्भपतन लगायतका क्षेत्रमा कार्य गर्दै आएकी थिइन् ।

सर्लाही–१ बाट ४३ वर्षकी नितिमा भण्डारी कार्कीले जित निकालेकी छिन् । रेष्टुरेन्ट व्यवस्थापन, खाद्य प्रविधि र निर्यात तथा आयातका क्षेत्रमा उनले लामो समय काम गरेकी छिन् । उनले पद्मकन्या कम्याम्पसबाट स्नातक गरेकी छिन् । महोत्तरी–४ बाट ५४ वर्षकी गौरीकुमारी विजयी भएकी छिन् ।  उनलाई मधेसमा वैकल्पिक राजनीति र परिवर्तनको एजेण्डा अघि बढाउने व्यक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले परिचय गराएको छ ।  बागमती प्रदेशबाट रास्वपाका चार महिला प्रत्यक्ष निर्वाचित भएका छन् ।

धादिङबाट ३६ वर्षकी आशिका तामाङ विजयी भएकी छिन् ।   उनी जेनजी आन्दोलनका घाइतेलाई सहयोग गरेर मनपछि मत जितेकी हुन् । त्यसअघि आशिषका राजमार्गको सरसफाइ अभियान चलाउँदै सचेतनाको आवाज उठाउँदै आएकी थिइन् । उनले एक रुपैयाँ अभियान चलाउँदै दुर्गम क्षेत्रका बालबालिकालाई शिक्षा र कपडा लगायतमा सहयोग गर्दै आएकी थिइन् ।

काठमाडौं–१ बाट ३० वर्षकी रञ्जु दर्शना न्यौपानेले पनि शानदार विजय हासिल गरेकी छिन् । विवेकशील साझा पार्टीबाट वैकल्पिक राजनीति अघि बढाएकी रञ्जु यसअघि काठमाडौं महानगरको मेयर पदमा उम्मेदवार भएकी थिइन् । तर मेयरमा पराजित भएकी थिइन्।

ललितपुर–३ बाट ३६ वर्षीया डा. तोसिमा कार्कीले पनि संसदको यात्रा तय गरेकी छिन् ्। उनी यसअघि पनि सोही क्षेत्रबाट विजयी भएकी थिइन् । उनी स्वास्थ्य राज्यमन्त्री समेत भइसकेकी छिन् । चितवन–३ बाट ३० वर्षकी सोबिता गौतमले संसदको ढोका उघारेकी छिन् । उनी यसअघि काठमाडौं क्षेत्र नम्बर– २ बाट पहिलो पटक संसद छिरेकी थिइन् । कानुनमा स्नातकोत्तर सोबिता युवा विश्व राजनीतिज्ञ अवार्डबाट सन् २०२३ मा सम्मानित भएकी थिइन् ।

गण्डकी प्रदेशबाट एक र सुदूरपश्चिम प्रदेशबाट एक गरी दुई महिला निर्वाचित भएका छन् । गण्डकीको कास्की–३ बाट ५३ वर्षकी बिना गुरूङ निर्वाचित हुँदै संसद पुगेकी छिन् । उनी रास्वपा कास्कीको कोषाध्यक्ष समेत हुन् । उनी पोखराकी व्यवसायी पनि हुन् । त्यस्तै सुदुरपश्चिमको कैलाली–१ बाट ४७ वर्षीय कोमल ज्ञवालीले पनि संसदको यात्रा पक्का गरेकी छन् । उनी नागरिक उन्मुक्ति पार्टीमा ३ वर्ष कोषाध्यक्ष थिइन् । उनले ‘विजनेश स्टडी’ मा स्नातक गरेकी छिन् ।  

प्रत्यक्षतर्फ सात जनालाई चुनाव जिताइसकेको एमालेमा अहिलेसम्म महिला उम्मेदवार निर्वाचित भएका छैनन् ।  यस्तै हालसम्म सात जना निर्वाचित भइसकेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित हुने महिलाको संख्या शून्य छ । प्रत्यक्षमा चार जना निर्वाचित भइसकेको श्रम सँस्कृति पार्टीबाट समेत अहिलेसम्म महिला उम्मेदवार विजयी भएका छैनन् ।

प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र नयाँ राजनीतिक दल र स्वतन्त्रबाट ३९१ जना महिलाको उम्मेदवारी परेको थियो । जबकी २,५८९ पुरुष उम्मेदवार प्रतिष्पर्धामा थिए । 

त्यसमध्ये मुख्य दलहरूले उठाएको महिला उम्मेदवारको संख्या न्यून थियो छ । १६५ वटै क्षेत्रमा उम्मेदवारी दिएको नेपाली कांग्रेसले ११ जना महिला उठाएको थियो । एमालेले सोलुखुम्बुमा कल्पना राई, ओखलढुङ्गामा अस्मिता थापा, बारा ३ मा ज्वालाकुमारी शाह र धनुषा २ मा जुली महतोलाई उम्मेदवार बनाएको थियो । यस्तै, बाग्लुङ २ मा मञ्जु चालिसेलाई उम्मेदवार बनाएको थियो । 

यता, १६४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको नेपाली कम्युनिष्ट पार्टीले १२ महिला उम्मेदवार बनाएको थियो । झापा–२ मा धर्मशिला चापागाईँ, संखुवासभामा सरिता खड्का थापा, सुनसरी २ मा रामकुमारी चौधरी, सप्तरी ४ मा रुवीकुमारी कर्ण, काठमाडौँ–१ मा मेनुका भण्डारी, काठमाडौँ ४ मा कल्पना शर्मा, काठमाडौँ १० मा  रुपा महर्जन, कञ्चनपुर १ मा बिना मगर र चितवन ३ मा रेनु दाहाललाई उम्मेदवार बनाएको थियो ।

यस्तै, काभ्रेपलाञ्चोक २ मा बसुन्धरा हुमागाई, लुम्बिनीको नवलपरासी पश्चिममा सिन्धु जलेशा र मनाङमा यशोदा सुवेदी गुरुङ नेकपाले उम्मेदवार बनाएको थियो । नेकपाले उपत्यकामा मात्रै ३ जना महिलालाई प्रतिनिधि सभाको टिकट दिएको थियो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ जना महिला उम्मेदवार उठाएको थियो । अन्य दलहरूले पनि देशभर महिला उम्मेदवार उठाएका थिए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.