‘बदलिएको’ कांग्रेसलाई  पत्याएनन् जनताले

‘बदलिएको’ कांग्रेसलाई  पत्याएनन् जनताले

काठमाडौं : विशेष महाधिवेशनबाट पार्टीमा नयाँ नेतृत्व स्थापित भएपछि कांग्रेस सभापति गगन थापाले चुनावी नारा दिए– ‘बदल्यौं कांग्रेस बदल्छौं देश।’ अर्थात्, जेन–जीको मागअनुसार ‘पार्टी पुस्तान्तरण र रूपान्तरण’ भएको दाबी गर्दै थापाले ‘आकर्षक’ नारा दिए। तर, इतिहासमै कांग्रेसले नराम्रो हार व्यहोर्‍यो। सभापति थापादेखि थुप्रै कांग्रेसका हेभिवेट नेताहरू चुनावमा नराम्ररी पराजित भए। विघटित संसद्को सबै ठूलो दल कांग्रेस १७ सिटमा खुम्चियो।

जेन–जी आन्दोलनपछि पनि नेतृत्वले छोड्न नमानेको भन्दै थापालगायतका युवाहरूले पार्टीमा ‘विद्रोह’ गरेका थिए। पूर्वपार्टी सभापति शेरबहादुर देउवालगायत संस्थापन पक्षको अनुपस्थितिमै विशेष महाधिवेशन गरियो। एकतर्फी पार्टीमा युवा नेतृत्व चयन भयो। तर, बदलिएको कांग्रेसलाई पनि मतदाताले नपत्याउँदा भने कांग्रेसको युवा नेतृत्वमाथि समेत गम्भीर प्रश्न उब्जेको छ। 

रास्वपाले दुईतिहाइ सिट ल्याउँदा झन्डै ७ दशक लामो राजनीतिक विरासत बोकेको पार्टी खुम्चिन पुगेको छ। पुराना मात्र होइन, बदलिएको कांग्रेसका ‘हेभिवेट’ नेताहरू पनि एकपछि अर्को गरी पराजित भए। अर्थात् पार्टी सभापति थापादेखि सबै पदाधिकारीहरूले हार बेहोरे। उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल भने चुनाव लडेनन्। महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पनि नराम्रो पराजय बेहोरे। सहमहामन्त्री उदयशमशेर राणा, फरमुल्लाह मन्सुर, प्रकाश रसाइली स्नेही, कर्णबहादुर बुढा, योगेन्द्र चौधरीले पनि हार चाखे। कांग्रेसका पुराना र स्थापित नेताले पनि चुनाव हारे।

तत्कालीन सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा समेत कांग्रेसको ३५ वर्षको बिरासत ढल्यो। जबकी ०४८ यताका सबै निर्वाचन देउवाले जितेका थिए। तर, यसपटक देउवालाई टिकट दिइएन। युवा नेता नैनसिंह महरले डडेलधुरामा देउवाको बिरासत थाम्न सकेनन्। कांग्रेसको यस्तो नतिजा आउनुमा निवर्तमान पार्टी सभापति देउवा पक्षको मौन विद्रोह पनि एउटा कारण रहेका हुन सक्ने कांग्रेसकै केही नेताहरू बताउँछन्।

सभापति थापाकै नमिठो हार
नयाँ जोश नयाँ उत्साहसहित मधेसबाट हुर्किएको पार्टीलाई पुनः मधेसमै जगाउँछु भन्दै पार्टी सभापति गगन थापा चुनाव लड्न मधेस झरे। पार्टीको घोषणापत्रसमेत मधेसबाटै सार्वजनिक गरियो। कांग्रेसको गढ मानिने सर्लाही–४ बाट उम्मेदवार बनेका सभापति थापाले नराम्रोसँग हार बेहोरे। रास्वपाका डा. अमरेशकुमार सिंहसँग पराजित हुन पुगे। काठमाडौं–४ बाट पछिल्लो तीनपटक चुनाव जितेका थापा यसपालि उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका अमरेश सिंहले १२ हजार ८ सय ५७ मतले पराजित गरेका हुन्।

null

पछिल्लो मत परिणामअनुसार अमरेशले ३५ हजार ६ सय ८८ मत ल्याउँदा गगनले २२ हजार ८ सय ३१ मत ल्याएका छन्। यो हारसँगै कांग्रेस सभापति थापाको संसद् यात्रा तत्कालका लागि ब्रेक लागेको छ।

माघ पहिलो साता विशेष महाधिवेशनबाट नेतृत्वमा आएका सभापति थापालाई कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार बनाएरै चुनावमा होमिएको थियो। मधेसमा त ‘अबकी बार, गगन सरकार’ को नारा गुञ्जेको थियो। तर, पार्टीमा उत्साह ल्याए पनि जनतामा त्यो सन्देश पुर्‍याउन नसक्दा सभापति थापा आफैं पराजित भएको कांग्रेसकै नेताहरू बताउँछन्।

सर्लाहीका स्थानीय कांग्रेस नेता राजीव सिंह भने सभापति थापा स्थानीय ठूला नेताको वरिपरि घुमेर जनताका झुपडीमा झुम्मिन नसक्नु मुख्य कमजोरी भएको बताउँछन्। ‘उहाँसँग १० दिन घरदैलोमा हिँडे। म नेपाली कांग्रेसको सिपाही हँु। त्यति दिन हिँड्दा मलाई उहाँसँग एउटा तस्बिर पनि लिनबाट रोकियो,’ उनले भने, ‘अनि हामी जस्ता स्थानीय सोझासाझा जनताका कुरै नसुनेपछि जनता चिढिएका थिए। यहाँ सबै समाजका मै हुँ भन्नेको वरिपरि उहाँ बस्नुभयो। उहाँलाई त्यो घेराबाट उम्किनै दिइएन्।’

सिंहले चुनाव हार्नुमा घण्टीको लहर मात्र नभई गगन थापाको टिमको कमजोरी भएको बताए। ‘बाहिर बाहिरको लहडमा उहाँ आउनुभयो र जानुभयो,’ उनी भन्छन्, ‘सभापति हार्दा हामीलाई पनि दुःख लागेको छ।’

त्यसो त विशेष महाधिवेशनबाट पार्टीमा आएको परिवर्तनले मतदातामाझ कांग्रेसले आशा जगाउने अपेक्षा गरिएको थियो। कांग्रेसको नेतृत्वमा थापा आइसकेपछि नयाँ ढंगले गति लिने नेताहरूले आशा पनि गरेका थिए। देशभर एउटा सकारात्मक सन्देश कसरी गएको थियो भने जेन–जी आन्दोलन लगत्तै आफूहरूबाट गल्ती भएको र गल्ती सुधारेर जाने प्रतिबद्धता जनाएको थियो। तर, जनता उनका प्रतिबद्घता सुन्नतर्फ  लागेनन्।

सभापति थापाले कांग्रेसलाई परम्परागतबाट आधुनिक बनाउने आशा बोकेका पनि थिए। तर, निर्वाचन परिणाम पार्टी अनुकूल ल्याउन उनको रणनीति र कांग्रेसको विगतको छवि प्रभावकारी नभएको देखिएको छ।

कांग्रेस २३ र २४ भदौको जेन–जी विद्रोहसम्म संसद्को पहिलो शक्ति थियो। २०७९ मा ८९ सिट जित्न सफल भएको थियो। जेन–जी विद्रोहको तारोमा परे पार्टी सभापति देउवा र उनको परिवार। उनको घरमा आगजनी भयो। श्रीमती तथा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणासहित उनी निर्घात कुटिए। उनको घरमा अकुत पैसा रहेको र त्यो पैसा जलेको भन्दै भिडियोहरू सार्वजनिक भए। यद्यपि, उक्त विषय पुष्टि हुन भने सकेको छैन।

जेन–जी विद्रोहअघि कांग्रेस सरकारमै थियो। त्यतिबेलै गरेको सामाजिक सञ्जाल बन्ददेखि महँगीलगायतका विषयबाट जनता पुराना पार्टीका नाम पनि सुन्न चाहेका थिएनन्। यही बेला कांग्रेस बदलिएको सन्देशले मजाक जस्तै बनेको थियो।

‘फैसला स्वीकार्य’
कांग्रेसले मतदाताको फैसला स्वीकार्य भएको प्रारम्भिक प्रतिक्रिया दिएको छ। पार्टीका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य हुने प्रतिक्रिया दिए। शर्माले भने, ‘बुलेटबाट उदाएको माओवादीलाई स्वागतको संयम दोहो‍र्‍याउँदै ब्यालेटबाट आउँदै गरेको रास्वपालाई पनि स्वागत गर्छौं। २०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्याशित होइन, चर्को आशा अर्को निराशामा बदलिनु हुन्न, देशको मूल प्रश्नमा साथ र खबरदारी दुवै रहने छ।’

शर्माले अगाडि भनेका छन्, ‘विशेष महाधिवेशन सकिएको ५० दिन पुग्दा नपुग्दै चुनाव भयो। गगन सभापति वा विश्वप्रकाश उपसभापति भएका कारण मात्रै कांग्रेस हारेको हो भन्ने कुरा मिल्दैन। अतिरिक्त समयमा मैदानमा प्रवेश गरेको खेलाडीलाई सम्पूर्ण खेलको हारको जिम्मेवार बनाउन हुँदैन।’
कांग्रेस प्रवक्ता देवराज चालिसेले मतपरिणाम अप्रत्याशित रहे पनि लोकतन्त्रप्रति प्रतिबद्ध पार्टीका रूपमा कांग्रेसले जनादेशलाई पूर्णरूपमा स्वीकार्ने बताए।

  • पूर्वसभापति शेरबहादुर देउवा पक्षको अनुपस्थितिमा भएको विशेष महाधिवेशनले ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने आकर्षक चुनावी नारा ल्याए पनि नेतृत्व परिवर्तनले मतदातामाझ अपेक्षित विश्वास जगाउन सकेन र पार्टी इतिहासकै कठिन मोडमा पुग्यो।
  • कांग्रेस प्रत्यक्षतर्फ मात्र १७ सिटमा खुम्चिन पुगेको छ। सभापति गगन थापासहित पार्टीका अधिकांश हेभिवेट पदाधिकारीहरू चुनावमा नराम्ररी पराजित भएका छन्। झन्डै ७ दशक लामो राजनीतिक बिरासत बोकेको पार्टीलाई नयाँ उदाएको रास्वपाले निकै पछाडि पारिदिएको छ।
  • विगत ३५ वर्षदेखि निवर्तमान सभापति देउवाले अपराजित रहँदै जोगाएको डडेलधुराको गढ यसपटक भत्किएको छ। देउवालाई टिकट नदिइएको उक्त  क्षेत्रमा युवा नेता नैनसिंह महरले कांग्रेसको बिरासत थाम्न सकेनन्। 
  • निर्वाचनको अवधिभर निवर्तमान सभापति देउवा मौन बसे र उपचारको बहानामा सिंगापुर गएर मतदानमा समेत सहभागी भएनन्। विशेष महाधिवेशनपछि विभाजित बनेको कांग्रेसमा देउवा पक्षको यो ‘मौन विद्रोह’ हारको एउटा प्रमुख कारण रहेको विश्लेषण गरिएको छ। 
  • निर्वाचन परिणामपछि सभापति थापा र उनको टिममाथि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने दबाब सिर्जना भएको छ। उपसभापति विश्वप्रकाश शर्माले जनादेश स्वीकार्दै हारको दोष नयाँ नेतृत्वलाई मात्र दिन नहुने बचाउ गरे पनि विपक्षी समूहले महाधिवेशनको औचित्य सकिएको बताएका छन्।

अप्रत्याशित नतिजाका पछाडि विभिन्न कारण हुन सक्ने भन्दै उनले ती कारण गहन रूपमा बुझ्ने, आत्मसमीक्षा गर्ने र कमजोरी सुधार्ने बताए। उनले भने, ‘हामी फेरि उठ्ने छौं, हाम्रो राजनीतिक शैली र सोचलाई परिवर्तन गर्ने छौं जनताको बीचमा जाने छौं। र, जनताकै माझबाट फेरि विश्वासको मजबुत आधार खडा गर्ने छौं।’

पूर्वसंस्थापन पक्षका नेताहरू भने नैतिकताका आधारमा सभापतिले राजीनामा दिनुपर्ने भन्न थालेका छन्। राष्ट्रियसभा सदस्य जितजंग बस्नेतले पार्टी सभापतिको हार सँगै विशेष महाधिवेशनको औचित्य समाप्त भएको बताउँदै भन्छन्, ‘विशेष महाधिवेशनको औचित्य त समाप्त भयो, उहाँहरूको बदलिएको कांग्रेसको नतिजा हामीले मात्र हैन अब जनताले पनि देखे। तर, यसले एउटा कुरा छर्लङ देखायो राजनीतिमा नैतिक चरित्रको खडेरी कति गहिरो रहेछ।’

कांग्रेसको दुईतिहाइ र बहुमतको इतिहास
नेपालमा २००७ सालयताको प्रजातान्त्रिक इतिहासमा भएका आवधिक आमनिर्वाचन हेर्दा एउटै दलले त्यो पनि केही निर्वाचनमा मात्र दुईतिहाइ र बहुमत प्राप्त गरेको छ।

वि.सं २०१५ देखि हालसम्म मुलुकमा ९ वटा आमनिर्वाचन सम्पन्न भएका छन्। ती सबै निर्वाचनमा नेपाली कांग्रेसबाहेक अन्य दलले दुईतिहाइ र बहुमत प्राप्त गर्न सकेका थिएनन्। कांग्रेसले २०१५ सालको निर्वाचनमा दुईतिहाइ बहुमत तथा २०४८ र २०५६ सालमा बहुमत प्राप्त गरेको थियो। त्यसपछि अहिले रास्वपाले दुईतिहाइ नजिक मत ल्याएको छ। अन्तिम परिणाम आउन भने बाँकी छ। 

२००७ सालमा प्रजातन्त्रको स्थापनापछि बालिग मताधिकारका आधारमा सर्वप्रथम २०१५ साल फागुन ७ गते पहिलो संसदीय निर्वाचन भएको थियो। कुल १ सय ९ निर्वाचन क्षेत्रमा भएको मतदानमा कांग्रेसले ७४ स्थानमा विजयी भई दुईतिहाइ बहुमत प्राप्त गरेको थियो। त्यसपछि २०४६ चैत २६ गते प्रजातन्त्रको पुनस्र्थापनापछि २०४८ सालमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भयो। कुल २ सय ५ सदस्यीय प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले १ सय १० स्थानमा विजय हासिल गरी बहुमत प्राप्त गरेको थियो। यस निर्वाचनमा एमालेले ६९ सिट ल्याएको थियो।

कांग्रेसको बहुमतको सरकारले २०५१ मा मध्यावधि निर्वाचनको घोषणा गर्‍यो। कुल २ सय ५ सदस्यीय प्रतिनिधिसभाको निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन सकेका थिएनन्। संविधानसभा निर्वाचन २०६४ मा भने कांग्रेस ३७ सिटमा खुम्चिएको थियो। दोस्रो संविधानसभा निर्वाचन २०७० मा कांग्रेसले प्रत्यक्षतर्फ २ सय ४० मध्ये १ सय ५ स्थानमा विजय प्राप्त गरेको थियो।

२०७४ को चुनावमा वामपन्थी दलहरूले गठबन्धन गरेका थिए। कांग्रेसमात्र २३ सिटमा खुम्चिनुपरेको थियो। प्रतिनिधिसभा निर्वाचन २०७९ मा कांग्रेस प्रत्यक्षतर्फ ५७ सिट जितेर पहिलो दल बनेको थियो। २०८२ को निर्वाचनमा प्रत्यक्षतर्फ १७ सिटमा सीमित भएको छ।

देउवा पक्षको मौन विद्रोह
गत फागुन २१ गते भएको निर्वाचनमा निवर्तमान पार्टी सभापति शेरबहादुर देउवाले मौन विद्रोह नै जनाए। सिंगो निर्वाचन अवधिभर देउवाले कुनै प्रतिक्रिया दिएनन्। उनलाई व्यक्तिगत रूपमा भेट्न गएकालाई चुनाव लडेको मान्छे जित्न तर्फ लाग भन्दै छोटो प्रतिक्रिया दिने गरेका पार्टीका पूर्वमुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। उनले भने, ‘जेन–जी आन्दोलन पछि उहाँ आफैं गम्भीर बिरामी अवस्थाबाट गुज्रिनुभएको छ। निर्वाचनका विषयमा उहाँसमक्ष पुगेकालाई शुभकामना दिनुहुन्थ्यो। पार्टीलाई जिताउनु भन्नुहुन्थ्यो।’

एउटा पक्ष विशेष महाधिवेशनमा उत्रिए लगत्तै कांग्रेसमा दुई पक्ष दुईतिर भए। देउवा पक्ष र शेखर पक्ष विशेष महाधिवेशनमा सहभागी भएन। त्यसको लगत्तै निर्वाचन भयो। कताकति तुष पालेरै भए पनि एक जुट भएको सन्देश केही नेताले दिन खोजे तर जनता समक्ष त्यो सन्देशको पनि अभाव कांग्रेसमा थियो। तर, देउवा स्वयंले यसपालिको निर्वाचनमा मतदान पनि गरेनन्। उल्टै निर्वाचनको मुखमा उपचारका लागि भन्दै सिंगापुर हानिए। अन्य नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शशांक कोइराला, रमेश लेखकलगायतका नेताहरू मैदानमा छिटफुटमात्रै देखिए।

कांग्रेस नेता रामहरी खतिवडाले भने कुनै पनि पक्ष असहयोगमा नउत्रिएको बताउँछन्। ‘बाहिर जे भनिए पार्टीभित्र कुनै पक्षकाले असहयोग गरेको देखिएन। सबै दत्तचित्त भएर लाग्नुभएको थियो,’ उनी भन्छन्, ‘शीर्ष नेताहरू किन बोल्नुभएन उहाँहरूको कुरा हो। अहिले सबै एकजुट भएरै लागेको देखिन्छ।’


पुरञ्जन आचार्य
राजनीतिक विश्लेषक 
कांग्रेस धेरै वर्षदेखि जनतासँग जोडिन सकेको छैन। सत्ता, गठबन्धन र भागबन्डाको राजनीतिमा अल्झिँदा पार्टीको आधार नै मक्किँदै गएको हो। अहिले नेतृत्वमा कसको अनुहार आयो भन्ने मात्रले कांग्रेस सुध्रिने अवस्था छैन। माथि परिवर्तन भएको जस्तो देखिए पनि तल्लो तहमा सुधारको प्रयास खासै देखिएन। कांग्रेसलाई साँच्चिकै सुधार्ने हो भने माथिबाट होइन, तल्लो तहबाटै परिवर्तन सुरु हुनुपर्छ।

देवराज चालिसे 
प्रवक्ता, नेपाली कांग्रेस
कांग्रेस बदलिएको सन्देश कार्यकर्ताबीच पुगे पनि जनतासम्म पुग्न समय लाग्यो। त्यसबेलासम्म जनताको मनोविज्ञान नै बदलिसकेको थियो। पार्टीभित्रको असहमति र विवादको सन्देश बाहिर जाँदा त्यसले पनि असर गर्‍यो। चुनावको तयारी भइरहँदा हामी अधिवेशनमै व्यस्त थियौं, जसले प्रचार–प्रसारमा कमजोरी देखियो। अब नतिजा पूर्णरूपमा आएपछि केन्द्रीय समिति बैठक बसेर समग्र समीक्षा गर्छौं।

रामहरि खतिवडा
निवर्तमान केन्द्रीय सदस्य
हामी आफैंमै केन्द्रित भयौं, जनताको भावना बुझ्न सकेनौं। धेरै नयाँ अनुहारलाई टिकट दिए पनि उनीहरू चुनाव जित्न सकेनन्। अहिले एक–अर्कालाई दोष लगाउनेभन्दा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नु जरुरी छ।

चुनावअघि सबै पक्षसँग पर्याप्त संवाद हुन सकेन भन्ने महसुस भएको छ। सभापति गगन थापाको पराजयमा पनि संवादको अभाव एउटा कारण हुनसक्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.