बर्दिबास (महोत्तरी)
घण्टीले देशमा ऐतिहासिक बहुमत किन ल्यायो ?
- पुराना दल र नेताले मन फेरे अनि मतदाताले भोट।
- कार्यकर्ताको काँधमा पार्टीको झण्डा, मनभित्र थियो विद्रोहको स्वर।
फागुन २१ को चुनावी नतिजाबारे देशभरिका चियाचौतारी,हाटबजारमा भुइँमान्छेहरूले यस्तै सवालजवाफमा दैनिकी चलाइरहेको पाइन्छ। नहोस् पनि किन-पुराना दलमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अभूतपूर्व बहुमत ल्याइरहेको छ।
बर्दिबास, महोत्तरी-पूर्वी नेपालको राजधानी प्रवेशद्वार। राजमार्ग गाडीहरू दौडिरहेका छन्। सडक किनारमा ‘जुत्ता चप्पल मर्मत केन्द्र’ लेखिएको बोर्डको छायांमा बसेका छन् ५७ वर्षीय बिजुली चमार। बायाँ हातमा च्यातिएको जुत्ता अनि दायाँ हातमा सियो थियो। सावधानीपूर्वक उनी जुत्तामा टाँका लगाइरहेका छन्। उनीकहाँ सेवा लिन सानादेखि ठूला मान्छेसम्म आउँछन्, जान्छन्। धेरथोर पढेका बिजुली फागुन २१ को निर्वाचनले देशमा ल्याएको परिवर्तनलाई मज्जाले बुझेका छन्,गमेका छन्।
हिजोआज उनको ध्यान जुत्ता सिलाउनमा मात्रै होइन, देशको राजनीतिमा पनि छ। कहीँ शक्तिशाली नेताहरू पराजित भएको खबर, कहीँ नयाँ अनुहारको उदय। त्यसैले चुनावमा कसको पार्टीको कति सिट आयो ? मज्जाले सुनाउँछन्। कारण ५७ वर्षीय बिजुलीले आफ्नै जीवनमा देशमा परिवर्तन भएको देख्न चाहन्छन्।
बिजुली ४७ वर्षदेखि जुत्ता-चप्पल सिउँदै आएका छन्। ‘हामी त सधैं यही सडकमा छौं। सरकार बदलिन्छ, नेता बदलिन्छन्। तर, यसपाली भने साँच्चै देश बदलियोस् भन्ने चाहना छ।’ सिन्धुली रोडको बर्दिबास-जिरो किलो मिटरमा पसल थापेका उनी भन्छन्, ‘यसपाली मतदाताले नयाँ शक्ति घण्टी (रास्वपा)लाई भोट दिए। ठीकै गरे। पुरानालाई पटकपटक हेरियो, एकपटक बालेनको सरकार हामीले देख्न चाहेका छौं।’ चुनावले बिजुलीजस्ताको जीवन तुरुन्तै समृद्ध बनाइदिएको छैन। तर, लामो समयपछि आशाको सानो बत्ती भने बालिदिएको छ।
पूर्वमा केपी हारे, पश्चिममा गगन
आइतबार बिहान ठीक १० बज्दा पनि घाम लागेको छैन। फागुन अन्तिम साताको मौसम अलि बढी नै गडबढाएको छ, हडबडाएको छ। कालो बादलले बिहानैदेखि सूर्यलाई छप्पक छेकेको छ। उता पूर्व झापामा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहसँग एमालेको ‘सूर्य’ का उम्मेदवार केपी शर्मा ओली (एमाले अध्यक्ष) हारेको खबर छ। हालै राजमार्ग विस्तारका क्रममा बर्दिबास चोकको वरपीपल काटियो। चोकमा ओहोरदोहर गर्नेलाई सन्नटा छाएर नमज्जा लागेको छ। महोत्तरीको छिमेकी जिल्लामा ठीक यति बेलै गाछी छापका उम्मेदवार (कांग्रेस सभापति) गगन थापा चुनावी खेल हारेर स्तब्ध भएको समाचार छ। महोत्तरीको दक्षिणी भेगमा सदाबहार मन्त्री भइरहने शरतसिंह भण्डारीलाई राजनीति जीवनमा अन्तिम लडाइँ (चुनाव) हारेको निर्वाचन अधिकृतको कार्यालयले नतिजा सुनाएको छ। तर, बर्दिबासका बिजुली चमारसहित देशभरका आमजनतालाई पुराना पार्टी र नेता रास्वपाको घण्टीले पाएको अभूतपूर्व ऐतिहासिक बहुतले भने ‘अब देश परिवर्त हुन्छ ’ भन्ने आशा र जिज्ञासा बढाइरहेको छ, नतिजाहरूले भुइँमान्छेहरूलाई खुसी दिलाइरहेको छ।
‘देशमा अब केही हुन्छ’भन्ने आशा भुइँमान्छेहरूमा जागेको छ। किसान, मजदुर,साना व्यवसायी,शिक्षक,विद्यार्थी,आममतदातामा नयाँ चुनावी नतिजाले आशाको बत्ती बालेको छ। बिजुली चमारको नजिकै बर्दिबासस्थित पश्चिममा भोला—वसन्त चोकमा अटो चालकहरू यात्री कुरिरहेका छन्। राजमार्ग विस्तारका क्रममा चोकका वरपीपल काटिँदा बर्दिबास नै उजाड भएको भान भइरहेको छ। तर,अटो चालक श्याम परियार भने चुनावी गफमा जमेका छन्। उनी भन्छन्, ‘अब जनताले घण्टीलाई विश्वास गरेर ऐतिहासिक भोट दियो।’अब घण्टीले पनि पुराना दलजस्तो भ्रष्टहरूको ढाकछोप नगरोस्, गरिब,मजदुर,किसान,चालकहरूको पनि को पनि खुसीको दिन आओस् त्यसका लागि बालेन सरकारले होसियारीपूर्वक देश चलाउनुपर्ने उनी सुनाउँछन्।
अर्का अटो चालक सिन्धुलीका कांस श्रेष्ठले छोरो कतारमा फसेको पीडा सुनाए। उनी भन्छन्,‘विश्वमा युद्ध भइरहेको छ। एयरपोर्टहरू बन्द छन्। छोरो घर आउने भन्छन्। सरकारले युद्ध्ररत र त्यस आसपासका देशमा फसेका नेपालीहरू सबैभन्दा पहिलो स्वदेश ल्याओस्।’ उनका अनुसार बालेनको नेतृत्वमा गठन हुने सरकारले बन्द भएका कलकारखाना सञ्चालन गरोस्।
पुराना दललाई ‘घण्टीको ललकार’
बर्दिबास चोकमा ३० वर्षदेखि चिया पसल सञ्चालन गर्दै आएका ७१ वर्षीय शंकर थापाले देश हाँसेको,देश रोएको सबै बुझेका छन् चिया पसलमा हुने राजनीतिक गफमा। उनले देशमा गणतन्त्र आएको यही चियाको चुस्कीबाटै थाहा पाए,राजा फालेको पनि सुने। आइतबार देशमा पुराना नेता दलहरूको पत्तासाफ भएको खबर पसलमा आएको अखबरबाटै थाहा पाए। पुराना दलहरूको बदमासीमा लगाम लगाउन मतदाताहरूले नयाँ पार्टीका बहुमतसहितको भोट हालेको उनी सुनाउँछन्।
‘देशमा बालेन सरकार बनोस्,हिमाल,पहाड,तराईसम्म कसैलाई पार्टी र जातिका आधार व्यवहार गर्नु हुँदैन,’उनी भन्छन्,‘जनताले रोजगारी पाउनु,देशमा शान्ति र सुरक्षा होस्। सबै नेपालीले मेरो देश हो भन्ने महसुस गराओस्। अब गठन हुने सरकारले पाँच वर्षसम्म काम गरोस्।’सबैका लागि देशमा कानुनबराबर लागू भए देशमा विकास,शान्ति र समृद्धिको लहर
आउने उनी बताउँछन्।
शंकर थापाकै चिया पसलमा भेटिएका बर्दिबासका किसान भरत अधिकारीले देशमा यस्तोसम्म भयो कि पावर,पहुँच हुने मान्छे मात्रै शक्तिशाली हुने अवस्था भएको बताए। उनले भने, ‘त्यसलाई जनता जर्नादनले मतपत्रमार्फत विरोध गर्दै पुराना दलको किल्ला भत्काएको हो।’
जनताबाट जितेर गएका नेताहरू विगतमा बडिगार्ड लिएर गाउँमा आउने दिन किन आएको ? प्रश्न गर्दै उनले थपे,‘नेताहरू जनताबाट कुटिन्छौं कि भनेर पहिले डराएका थिए। त्यो डरमाथि नयाँ शक्ति बालेनले घण्टी बजाएको हो।’
यसपालीको चुनावमा मतदाताहरू खासै खुलेनन्। नेताहरू मैदानमा आएर केही कार्यकर्ताहरू लिएर घरघर,गाउँगाउँ भोट माग्न गए। तर,जनताहरूले नेताहरूलाई भ्यालु नै दिएनन् विगतजस्तो। अधिकारी भन्छन्,‘पार्टीका कार्यकर्ताहरूले डरले काँधमा पार्टीको झण्डा बोके तर मनभित्र बलेको विद्रोहको आगो घण्टी मत दिएर शान्त गरे। यसपाली पार्टी र नेताहरूको मुख्य आधार इलाकाहरूमै नेताहरूको पत्तासाफ हुनुको अर्थ नै यही हो।’
‘भोटका पेटी ठेक्केदारको दोकान बन्द’
किताब,चक,डस्टर र विद्यार्थीसँग लामो समय बिताएका पञ्चधुरा आधारभूत विद्यालय बर्दिबासका प्रधानाध्यापक श्याम पौडेलको चुनावी विश्लेषणले दलहरूले देशभित्र गरेको रजगजको कथा बोल्छ। पहिला दलहरू गठनबन्धन गरेर कार्यकर्ताहरूलाई फनफनी घुमाउँथे। यसपाली मतदातहरूले देशभरि गठबन्धन गरेर दलहरूलाई छक्क्याउँदै नयाँ शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीलाई अभूतपूर्व बहुत दिएको उनी सुनाउँछन्। उनी भन्छन्, यो कुरा दलहरूले चुनावको नतिजा आएपछि मात्रै थाहा भए। गाउँगाउँका पार्टीहरूका भोटका पेटी ठेकेदारहरूको दोकान नै बन्द भयो। मसँग यति भोट,उति भोट सबैको दाबी फेल खायो। ’
उनका अनुसार पुराना पार्टी र नेताहरूले सधैं मतदाताहरूलाई ठग्दै आए। यसपाली भने पार्टीका संगठित सदस्यसहित काँधमा पार्टीको झण्डा बोकेर चुनावमा घरदैलो गरे। उनी भन्छन्, ‘मनभित्र नेताहरूले गर्दै आएको कुकर्मले आजित मतदाता,कार्यकर्ताहरू मौन विद्रोह गरे,नेताले विगतमा जितेर मन फेर्दा मतदाताले अहिले आएको चुनावमा मत फेरे। अनि, वैकल्पिक शक्ति भनिएका रास्वपा मूलधारको शक्तिको आकार लिएर उदाएको छ।’
उनका अनुसार पुराना दलका नेताहरू सुट,बुट लगाएर कालो गाडीमा धुलो उडाउँदै हुइँकिरहे। गाउँका सडकहरू बनाएनन्,खानेपानी पुर्याएनन्,भ्रष्टहरूलाई पोस्ने काम गरे। ‘जनताको पीरमर्का कहिल्यै बुझेनन्। त्यसैले मतदाताले पुराना दलहरूलाई सच्चिनका लागि नयाँ पार्टीलाई भोट दिएर परिवर्तनका लागि ब्यालेटमार्फत विद्रोहको स्वर चर्काएका हुन्,’उनी भन्छन्, ‘कस्तो भने आफ्नै पार्टीका नेताहरूलाई आफ्नै कार्यकर्ताहरूले भोट दिएनन्,भनेपछि जनताले दिने कुरा त अलि परको भयो। पहिलाको दलहरूको भोट बैंक सबै रित्तियो,नयाँ शक्ति रास्वपालाई जनताले
त्यो मत खन्याइदिए।’
घरमा केही कमाइ नहुने नेताहरूका छोराछोरी अमेरिका,अस्ट्रेलियामा पढ्न पठाएका छन्। ‘तपाईंहरूको कमाइको आधार के हो ?’भनेर नेताहरूलाई मतदाताहरूले चुनावमा सोधे। कसैले जवाफ दिन सकेनन्। मतदाताहरूले यसपालीको चुनावमा नेताहरूलाई डटेर प्रश्न गरे। एजेन्डाहरू मागे। पार्टीहरूको काम र नेताहरू व्यवहारमाथि पार्टीभित्र र बाहिर खुलेर विरोध भएको उनी सुनाउँछन्। उनले भने, ‘पुराना पार्टी र नेतालाई परिवर्तन गर्न मतदाता,कार्यकर्ताहरूले धेरैपटक प्रश्न उठाए तर,उनीहरू रूपान्तरण भएन अनि मतदाताहरू आफ्नै मत परिवर्तन गर्न बाध्य भए।’
नेपाली कम्युनिस्ट पार्टीकी महिला नेतृ ईश्वरी रिसालले सबै पार्टीभित्रका युवा पुस्ताले घण्टीलाई देशैभरिबाट मतदान गरेको सुनाइन्। उनले भनिन्, ‘घरका बुबाआमा अलि अलि पुराना पार्टीलाई सम्झेर भोट हाले,युवा जति सबैले घण्टीमै भोट खन्याए। दलहरू भित्रको स्वेच्छाचारी प्रवृत्तिले देशभर सुनामी आएको र दलहरूको पत्ता साफ भयो।’
‘मतदाता भगवान्ले घण्टीलाई दुईतिहाइको लालमोहर लगाए’बर्दिबासकै ९२ वर्षीय मतदाता टंकहरि अधिकारी दलहरूले जनतालाई धेरै सताएको सुनाउँछन्। उनी भन्छन्, ‘त्यसैको प्रतिफल दलहरूले चुनावमा पाए। जनताले पुराना दलहरूलाई हराएर लोप्पा खुवायो।’
उनका अनुसार पुराना दलहरूले जनताको विश्वास गुमायो। ‘रास्वपाको नेतृत्वमा दुईतिहाइको सरकार बन्ने अब पक्कापक्कीजस्तो भयो। यसका लागि मतदाता भगवान्ले घण्टीमा लालमोहर लगाइनै सकेको छ,’ उनी भन्छन्।
नयाँ सरकार मुख्य कार्यभार सुशासन,विकास र संविधान संशोधन रहेको छ। यसमा खरो रूपमा बालेन सरकार उत्रिनुपर्ने छ। ‘पुराना दलहरूबाट नेताहरू रास्वपामा आएर बहुतमतका साथ चुनाव जितेका छन्। पुराना नेता र दलहरूमा अलि बढी नै चम्चागिरी चलेको थियो। त्यहाँबाट नेताहरू छोडेर रास्वपा र नेता बालेनलाई रोजेका हुन्,’उनी सुनाउँछन्।
नेपाली जनताको चेत अब राम्रैसँग खुलेको अधिकारी सुनाउँछन्। उनी भन्छन्,‘नेपाली जनता भेडा होइन्,नेपाली जनता समक्ष र विवेकशील छन्। त्यो कुरा चुनावमार्फत देखाएका छन्। नेपाली जनता मिलेर पूरा दलहरूलाई चुनाव हराएर ठूलो सजाय दिए। अब दलहरू सुध्रिनुपर्छ नत्र आउँदो चुनावमा योभन्दा ठूलो हारको समाना गर्नुपर्छ।’
अर्की ५० वर्षीया मतदाता गोरी थापाले पुराना नेताहरूले चुनाव हार्नैपर्ने थियो जुन जनताले चुनावमार्फत निर्णय गरे। उनी भन्छन्,‘नेताहरूले लोभ देखाएर चुनावमा भोट लिन्थ्यो अनि चुनाव जितेपछि फर्केर गाउँमा नआउने। कता छन् केही पत्तो नहुने। यस्ता नेताहरूलाई जनता मिलेर हराए।’
प्रतिक्रिया दिनुहोस !