मधेसमा आलमले जोगाए कांग्रेसको इज्जत

मधेसमा आलमले जोगाए कांग्रेसको इज्जत
सुन्नुहोस्

रौतहट : रौतहटमा प्रतिनिधिसभा निर्वाचनको नतिजाले पुराना दललाई ठूलो धक्का दिएको छ। जिल्लाका चारमध्ये तीन निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले ऐतिहासिक जित निकाल्दै पुराना दलको गढ भत्काएको छ। तर, क्षेत्र नम्बर–२ मा कांग्रेसका फोर्दोस आलम विजयी भएपछि मधेसमा कांग्रेसको ‘इज्जत जोगिएको’ छ।

कांग्रेसका फोर्दोस आलम ११ हजार ८६ मतान्तरसहित विजयी भए। उनले २९ हजार ५ सय २८ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका किरणकुमार साहले १८ हजार ४ सय ४२ मत पाए। रास्वपाका शेख सगिर ९ हजार ३ सय २५ मतसहित तेस्रो स्थानमा रहे।

जिल्लाको क्षेत्र नम्बर–२ मा भने कांग्रेसले राहत पाएको छ। अन्य तीन क्षेत्रमा लगातार पराजय भोगिरहेको कांग्रेसका लागि आलमको जित प्रतिष्ठाको विषय बनेको छ। यही जितका कारण जिल्लामा कांग्रेस पूर्णरूपमा ‘क्लिन स्विप’ हुनबाट जोगिएको विश्लेषण गरिएको छ।

जिल्लाका क्षेत्र नम्बर– १, ३ र ४ मा रास्वपाले फराकिलो मतान्तरसहित जित निकाल्दै आफ्नो प्रभाव विस्तार गरेको छ। लामो समयदेखि स्थापित नेताहरूलाई पराजित गर्दै रास्वपाले मतदाताको ‘परिवर्तन’ चाहनालाई बलियो संकेत दिएको देखिन्छ।

क्षेत्र नम्बर–१ मा रास्वपाका राजेश कुमार चौधरीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री अनिल झालाई पराजित गर्दै सनसनीपूर्ण जित निकाले। चौधरीले २८ हजार ९ सय ४६ मत प्राप्त गर्दा एमालेका अजय गुप्ताले १० हजार ६ सय ९३ मत ल्याए। चारपटक यस क्षेत्रबाट निर्वाचित भइसकेका माधवकुमार नेपाल भने ७ हजार ६ सय ६९ मतमै सीमित भए।

क्षेत्र नम्बर–३ मा रास्वपाका रवीन्द्र पटेलले २७ हजार ३ सय १८ मत ल्याउँदै दोब्बरभन्दा बढी मतान्तरले जित हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी जसपाका गोविन्द चौधरीले १२ हजार ९ सय ५४ मत पाए। पाँचपटक चुनाव जितेका पूर्वमन्त्री तथा आजपाका अध्यक्ष प्रभु साह भने ९ हजार ८ सय ९० मतसहित तेस्रो स्थानमा झरे।

क्षेत्र नम्बर–४ मा पनि रास्वपाको प्रभाव देखियो। गणेश पौडेलले ३६ हजार ८ सय ७६ मत ल्याउँदै दुईपटक सांसद भइसकेका कांग्रेसका देवप्रसाद तिमल्सिनालाई पराजित गरे। तिमल्सिना ‘ह्याट्रिक’ जितको लक्ष्यसहित चुनावी मैदानमा थिए तर मतदाताको परिवर्तनको चाहनाले उनको यात्रामा पूर्णविराम लगाइदियो। 

१२८ उम्मेदवारको जमानत जफत
जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका १ सय ४२ उम्मेदवारमध्ये १ सय २८ जनाको जमानत जफत भएको छ। कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेपछि उनीहरूले मनोनयनका बेला राखेको धरौटी रकम गुमाएका हुन्।

जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार क्षेत्र नम्बर–१ मा ३९ उम्मेदवारमध्ये ३४ जनाको, क्षेत्र नम्बर–२ मा २६ मध्ये २३ जनाको, क्षेत्र नम्बर–३ मा ४० मध्ये ३७ जनाको र क्षेत्र नम्बर–४ मा ३७ मध्ये ३४ जनाको जमानत जफत भएको छ। निर्वाचन अधिकृत छोटेलाल दासका अनुसार यसरी १२८ उम्मेदवारको धरौटी जफत हुँदा १२ लाख ८० हजार रुपैयाँ सरकारी राजस्वमा जम्मा भएको छ।

यसपटक रौतहटमा कुल ४ लाख ३६ हजार ६ सय ११ मतदातामध्ये २ लाख ९३ हजार १ सय ३८ जनाले मतदान गरेका थिए, जुन करिब ६७.१४ प्रतिशत हो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.