जहाँ जाँचै नगरी कार्यालय सहायकले दिन्छिन् औषधि
रामगोपालपुर (महोत्तरी) : रामगोपालपुर नगरपालिका–६ मा सञ्चालित प्राथमिक स्वास्थ्यकेन्द्र, विशम्भरपुरमा कार्यरत एक कार्यालय सहायकले बिरामीलाई जाँच नगरी औषधि वितरण गर्दै आएको खुलासा भएको छ। सो स्वास्थ्य केन्द्रकी कार्यालय सहायक काजलकुमारी मण्डलले उपचारका लागि आउने बिरामीलाई जाँच नगरी नै औषधि दिने गरेको पाइएको हो।
एसईई उत्तीर्ण मात्र रहेकी मण्डलले संस्थामा आउने बिरामीले भनेको आधारमा उपलब्ध औषधि दिने गरेको स्वीकार गरेकी छन्। दिनभरि प्रायः एक्लैले ड्युटी सम्हाल्दै आएकी मण्डलले अन्नपूर्ण पोस्ट्सँग भनिन्, ‘यहाँ म प्रायः एक्लै ड्युटी गर्छु। दिनभरि आउने बिरामीलाई सेवा दिन्छु। कार्यालय प्रमुख सीअहेव सुरेश महतो प्रायः बाहिर बस्नुहुन्छ। यहाँ आउने बिरामीले आफ्नो समस्या बताएपछि सोही आधारमा स्वास्थ्य संस्थामा उपलब्ध औषधि दिएर पठाउने गर्छु।’ उनले कहिलेकाहीँ समस्या स्पष्ट नबुझेको खण्डमामात्रै फोनमार्फत जानकारी गराउने गरेको बताइन्।
कार्यालय प्रमुख महतो उक्त संस्थाका एक मात्र स्थायी कर्मचारी हुन्। केही दिनअघिदेखि उनी सोही पालिकाको–६ को वडासचिवको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन्। दोहोरो जिम्मेवारी पाएपछि महतो कहिलेकाहीँ मात्र स्वास्थ्य संस्थामा समय दिने गरेको स्थानीय वीरेन्द्रकुमार यादवले आरोप लगाएका छन्। वडासचिवको जिम्मेवारीसमेत सम्हालिरहेका महतो प्रायः वडा कार्यालयमै हाकिमका रूपमा काम गर्ने गरेको यादवले बताए।
यस विषयमा रामगोपालपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्छेलाल दासले नगरपालिकाभर निजामती कर्मचारीको अभाव रहेकाले अन्य कर्मचारीजस्तै महतोलाई पनि वडा नं. ६ को वडासचिवको रूपमा दोहोरो जिम्मेवारी दिइएको बताए। उनले भने, ‘उहाँलाई जिम्मेवारी दिँदा स्वास्थ्य संस्थामा अधिकांश समय बिताउनुपर्ने कुरा पत्रमै उल्लेख गरिएको थियो। तर, त्यसको पालना नभएकाले समस्या देखिएको हो।’ उक्त स्वास्थ्य संस्था नियमित सरसफाइको अभाव र फोहोरका कारण अस्तव्यस्त बन्दै गएको स्थानीयले बताएका छन्।
प्रतिक्रिया दिनुहोस !