इरान युद्धबाट कसलाई फाइदा,  कसलाई घाटा ?

इरान युद्धबाट कसलाई फाइदा,  कसलाई घाटा ?
फाइल फोटो

काठमाडौं : इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण विश्व ऊर्जा बजार र आपूर्ति शृंखलामा ठूलो उथलपुथल भएको छ । यसले अर्थतन्त्रमा धक्का दिएको छ र धेरै देशहरू त्यसको असर सामना गर्न तयारी गरिरहेका छन् ।

तर यही अव्यवस्थाबीच केही देशहरूले नयाँ रणनीतिक अवसर पनि देखिरहेका छन् । इजरायल–अमेरिका र इरानबीचको युद्धले मध्यपूर्व मात्र होइन, विश्वभर नाटकीय प्रभाव पारेको छ । खाडी क्षेत्रमा अस्थिरता बढेको छ र मध्यपूर्वका लाखौं मानिस घर छोडेर भाग्न बाध्य भएका छन् ।

युद्ध क्षेत्रबाट टाढा रहेका देशहरूमा पनि यसको असर देखिएको छ । तेलको मूल्य तीव्र रूपमा बढेको छ र खाडी क्षेत्रको समुद्री यातायात, विशेष गरी होर्मुज जलडमरूमध्य वरिपरि, अवरुद्ध हुँदा उपभोक्ता र उद्योग दुवै महँगीको दबाबमा परेका छन् । उद्योगहरूको उत्पादन लागत पनि बढेको छ । यसैबीच प्रश्न उठेको छ–कुन देशलाई सबैभन्दा बढी नोक्सान हुन सक्छ र कसलाई फाइदा पुग्न सक्छ ?

रूस–इरान रूसको महत्वपूर्ण सहयोगी र सैन्य साझेदार हो । तर इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईको मृत्यु रूसका लागि कूटनीतिक झट्का मानिएको छ । यसअघि सिरियामा बशर अल–असद सत्ता बाहिरिनु र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेर अमेरिका लगिनु पनि रूसका लागि नोक्सानदायी घटनाका रूपमा हेरिएका छन् ।

यद्यपि मध्यपूर्वको यो संघर्षले युक्रेन युद्धमा रूसलाई केही फाइदा पनि दिन सक्छ । किनकि अहिले अमेरिकी सैन्य स्रोतहरू युक्रेनभन्दा बढी मध्यपूर्वतर्फ केन्द्रित हुन थालेका छन् । पेरिस इन्स्टिच्युट अफ पोलिटिकल स्टडिजको सेन्टर फर इन्टरनेसनल स्टडिजकी एशोसिएट प्रोफेसर निकोल ग्रायेव्स्कीका अनुसार, ‘प्याट्रियट मिसाइल र इन्टरसेप्टरको कमी रूसका लागि फाइदाजनक हुन सक्छ, किनकि यसले युक्रेनलाई उपलब्ध हुने हतियार सीमित बनाउँछ ।’

विशेषज्ञहरूका अनुसार इरानलाई अहिले शाहेद ड्रोनको आवश्यकता बढेको छ । तर यसले युक्रेन युद्धमा रूसको क्षमतामा ठूलो प्रभाव पार्ने सम्भावना भने कम छ । सुरुवाती चरणमा रूस सैन्य सहयोगका लागि इरानमा धेरै निर्भर थियो । त्यतिबेला इरानले रूसलाई शाहेद ड्रोन र त्यसको उत्पादन प्रविधि उपलब्ध गराएको थियो, विशेष गरी सन् २०२२–२०२३ मा ।

तर अहिले रूसले ती ड्रोन आफैं उत्पादन गर्न थालेको छ, त्यसैले इरानमाथिको निर्भरता कम भएको छ । उता होर्मुज जलडमरूमध्यमा तनाव बढ्दा तेल र ग्यास ढुवानी प्रभावित भएको छ र तेलको मूल्य तीव्र रूपमा बढेको छ । यसले युक्रेन युद्धका कारण आर्थिक दबाबमा परेको रूसलाई केही वित्तीय राहत दिन सक्छ । रूसको संघीय बजेट ठूलो रूपमा तेल निर्यातमा निर्भर छ, जसको मूल्य हाल करिब १०० डलर प्रति बैरल पुगेको छ । खाडीका तेल उत्पादकहरूले उत्पादन घटाएमा चीन र भारत जस्ता बजारमा रूसलाई थप तेल निर्यात गर्ने अवसर पनि मिल्न सक्छ ।

चीन– इरानमा भइरहेको युद्धले चीनमा अहिलेसम्म ठूलो प्रत्यक्ष प्रभाव देखिएको छैन । तर केही दबाब भने पर्ने सम्भावना छ । ग्लोबल एनर्जी पोलिसी सेन्टरका अनुसार चीनले आयात गर्ने कच्चा तेलमध्ये करिब १२ प्रतिशत मात्रै इरानबाट आउँछ । चीनसँग धेरै महिनाका लागि पर्याप्त तेल भण्डार पनि रहेको छ र आवश्यक परे रूसबाट पनि सजिलै तेल आयात गर्न सक्छ ।

तर चीनको निर्यात–आधारित उद्योगमा असर पर्न सक्छ । चीनको जीडीपीमा निर्यातको हिस्सा करिब २० प्रतिशत छ । घरेलु माग कमजोर हुँदै गइरहेको अवस्थामा निर्यात चीनका लागि अझ महत्वपूर्ण बनेको छ । होर्मुज जलडमरूमध्यमा समस्या आए पनि चीनका लागि सबैभन्दा महत्वपूर्ण मार्ग अटलान्टिकतर्फ जाने समुद्री मार्ग हो । तर बाब–अल–मन्देब जलडमरूमध्यमा पनि खतरा बढेको छ, जहाँ इरान समर्थित हूती समूहले जहाजहरूमा हमला गरेको छ ।

यदि रेड सागर मार्ग अवरुद्ध भयो भने जहाजहरूलाई दक्षिण अफ्रिका हुँदै केप अफ गुड होपको लामो मार्ग प्रयोग गर्नुपर्ने हुन्छ । यसले यात्रा समय १०–१४ दिन बढाउँछ र एउटा जहाजलाई औसतमा करिब २० लाख डलर अतिरिक्त खर्च लाग्न सक्छ । तर कूटनीतिक रूपमा चीनले यस संकटलाई अवसरका रूपमा पनि प्रयोग गर्न सक्छ । विशेषज्ञहरूका अनुसार चीनले आफूलाई अमेरिका भन्दा ‘जिम्मेवार र सन्तुलन कायम गर्ने शक्ति’ का रूपमा प्रस्तुत गर्ने प्रयास गर्न सक्छ ।

पाकिस्तान, बंगलादेशलगायत देशहरू

मध्यपूर्वको तेल र ग्यासमा अत्यधिक निर्भर भएका दक्षिण र दक्षिण–पूर्व एशियाका धेरै देशहरूमा युद्धको ठूलो असर पर्ने देखिएको छ । आर्थिक दबाब कम गर्न केही देशहरूले कडा बचतका उपाय अपनाउन थालेका छन् ।

भियतनाममा युद्ध सुरु भएदेखि डिजेलको मूल्य करिब ६० प्रतिशत बढेको छ । सरकारले सम्भव भएसम्म घरबाटै काम गर्न आग्रह गरेको छ । फिलिपिन्सले आफ्नो करिब ९५ प्रतिशत कच्चा तेल मध्यपूर्वबाट आयात गर्छ । त्यसैले त्यहाँ सरकारी कर्मचारीका लागि चार दिनको कार्यसप्ताह लागू गरिएको छ ।

यस्तै उपाय पाकिस्तानले पनि अपनाएको छ । सम्भव भएसम्म ‘वर्क फ्रम होम’ लागू गरिएको छ र विश्वविद्यालयका कक्षा अनलाइन सञ्चालन गरिएका छन् । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रका नाममा सम्बोधन गर्दै इन्धन भण्डार जोगाएर प्रयोग गर्न आग्रह गरेका छन् । 

बंगलादेशमा भने पेट्रोल पम्पमा लामो लाइन लाग्न थालेपछि सरकारले राशनिङ लागू गरेको छ । कारका लागि दिनमा १० लिटर र मोटरसाइकलका लागि २ लिटर पेट्रोल मात्रै दिने व्यवस्था गरिएको छ ।

खाद्य सुरक्षामा पनि खतरा
युद्धको असर ऊर्जा संकटमा मात्र सीमित नहुन सक्छ । यसले उर्वरक उत्पादनमा पनि असर पार्न सक्छ । विश्वको करिब ३० प्रतिशत युरिया होर्मुज जलडमरूमध्यबाट ढुवानी हुन्छ । युरिया उर्वरक उत्पादनका लागि महत्वपूर्ण कच्चा पदार्थ हो र यो पेट्रोकेमिकल उद्योगसँग जोडिएको हुन्छ ।

यदि विश्व बजारबाट युरियाको ठूलो हिस्सा हट्यो भने यसले विश्व खाद्य सुरक्षामा गम्भीर असर पार्न सक्छ । विशेषज्ञहरूका अनुसार यसको प्रभाव ६ देखि ९ महिनाभित्र खाद्य मूल्यवृद्धि र खाद्य सुरक्षामा देखिन सक्छ । अहिले यसको पूर्ण असर देखिएको छैन, तर यदि किसानहरूले उर्वरक पाउन कठिनाइ भएमा दीर्घकालीन असर पर्ने सम्भावना छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.