इरानले विश्वको प्रमुख तेल मार्ग ‘होर्मुज’ ठप्प पारे के हुन्छ ?

इरानले विश्वको प्रमुख तेल मार्ग ‘होर्मुज’ ठप्प पारे के हुन्छ ?
सुन्नुहोस्

इरान : मध्यपूर्वको अत्यन्त महत्वपूर्ण समुद्री मार्ग होर्मुज अहिले पुनः अन्तर्राष्ट्रिय ध्यानको केन्द्रमा परेको छ । पछिल्ला दिनहरूमा यस क्षेत्रमा केही जहाजमाथि मिसाइल आक्रमण भएको खबर आएपछि विश्व ऊर्जा बजारमा चिन्ता बढेको छ । यो जलडमरूमध्य संसारकै सबैभन्दा व्यस्त तेल ढुवानी मार्ग मानिन्छ र यहाँ असुरक्षा बढेमा विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पर्न सक्छ ।

हालै बेलायती समुन्द्री व्यापारिक केन्द्र (यूकेएमटीओ) ले दिएको जानकारीअनुसार इराकको तट नजिक दुई वटा तेल ट्यांकरमाथि ‘अज्ञात प्रक्षेपास्त्र’ प्रयोग गरेर हमला गरिएको थियो । त्यस्तै युनाइटेड अबर इमिरेट्सको तट नजिक एक कन्टेनर जहाजमाथि पनि आक्रमण भएको रिपोर्ट आएको छ । यसबीच इरानले चेतावनी दिँदै जलडमरूमध्य पार गर्ने कुनै पनि जहाजलाई ‘आगोको हवाला’ बनाइने धम्की दिएको छ, यद्यपि सीमित जहाजी आवागमन भने अझै जारी रहेको बताइएको छ ।

यो जलडमरूमध्य भौगोलिक रूपमा अत्यन्त संवेदनशील स्थानमा रहेको छ । यसको उत्तरतर्फ इरान छ भने दक्षिणतर्फ ओमन र युनाइटेड अबर इमिरेट्स पर्छन् । करिब ५० किलोमिटर चौडा प्रवेशद्वार भएको यो समुद्री गलियारा सबैभन्दा साँघुरो स्थानमा लगभग ३३ किलोमिटर मात्र हुन्छ । यही मार्गले फारसको खाडीलाई अरब सागरसँग जोड्छ । जलडमरूमध्य यति गहिरो छ कि विश्वका सबैभन्दा ठूला तेल ट्यांकर पनि सजिलै पार गर्न सक्छन् ।

ऊर्जा क्षेत्रका तथ्यांकअनुसार सन् २०२५ मा दैनिक करिब २ करोड ब्यारेल  तेल यही मार्गबाट पार भएको अनुमान छ । यसले वार्षिक रूपमा लगभग ६०० अर्ब डलर बराबरको ऊर्जा व्यापारलाई प्रतिनिधित्व गर्छ । यो तेल इरान मात्र नभई इराक, कुवेत, कतार, साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्स जस्ता खाडीका प्रमुख उत्पादक देशबाट विश्व बजारमा पठाइन्छ ।

यदि यो मार्ग बन्द भयो भने यसको असर तुरुन्तै ऊर्जा बजारमा देखिन सक्छ । विश्लेषकहरूका अनुसार जहाजहरूलाई यहाँबाट सुरक्षित रूपमा पार गर्न नसकिने अवस्था बनेमा तेलको मूल्य र ढुवानी लागत दुबै तीव्र रूपमा बढ्ने छ । जहाजहरूको बीमा महँगो वा असम्भव हुने भएकाले धेरै कम्पनीहरूले यस मार्गबाट यात्रा स्थगित गर्न सक्छन् । हालै विश्व बजारमा तेलको मूल्य करिब १२० डलरसम्म पुगेको थियो, यद्यपि पछि केही घटेको छ ।

समुद्री ढुवानी क्षेत्रमा पनि लागत असाध्यै बढेको छ । उदाहरणका लागि, मध्यपूर्वबाट चीनसम्म तेल बोक्ने सुपरट्यांकर भाडा एक सातामै झण्डै दोब्बर भई ४ लाख डलरभन्दा माथि पुगेको बताइएको छ । यसले तेल निर्यातमा निर्भर अर्थतन्त्र भएका खाडी देशहरूलाई पनि ठूलो आर्थिक झट्का दिन सक्छ ।

जलडमरूमध्य बन्द हुँदा सबैभन्दा बढी असर एशियामा पर्ने सम्भावना छ । अनुमानअनुसार यहाँबाट बाहिरिने करिब ८० प्रतिशतभन्दा बढी तेल एशियाली देशहरूतर्फ जान्छ । विशेष गरी चाइना इरानी तेलको प्रमुख खरिदकर्ता हो । चीनले यही तेल प्रयोग गरेर उत्पादन गर्ने सामानहरू विश्वभर निर्यात गर्ने भएकाले तेलको मूल्यवृद्धिले अन्ततः विश्वभरका उपभोक्तालाई असर गर्न सक्छ ।

सैन्य विश्लेषकहरूका अनुसार इरानले यो मार्ग बन्द गर्न विभिन्न रणनीति अपनाउन सक्छ । समुद्रमा बारूदी सुरुङ बिछ्याउने, तीव्रगति आक्रमणकारी डुङ्गा प्रयोग गर्ने वा जहाजहरूलाई लक्ष्य गरेर मिसाइल आक्रमण गर्ने जस्ता उपाय सम्भावित मानिन्छन् । इरानको नियमित नौसेना र इस्लामिक रिभोल्युसनरी गाड्र्सको नौसेनाले विदेशी युद्धपोत तथा व्यावसायिक जहाजलाई निशाना बनाउन सक्ने चेतावनी पनि दिइएको छ ।

तर यस्तो कदमले ठूलो अन्तर्राष्ट्रिय सैन्य प्रतिक्रिया निम्त्याउन सक्छ । विशेष गरी युनाइटेड स्टेटले यसअघि पनि खाडी क्षेत्रमा सैन्य शक्ति प्रयोग गरेर समुद्री यातायात पुनः सञ्चालन गराएको इतिहास छ । सन् १९८० को दशकमा भएको इरान–इराक युद्धको अन्तिम चरणमा तेल ट्यांकरहरूलाई लक्षित आक्रमण भएपछि अमेरिकी नौसेनाले कुवेती जहाजहरूलाई सुरक्षा दिँदै खाडीमा ठूलो सैन्य अभियान सञ्चालन गरेको थियो ।

यद्यपि खाडीका तेल उत्पादक देशहरूले सम्भावित जोखिमलाई ध्यानमा राख्दै वैकल्पिक मार्ग विकास गर्ने प्रयास पनि गरेका छन् । साउदी अरेबियाले करिब १,२०० किलोमिटर लामो पाइपलाइन सञ्चालनमा ल्याएको छ, जसले दैनिक ५० लाख बैरल तेल ढुवानी गर्न सक्छ । त्यस्तै युनाइटेड अरब इमिरेट्सले आफ्नो तेल क्षेत्रलाई ओमानको खाडीमा रहेको बन्दरगाह या फुजैरासँग जोड्ने पाइपलाइन निर्माण गरेको छ ।

तर विशेषज्ञहरूका अनुसार यी वैकल्पिक मार्गहरूले पूर्ण रूपमा होर्मुज जलडमरूमध्यको स्थान लिन सक्दैनन् । यदि यो मार्ग पूर्ण रूपमा बन्द भयो भने विश्व बजारमा दैनिक ८ देखि १० मिलियन बैरल तेलको आपूर्ति कमी हुन सक्छ । यस्तो अवस्थामा ऊर्जा संकट गहिरिने र विश्व अर्थतन्त्रमा ठूलो झट्का पुग्ने सम्भावना रहेको विश्लेषकहरूले चेतावनी दिएका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.