इरानले विश्वको प्रमुख तेल मार्ग ‘होर्मुज’ ठप्प पारे के हुन्छ ?
इरान : मध्यपूर्वको अत्यन्त महत्वपूर्ण समुद्री मार्ग होर्मुज अहिले पुनः अन्तर्राष्ट्रिय ध्यानको केन्द्रमा परेको छ । पछिल्ला दिनहरूमा यस क्षेत्रमा केही जहाजमाथि मिसाइल आक्रमण भएको खबर आएपछि विश्व ऊर्जा बजारमा चिन्ता बढेको छ । यो जलडमरूमध्य संसारकै सबैभन्दा व्यस्त तेल ढुवानी मार्ग मानिन्छ र यहाँ असुरक्षा बढेमा विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पर्न सक्छ ।
हालै बेलायती समुन्द्री व्यापारिक केन्द्र (यूकेएमटीओ) ले दिएको जानकारीअनुसार इराकको तट नजिक दुई वटा तेल ट्यांकरमाथि ‘अज्ञात प्रक्षेपास्त्र’ प्रयोग गरेर हमला गरिएको थियो । त्यस्तै युनाइटेड अबर इमिरेट्सको तट नजिक एक कन्टेनर जहाजमाथि पनि आक्रमण भएको रिपोर्ट आएको छ । यसबीच इरानले चेतावनी दिँदै जलडमरूमध्य पार गर्ने कुनै पनि जहाजलाई ‘आगोको हवाला’ बनाइने धम्की दिएको छ, यद्यपि सीमित जहाजी आवागमन भने अझै जारी रहेको बताइएको छ ।
यो जलडमरूमध्य भौगोलिक रूपमा अत्यन्त संवेदनशील स्थानमा रहेको छ । यसको उत्तरतर्फ इरान छ भने दक्षिणतर्फ ओमन र युनाइटेड अबर इमिरेट्स पर्छन् । करिब ५० किलोमिटर चौडा प्रवेशद्वार भएको यो समुद्री गलियारा सबैभन्दा साँघुरो स्थानमा लगभग ३३ किलोमिटर मात्र हुन्छ । यही मार्गले फारसको खाडीलाई अरब सागरसँग जोड्छ । जलडमरूमध्य यति गहिरो छ कि विश्वका सबैभन्दा ठूला तेल ट्यांकर पनि सजिलै पार गर्न सक्छन् ।
ऊर्जा क्षेत्रका तथ्यांकअनुसार सन् २०२५ मा दैनिक करिब २ करोड ब्यारेल तेल यही मार्गबाट पार भएको अनुमान छ । यसले वार्षिक रूपमा लगभग ६०० अर्ब डलर बराबरको ऊर्जा व्यापारलाई प्रतिनिधित्व गर्छ । यो तेल इरान मात्र नभई इराक, कुवेत, कतार, साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्स जस्ता खाडीका प्रमुख उत्पादक देशबाट विश्व बजारमा पठाइन्छ ।
यदि यो मार्ग बन्द भयो भने यसको असर तुरुन्तै ऊर्जा बजारमा देखिन सक्छ । विश्लेषकहरूका अनुसार जहाजहरूलाई यहाँबाट सुरक्षित रूपमा पार गर्न नसकिने अवस्था बनेमा तेलको मूल्य र ढुवानी लागत दुबै तीव्र रूपमा बढ्ने छ । जहाजहरूको बीमा महँगो वा असम्भव हुने भएकाले धेरै कम्पनीहरूले यस मार्गबाट यात्रा स्थगित गर्न सक्छन् । हालै विश्व बजारमा तेलको मूल्य करिब १२० डलरसम्म पुगेको थियो, यद्यपि पछि केही घटेको छ ।
समुद्री ढुवानी क्षेत्रमा पनि लागत असाध्यै बढेको छ । उदाहरणका लागि, मध्यपूर्वबाट चीनसम्म तेल बोक्ने सुपरट्यांकर भाडा एक सातामै झण्डै दोब्बर भई ४ लाख डलरभन्दा माथि पुगेको बताइएको छ । यसले तेल निर्यातमा निर्भर अर्थतन्त्र भएका खाडी देशहरूलाई पनि ठूलो आर्थिक झट्का दिन सक्छ ।
जलडमरूमध्य बन्द हुँदा सबैभन्दा बढी असर एशियामा पर्ने सम्भावना छ । अनुमानअनुसार यहाँबाट बाहिरिने करिब ८० प्रतिशतभन्दा बढी तेल एशियाली देशहरूतर्फ जान्छ । विशेष गरी चाइना इरानी तेलको प्रमुख खरिदकर्ता हो । चीनले यही तेल प्रयोग गरेर उत्पादन गर्ने सामानहरू विश्वभर निर्यात गर्ने भएकाले तेलको मूल्यवृद्धिले अन्ततः विश्वभरका उपभोक्तालाई असर गर्न सक्छ ।
सैन्य विश्लेषकहरूका अनुसार इरानले यो मार्ग बन्द गर्न विभिन्न रणनीति अपनाउन सक्छ । समुद्रमा बारूदी सुरुङ बिछ्याउने, तीव्रगति आक्रमणकारी डुङ्गा प्रयोग गर्ने वा जहाजहरूलाई लक्ष्य गरेर मिसाइल आक्रमण गर्ने जस्ता उपाय सम्भावित मानिन्छन् । इरानको नियमित नौसेना र इस्लामिक रिभोल्युसनरी गाड्र्सको नौसेनाले विदेशी युद्धपोत तथा व्यावसायिक जहाजलाई निशाना बनाउन सक्ने चेतावनी पनि दिइएको छ ।
तर यस्तो कदमले ठूलो अन्तर्राष्ट्रिय सैन्य प्रतिक्रिया निम्त्याउन सक्छ । विशेष गरी युनाइटेड स्टेटले यसअघि पनि खाडी क्षेत्रमा सैन्य शक्ति प्रयोग गरेर समुद्री यातायात पुनः सञ्चालन गराएको इतिहास छ । सन् १९८० को दशकमा भएको इरान–इराक युद्धको अन्तिम चरणमा तेल ट्यांकरहरूलाई लक्षित आक्रमण भएपछि अमेरिकी नौसेनाले कुवेती जहाजहरूलाई सुरक्षा दिँदै खाडीमा ठूलो सैन्य अभियान सञ्चालन गरेको थियो ।
यद्यपि खाडीका तेल उत्पादक देशहरूले सम्भावित जोखिमलाई ध्यानमा राख्दै वैकल्पिक मार्ग विकास गर्ने प्रयास पनि गरेका छन् । साउदी अरेबियाले करिब १,२०० किलोमिटर लामो पाइपलाइन सञ्चालनमा ल्याएको छ, जसले दैनिक ५० लाख बैरल तेल ढुवानी गर्न सक्छ । त्यस्तै युनाइटेड अरब इमिरेट्सले आफ्नो तेल क्षेत्रलाई ओमानको खाडीमा रहेको बन्दरगाह या फुजैरासँग जोड्ने पाइपलाइन निर्माण गरेको छ ।
तर विशेषज्ञहरूका अनुसार यी वैकल्पिक मार्गहरूले पूर्ण रूपमा होर्मुज जलडमरूमध्यको स्थान लिन सक्दैनन् । यदि यो मार्ग पूर्ण रूपमा बन्द भयो भने विश्व बजारमा दैनिक ८ देखि १० मिलियन बैरल तेलको आपूर्ति कमी हुन सक्छ । यस्तो अवस्थामा ऊर्जा संकट गहिरिने र विश्व अर्थतन्त्रमा ठूलो झट्का पुग्ने सम्भावना रहेको विश्लेषकहरूले चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस !