नक्कली ऋणी देखाएर सिटिजन्स बैंकको करिब पाँच करोड घोटाला

नक्कली ऋणी देखाएर सिटिजन्स बैंकको करिब पाँच करोड घोटाला

विराटनगर :  सिटिजन्स बैंक इन्टरनेशनलको विराटनगरस्थित कञ्चनबारी शाखामा चार करोड ९१ लाख रुपैयाँभन्दा बढी वित्तीय हिनामिना भएको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी परेको छ । बैंकको आन्तरिक छानबिनका क्रममा नक्कली ऋणी खडा गरेर ठूलो परिमाणमा रकम दुरुपयोग भएको पाइएपछि बैंक प्रशासनले कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएको हो ।

विराटनगर–३, राजवंशी चोकमा रहेको उक्त शाखामा भएको घोटाला प्रकरणमा बैंकका कर्मचारीहरूकै प्रत्यक्ष संलग्नता देखिएको छ । बैंकका सूचना अधिकारी नारायणराज अधिकारीका अनुसार नियमित रूपमा गरिने ‘सरप्राइज अडिट’ (आकस्मिक लेखापरीक्षण) का क्रममा ऋण लगानीमा शंकास्पद विवरणहरू भेटिएका थिए ।

चाडबाडको समय पारेर केही कर्मचारीको मिलेमतोमा नक्कली ऋणीका नाममा ऋण प्रवाह गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘नक्कली ऋणी खडा  गरेको देखिएपछि हामीले सूक्ष्म अध्ययन गर्‍यौं,’ सूचना अधिकारी अधिकारीले भने, ‘अनुसन्धानका क्रममा अधिकारको दुरुपयोग गरी बैंकलाई नोक्सानी पुर्‍याएको देखिएपछि हामीले प्रहरीमा प्रतिवेदन बुझाएका छौं  ।’

बैंक प्रशासनले उक्त शाखाको सञ्चालन विभाग प्रमुख (अपरेशन हेड) रोजी कँडेललाई मुख्य योजनाकारका रूपमा औंल्याएको छ । कँडेलले अन्य ४–५ जना कर्मचारीको ‘युजर आइडी’ समेत दुरुपयोग गरेर ऋण स्वीकृत गराएको बैंकको दाबी छ । यद्यपि, बैंक स्रोतका अनुसार यो प्रकरणमा कँडेल एक्लैको संलग्नता नभई अन्य उच्च तहका कर्मचारीहरूको पनि मिलेमतो छ ।

घोटाला सार्वजनिक हुनुपूर्व नै बैंकले आन्तरिक रूपमा क्षतिपूर्तिको प्रयास गरेको बुझिएको छ । बैंकले रोजी कँडेलको परिवारबाट ७ करोड रुपैयाँ बराबरको जग्गा धितो राखेर मात्र फागुन २८ गते प्रहरीमा जाहेरी दिएको थियो । अर्कोतर्फ, मुख्य आरोपित भनिएकी रोजी कँडेलले भने आफूलाई मात्र निशाना बनाइएको र अन्य दोषीलाई जोगाउन बैंकले फसाउन खोजेको दाबी गरेकी छन् । उनले पनि जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएकी छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले बैंक उजुरी परेको पुष्टि गर्दै गम्भीरताका साथ अनुसन्धान भइरहेको बताए । ‘बैंकको जाहेरीपछि हामीले अनुसन्धान प्रक्रिया अघि बढाएका छौं’, एसपी कटवालले भने, ‘केही प्राविधिक र प्रशासनिक विषयमा स्पष्ट हुन बैंकलाई पत्र समेत लेखिएको छ । अनुसन्धानपछि मात्रै यो प्रकरणमा अरु को–को संलग्न छन् भन्ने स्पष्ट हुनेछ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.