झुसिल्किराबाट  विद्यार्थी आतंकित

झुसिल्किराबाट  विद्यार्थी आतंकित
बारपाक सुलिकोट—३ खारचोक भन्ज्याङस्थित अकला आधारभूत विद्यालय । अन्नपूर्ण
सुन्नुहोस्

गोरखा : झुसिल्किराका कारण बारपाक सुलिकोट गाउँपालिका—३ खारचोक भन्ज्याङस्थित अकला आधारभूत विद्यालयका शिक्षक र विद्यार्थी हैरान भएका छन्। कक्षाकोठा, आँगन, भित्ता जताततै झुसिल्किरा देखा पर्दा शिक्षक, विद्यार्थी बिरामी पर्न थालेको र पठनपाठन पनि प्रभावित भएको शिक्षिका पवित्रा तामाङले जानकारी दिइन्।

विद्यालयको वरिपरि उतिसको जंगल छ। सुक्खा मौसम लागेयताको एक महिनामा उत्तिसमा लागेका झुसिल्किरा कक्षा कोठामा आएर सताएको शिक्षिका तामाङले बताइन्। ‘सानो कुरा जस्तो लाग्छ, तर वरिपरिको उत्तिसको जंगलबाट आएको झुसिल्किराले कक्षा कोठाको भुइँ, डेक्स, बेन्च, जस्ताको छानो, भित्ता कतै पनि खाली छैन’, उनी भन्छिन्, ‘माघको अन्तिम, फागुनको सुरुदेखि झुसिल्किरा लागेर शिक्षक, विद्यार्थीको ज्यानभरि डाबर उठेको छ। आँखामा झुस परेर कैयौंजना बिरामी छन्। झुस बिझेर कन्याउँदैको हैरान व्यहोरिरहेका छौं। ज्यानभरि डाबर उठेपछि एलर्जीको औषधि खाइरहनु परेको छ। रातभरि कन्याएर सुत्न पनि सकिँदैन। विद्यार्थी केटाकेटीको उस्तै बिजोग छ।’ झुसिल्किराको झुस बिझेर बालबालिकाहरू ज्यानभरि तेल घसेर आउने गरेको उनी बताउँछिन्।

कक्षा १ देखि ३ सम्म पढ्ने विद्यार्थीका लागि ओछ्याएको कार्पेट झुसिल्किराले ढाकेपछि कक्षाकोठाबाट हटाइएको उनको भनाइ छ। विद्यार्थीलाई लाइब्रेरीमा लगेर पढाइएको उनले बताइन्। ‘हावाहुरी चल्न थालेपछि झुस उँडाएर आँखामा पर्ने गर्छन। बिरामीहरू काठमाडौं गएर उपचार गराएका छन्’, उनी भन्छिन्, ‘विद्यालयले समस्या समाधान गरिदिन शिक्षा शाखा र गाउँपालिकाका जनप्रतिनिधिलाई आग्रह गरेका थियौं। विषादी प्रयोग गर्न पनि हुँदैन भन्नुभयो। अवस्था उस्तै छ।’

विद्यालयको समस्याबारे फागुन २६ गते बसेको कार्यपालिका बैठकमा कुरा राखेको वडाध्यक्ष बलबहादुर गुरुङ बताउँछन्। ‘हामीले वरिपरिको रुख ढालेर समस्या समाधान हुन्छ कि भन्ने सोचेर तीनवटा रुख ढाल्यौं तर त्यसो गर्दा जंगलको झुसिल्किरा झन् विद्यालयमा आउँदा रहेछन्’, वडाध्यक्ष गुरुङले भने, ‘समस्या घट्लाभन्दा झन बढ्यो। गाउँपालिकाले पनि विषादी प्रयोग गर्नुहुन्न भनेर प्रयोग गर्न दिएन।’ समस्या ज्यूँका त्यूँ रहेको उनले बताए। केही दिनयता पानी परेकाले झुस उड्ने समस्या भने केही कम भएको शिक्षिका तामाङको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.