देउडामा गाउँको सम्झना

गीतसंगीत

देउडामा गाउँको सम्झना
सुन्नुहोस्

ए ! गोठाला तेरीखर्क चराउन्या बन छैन
उडिझाऊ त पंखी छैन बसन्या मन छैन।

बझाङ तलकोट बेदकाली गाउँका जयकृष्ण उपाध्याय र हरिकृष्ण उपाध्यायले गाउँको पटांगिनीमा गाएको गीत हो माथिको। दुवैजना भैंसीपालन गर्न सिपालु छन्। ३० वर्षसम्म लेकाली भेग तिल्याली, साँगीछणा, बगिउर, थाप्लालगायतका खर्कमा बास बसी भैंसीपालन गरे। दुईजना मात्र होइनन्, गाउँका उनीसँगै कृष्ण खनेडा, चन्द्रदेव उपाध्याय, परमानन्द उपाध्याय, काशी उपाध्याय, प्रेमलाल, धनभक्त उपाध्याय, कुलराज उपाध्याय, मनराज उपाध्याय, कैलाश उपाध्याय आदिले पनि भैंसीपालन गरे, वनजंगलको रेखदेख गरे। उहाँहरू दिवंगत भई सक्नुभयो। गाउँका तीनजना गोठाला जयकृष्ण, हरिकृष्ण, बालकृष्ण वृद्ध भए।

संघीय राजधानीमा आएर देउडा गीतको स्वर र लेखनीबाट श्रीवृद्धि गरिरहेछु। हामी सबैको मिलन गत फागुन २१ गतेको राष्ट्रिय चुनावले गरायो। युवा पनि भारतको बम्बै, बैंगलोर, भूपाल, नैनीताल, दिल्लीलगायतका सहरबाट मताधिकार प्रयोग गर्न जन्मभूमि आए। थोरै दिनको साहुबाट बिदा मागी घर आएका उनीहरू देउडा गीतको रौनकमा खेल खेल्न अघि सरे। गाउँको बीच भागमा बसीबसी गीत गाए, आआफ्नो प्रेमसम्बन्ध नवीकरण गरे। बसेर पनि देउडा गीत गाउने पुरानो चलन जीवित राखे। कानमा हात राखी, अबिर र चन्दन लगाई भलाभली भाका सामूहिक स्वरमा सुनाउने पुरानो चलन पनि छ गाउँघरमा। गाउँ कुरेर बसेका भाउज्यू, बुहारीहरूले पनि कामलाई थाती राखी परदेशबाट आएकाहरूका गीत सुने। कानमा औंला राखी, कपालमा मुन्याठो राखी एकनाशले रमिता मानी राजनीतिका नाराहरू बिर्सेर देउडामा रमाए।
आँखा आँसु मुटु दुःख बगिरहन्छन् धारा
बैरागीको मन बुझाउन्या कोइछैन सहारा।

गीतांगी पुरनदेवी जोशी (वेदकाली) भन्छिन्, अहिले देश, परदेशबाट सबैजना घर फर्के, गाउँ उज्यालो भयो। लोग्न्या माइस (लोग्नेमानिस) फेरि परदेश गएपछि गाउँ अध्यारो हुन्छ, घरका ढोका लाग्छन्। हामी महिला वर्गको काम घर कुर्नु, खेतीपाती गर्नुमात्र हुन्छ। कसरी हामी महिला वर्गले जीवन बिताउनु ? प्रश्न र चिन्ता दिनप्रतिदिन बढिरहेछ। तलकोट बेदकाली गाउँ, उदाहरणमात्र हो। तलकोट दरा (बाक्लो बस्तीलाई दरा भनिन्छ), आठबिस दरा, पन्ध्रबिस दरा, छबिस दरा आदिमा दसैं, तिहार, बिसु र गौरापर्वमा युवाहरू जन्मभूमि फर्कन्छन्। बाँकी समय कामको खोजीमा भारत पस्ने चलन पुरानो हो। केही हुने खाने युवाहरू, मलेसिया, खाडी मुलुकमा पनि पुगेका छन् भन्छन् गाउँका पुराना व्यक्ति हीरा उपाध्याय। समस्याका चाङले थुप्रिएको प्रदेश हो सुदूरपश्चिम। प्राकृतिक सुन्दरताले भरिएको भएता पनि, सम्भावनाका उपाए देखा परेता पनि युवा विदेश पलायन हुनु चिन्ताको विषय छ। सुन्दर सुदूरपश्चिमलाई सम्भावनाको सुदूरपश्चिम बनाउनु भावी सरकारको कर्तव्य हुन आउँछ।
आमाले हाल्याका रोटा अमृतभन्दा मीठा 
गीत गाउँछन् ढप (लय) पनि हाल्छन् सुदूरका ठिटा। 

बझाङ छान्ना खप्तडका रमानन्द जोशीले रचना गरेको गीत हो माथिको। हुन पनि आमाभन्दा मातृत्व दिन सक्ने शक्ति अर्को छैन। देउडा गीतजस्तो सांस्कृतिक र सामाजिक भावधारा दिन सक्ने विधा अर्को छैन। आमा र देउडा गीत एउटै हुन् भन्छन्, बझाङ शुर्मा दौलीचौरका अतीत बोहरा। साइपाल हिमालबाट बग्दै आएकी सेतीनदी र अपिबाट बग्दै आएकी महाकाली नदीको सङ्लो जलधारा जस्तै हो, जति लोटा, गाग्री पानी भरे पनि रित्तिन्नन् नेपालका नदी भने झैं जति भाक्या (लय)मा गीत गाए पनि सदावहार भएर फैलिरहन्छन् भन्छन् महाकाव्यकार तथा चिन्तक मणिराम जोशी (धनगढी)।

चुनावी गीतहरू पनि देउडा लयमा ठाउँठाउँमा सुनिए, केही माहौल त बन्यो मताधिकारका लागि। तर ती गीतहरू हरेक राजनीतिक दलका भएका कारण वास्तविक देउडा पारखीहरूको मन छुन न सकेको बताउँछन् तलकोटका रामबहादुर सिंह, कृष्णदत्त उपाध्याय। हुन पनि आँधीबेहेरीजस्तै भयो फागुन महिनाको राजनीति। देउडा गायन र देउडाखेलका अगाडि राजनीतिक गीतहरू सामान्य हुन्। जनजनमा मनमनमा देउडा संस्कृति यति घुलमिल भएको छ, जसलाई सबै वयका नरनारी सहजै स्वीकार्छन्। त्यसैले त कर्णाली र सेती महाकाली प्रदेशमा जन्म लिने जो कोही मानिस आँसुकवि कहलिन्छन्। विचार र विकासको द्रूततर गतिको अभावका कारण समाजमा आदिकालदेखि दबिएका छन्। केही सर्जकले यस क्षेत्रमा मौका पाए पनि गीत गाउँदा रुवाउने र हँसाउने हजारौं आँसुकवि, काव्यकार बस्तीबस्तीमा बसेका छन्।
पूर्व पण्यो अर्जुनधारा पाण्डुसैन जुम्ला
दोकरीकी सेल हौला चलन्या रेल हौला।

सामान्य साक्षर भएकी डोटीकी कल्पना खड्काले रचेको देउडा गीतको रहस्य, ठाउँ विशेषको परिचय कसरी दिलाएको छ ? आफैंमा बुझ्न लायक छ। यस्ता सर्जकलाई आँसुकवि नभनी केको संज्ञा दिने ? सुदूरपश्चिमको महत्त्वपूर्ण बिसु पर्व नजिकिँदै छ। अहिले कामका लागि भारत पसेका सयौं युवा घर फर्कने कुरामा शंका गर्छिन् गृहिणी जानु उपाध्याय (वेदकाली)। ‘चुनावमा आएका माइस फेरि कसरी छटी आउन्या घर ?’ गाउँको ठेट भाषामा बोल्दै चुनावमा आएपछि पुनः बिसुपर्वमा आउन मुस्किल छ लोग्नेमानिस घर फर्कन भन्छिन्।
तलकोट भनी न बिर्सनु साग सिस्नु खाई झानु
मौसर गौण्या भिट् भयो बिसुखी आइझानु। 

तलकोट वेदकाली गाउँका ७० वर्षीय हरिकृष्ण उपाध्यायको मनको गीत हो माथिको। बालकालको सम्झनामा, काँठाकापानी, रौतिमेला, बुँधाकाडाडा, पतिउणी, स्याडालगायतका वनजंगलमा गाईबस्तु पाठो बाख्रो चराएको, अन्नी फाँको बाँडेर खाएको, सँगसँगै गीत गाएर रामरमिता गरेको सम्झना गर्छन् देउडा गीतका पारखी हरिकृष्ण। गाउँका रामरमिता गर्ने व्यक्तिहरू महारुद्र, ज्योतिष कर्णदेव, विष्णुभक्त, शिवराज बितेर गए। तर संस्कृति जीवित छ। तलकोट शिक्षाका ज्योति तथा दुर्गाभवानी माविका संस्थापक देवीचन्द्र जोशी, अभिभावक शुकदेव उपाध्याय पनि बितेर गए। तर देउडा गीतका विविध कार्यक्रम नव पिँढीले निरन्तर चलाई रहन्छन्। त्यसैले त जन्मभूमिको याद आइरहन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.