धादिङ अस्पताल र मृतकका परिवारबीच ४ बुँदे सहमति
धादिङ : जिल्ला अस्पताल, मृतकका परिवार र प्रहरीबीच आज ४ बुँदे सहमति भएको छ। धादिङको नीलकण्ठ नगरपालिका–१३ की १८ वर्षीया मिरा आचार्यको उपचारका क्रममा मृत्यु भएपछि उत्पन्न तनाव सहमतिपश्चात हटेको छ।
घटनापछि अस्पताल परिसर केही समय तनावग्रस्त बनेको थियो। मृतकका आफन्तहरूले उपचारमा लापरबाही भएको आरोप लगाउँदै विरोध जनाएका थिए। स्थिति जटिल बन्न नदिन जिल्ला प्रहरी कार्यालय धादिङको समन्वयमा तीन पक्षबीच वार्ता गरिएको थियो।
वार्तापछि घटनाको निष्पक्ष छानबिन गर्ने, दोषी देखिए कानुनी कारबाही अगाडि बढाउने तथा पीडित परिवारलाई आवश्यक सहयोग गर्ने सहमति भएको छ। सहमतिसँगै अस्पतालको वातावरण सामान्य बन्दै गएको र सेवा पुनः नियमित रूपमा सञ्चालनमा आएको अस्पताल प्रशासनले जनाएको छ।
घटनाको सत्यतथ्य पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरिएको छ। समितिमा जिल्ला प्रहरी प्रमुख, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) सदस्य सचिव, एक वरिष्ठ सर्जन (विज्ञ) तथा पीडित पक्षबाट एक महिला र एक पुरुष प्रतिनिधि रहने छन्।
समितिलाई ३० दिनभित्र छानबिन प्रतिवेदन सार्वजनिक गर्ने जिम्मेवारी दिइएको छ। साथै, मृतकको शवको पोस्टमार्टम भोलि बिहान धादिङ अस्पतालमै गरिने सहमति भएको छ।
प्रतिक्रिया दिनुहोस !