कांग्रेसमा समानान्तर गतिविधि

संस्थापनद्वारा गगनको राजीनामा अस्वीकृत, देउवा पक्षद्वारा केन्द्रीय समिति आह्वान

कांग्रेसमा समानान्तर गतिविधि

काठमाडौं : चुनावमा सुसुप्त कांग्रेसको आन्तरिक विवाद फेरि सतहमा देखिन थालेको छ। विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय समितिले सभापति गगन थापाको राजीनामा अस्वीकृत गरेको छ। उता शेरबहादुर देउवा पक्षले आफू पार्टीको आधिकारिक समूह भएको दाबी गर्दै केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ।

तत्कालीन संस्थापन देउवा पक्षको सहभागिताबिनै विशेष महाधिवेशन गरेर थापाको नेतृत्वमा गठित कार्यसमितिको आइतबार बैठक बसेको थियो। चुनावमा पार्टीको शर्मनाक हार भएको भन्दै सभापति थापाले पदबाट दिएको राजीनामालाई बैठकले अस्वीकृत गर्ने निर्णय गरेको थियो। यद्यपि, चुनावमा भएको हारको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थापा स्वयं भने बैठकमा सहभागी थिएनन्। उनी बस्ने कुर्सी खाली राखिएको थियो भने बैठकको सभापतित्व उपसभापति विश्वप्रकाश शर्माले गरेका थिए। सभापति थापा पारिवारिक भ्रमणमा पोखरा पुगेका थिए। 

शुक्रबार र आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले थापाको  राजीनामा अस्वीकार गर्ने प्रस्ताव पारित गरेको हो। उपसभापति शर्माले सभापतिको राजीनामा अस्वीकार गर्ने प्रस्ताव बैठकमा पेस गरेका थिए। उक्त प्रस्ताव अस्वीकार भएको प्रवक्ता देवराज चालिसेले जानकारी गराए। ८ वटा आधारसहित सभापतिको राजीनामा अस्वीकार गर्ने निर्णय भएको प्रवक्ता चालिसेले जानकारी दिए। 

संरचनागत समस्या तथा नियन्त्रण बाहिरका परिस्थिति, वर्तमान राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति भएको, राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेकाले, राजीनामा बाध्यकारी नभई नैतिक र स्वेच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएको लगायतका कारण रहेको प्रवक्ता चालिसेले जानकारी दिए। 

उनका अनुसार सामूहिक जिम्मेवारीको सिद्धान्त तथा पार्टी नेतृत्वको स्थायित्वको आवश्यकताको सिद्धान्तमा आधारित रहेकाले, विशेष महाधिवेशनपश्चात् प्रारम्भ गरिएको सुधार कार्यक्रम (कांग्रेस  २.०) कार्यान्वयनको निरन्तरता आवश्यक रहेकाले, पार्टीलाई आगामी १५औं महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने आवश्यकता भएको, केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबाट सर्वसम्मत निर्णय भएको कारण थापाको राजीनामा अस्वीकृत गरिएको हो। बैठकमा उपसभापतिद्वारा प्रस्तुत विषयमाथि ८८ जना सदस्य तथा पदाधिकारीले धारणा राखेका थिए। 

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर यसको नैतिक जिम्मेवारी लिँदै उपसभापति समक्ष विधानको धारा २६ (१) बमोजिम पेस गरेको राजीनामालाई केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको छ।’

उपसभापति शर्माले चरम गुटबन्दी तथा आन्तरिक असहयोगका कारण संगठनात्मक शक्ति कमजोर हुनु, गठबन्धन सरकारको कार्यसम्पादनमा जनअपेक्षाविपरीत परिणाम देखिनु र बिगतका शासन व्यवस्थाका संरचनागत कमजोरीहरूका कारण जनआक्रोश बढ्नुले चुनावमा पार्टीले हार बेहोरेको २७ बुँदे प्रस्ताव पेस गरेका थिए। 

प्रवक्ता चालिसेले कम्तीमा २१ वटा क्षेत्रमा अन्तरघातका कारण पार्टीले नराम्रोसँग पराजय भोग्नुपरेको निष्कर्ष निकालिएको जानकारी दिए। चालिसेले ५ देखि ३ हजारभन्दा कम मतान्तरले हारिएका क्षेत्रहरूमा मुख्यतः पार्टीकै आन्तरिक कारण जिम्मेवार रहेको दाबी गरे। null

देउवा पक्षले  समानान्तर गतिविधि गर्ने 
पूर्वकार्यवहाक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा शीर्ष नेताहरूबीच शेरबहादुर देउवा पक्षको पूर्वसंस्थापन पक्षको बैठक आइतबार बसेको थियो। शेखर कोइराला समूह पनि सम्मिलित उक्त बैठकले पुरानो केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको थियो। 

बैठकमा नेताहरू खड्का, शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत, मीनेन्द्र रिजाल, धनराज गुरुङ, जीवन परियार, बद्री पाण्डेलगायत सहभागी थिए। 

बैठकले केन्द्रीय समितिको मिति तोक्ने जिम्मेवारी कार्यवहाक सभापति खड्कालाई दिएको छ। ‘१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय भएको छ,’ देउवा पक्षीय नेता मीन विश्वकर्माले भने, ‘ पार्टीको हारमा कारणहरूमाथि छलफल गर्न बैठक बोलाउन लागेको हो। चुनावमा पार्टीको शर्मनाक हारको कारण माथि छलफल गर्न बैठक बोलाउने निर्णय भएको हो। यसलाई विषयान्तर गर्नु आवश्यक छैन।’

निवर्तमान सहमहामन्त्री जीवन परियारले कार्यवहाक सभापति खड्काको सभापतित्वमा भएको बैठकमा समसामयिक विषयमा छलफल भएको बताए।  ‘पूर्णबहादुर दाईको नेतृत्वमा बैठक बस्यौं,’ उनले भने, ‘समसामयिक राजनीतिकै विषयमा छलफल भयो। निर्वाचनबारे सामान्य समीक्षा पनि भयो।’ देउवा पक्षले बोलाएको बैठकमा गगन थापा र विश्वप्रकाश शर्मालाई भने नबोलाउने निर्णय भएको देउवा पक्षधर नेताहरू बताउँछन्। 

देउवा पक्षले तत्कालीन महामन्त्रीद्वय थापा र शर्मालाई कारबाही गरेका कारण बैठकमा नबोलाउने निर्णय भएको देउवा पक्षधर नेताहरू बताउँछन्। यद्यपि, कांग्रेसको आधिकारिता बारेको विवाद सर्वोच्च अदालतमा विचाराधीन छ। अदालतले मुद्दाको पेसी चैत २२ गतेलाई तोकेको छ। तर, देउवा पक्षले चुनाव सकिएको भन्दै अन्तिम फैसला नआए पनि समानान्तर गतिविधिलाई तीव्रता दिने निर्णय गरेको छ। 

देउवा निकट नेता कृष्णप्रसाद सिटौलाले भने, ‘हामी अहिले अदालतको पैmसला कुरेर बसेका छौं। नेताहरूबीच भेटघाट हुनु छलफल हुनु समीक्षा हुनु ठूलो विषय होइन। अब १५औं महाधिवेशनमा कसरी कुन प्रक्रियाबाट जाने भन्ने महत्वपूर्ण छ। अदालतको आदेश आएपछि हामी एउटा धारणा बनाउँछौं। अहिलेको केन्द्रीय समिति जसरी अगाडि बढेको छ निर्वाचनको समीक्षाभन्दा व्यक्ति केन्द्रित छलफलमा बिताएको छ।’

पार्टीलाई एकताबद्व बनाउन विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले कुनै पहल नगरेको आरोप लगाउँदै देउवा पक्षीय नेता रामहरि खतिवडा भन्छन्, ‘सभापतिजीले कोहीसँग पनि संवाद गर्नुभएको छैन। सिंगो कांग्रेसमा अहिले संवाद हिनताको स्थिति छ। उहाँका केही सीमित साथीहरूको अघिपछि घेरिनुभएको छ। पार्टीमा सिनियर पनि जुनियर पनि चाहिन्छ होला कि ५०, ६० वर्षका आउट गर्ने र नयाँलाई मात्र लिने भन्ने हुँदैन होला। सबैलाई लिएर हिँड्ने प्रस्ताव सबैबाट आउनुपर्छ। अहिले एउटाले अर्कोलाई दोषारोपण गरेर हिँड्ने हैन जनताले दोषारोपण गरेको हेक्का राख्नुपर्छ। जुन बैठक भनिएको छ। त्यो नितान्त अनौपचारिक छलफलमा नेताहरू जुट्नुभएको छ। यो हुनुपर्छ, छलफल हुनुपर्छ अन्तिममा एकै ठाउँमा बस्नुको विकल्प हुँदैन।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.