वृद्धभत्ता संगालेर विद्यालयमा अक्षयकोष

वृद्धभत्ता संगालेर विद्यालयमा अक्षयकोष
सुन्नुहोस्

गोरखा : उत्तरी गोरखाको मान्बु गाउँका एक दम्पतीले वृद्धभत्ताको रकम संगालेर स्थानीय विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्। आरुघाट गाउँपालिका-२ मान्बुका मानबहादुर र पदमकुमारी कार्की दम्पतीले ८० औं जन्मदिनको अवसर पारेर स्थानीय भवानी माविमा अक्षयकोष स्थापना गरेका हुन्।

विद्यालयको छात्रवासमा बस्ने बालबालिकालाई सहयोग पुर्‍याउने उद्देश्यले ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका प्रधानाध्यापक काजीराम कार्कीले जानकारी दिए। ‘उहाँ दुवै जनाको वृद्धभत्ता संगालेर ५० हजार रुपैयाँ बनाउनु भएको रहेछ। आज ८० वर्ष पुगेको अवसरमा यो पैसाले छात्रावासमा बस्ने विद्यार्थीहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गर्नुभयो’, प्रअ कार्कीले भने, ‘त्यति पैसाको अक्षयकोष राष्ट्रिय वाणिज्य बैंकको आरुघाट शाखामा राख्ने र त्यसको प्रत्येक वर्ष आउने ब्याजको रकमले एकदिन पुग्छ कि, दुई दिन पुग्छ कि जति दिनलाई पुग्छ पुगोस् खाजा, खान दिने भनेर अक्षयकोष स्थापना गर्नुभएको हो।’

भवानी माविको हिमाली छात्रावासमा १७० जना विद्यार्थी बस्छन्। विशेषगरी हिमाली भेगबाट आउने विद्यार्थीहरु बस्ने प्रअ कार्कीले बताए। ‘हिमाली छात्रवास कार्यक्रम अन्तर्गत यहाँ हिमाली भेग, दुर्गम क्षेत्रबाट आएका, अत्यन्त गरीब बालबालिका बस्छन्’, प्रअ कार्कीले भने, ‘उनीहरुलाई खाने खर्च त सरकारले ब्यहोर्छ, तर खाजा खर्च हुँदैन। त्यसैले खाजा खर्चमा टेवा पुगोस् भनेर उहाँहरुले सहयोग गर्नुभएको हो।’

यसअघि २०७९ सालमा उनै कार्की दम्पतीले वृद्धभत्ताको रकम जम्मा गरेर गाउँमा चौतारो निर्माण गरेका थिए। ‘मेलापात गर्न जानेआउने तथा मसानघाट जानेआउनेहरुलाई सजिलो होओस् भनेर करिब दुईलाख रुपैयाँ लागतमा थलाचोकबेशीमा चौतारो बनाउनुभयो’, प्रअ कार्कीले भने, ‘अर्को वर्षको वृद्धभत्ता बटुलेर थलाचोकबेशीमा शिव मन्दिर बनाउनु भयो। यसवर्ष अक्षयकोष स्थापना गर्नुभयो।’ 

खेती किसानी गरेरै जीवन गुजारा गरेका कार्की दम्पतीको सन्तान एक छोरी मात्र हुन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.