हेलम्बुले सुरु गर्यो पालिकाबाटै कर सेवा
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले स्थानीयलाई करसम्बन्धी सेवा लिन अन्यत्र जान नपरोस् भन्ने ध्येयले पालिकाबाटै कर सेवा सुरु गरेको छ ।
आन्तरिक राजस्व कार्यालय काभ्रेपलाञ्चोकबीच सेवा प्रवाह विकेन्द्रीकरण गर्दै स्थानीय तहबाटै कर सेवा उपलब्ध गराउने उद्देश्यले पालिकासँग समझदारी–पत्रमा हस्ताक्षर गरेपछि सेवा शुभारम्भ गरिएको हो । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्माका अनुसार समझदारीसँगै अब स्थायी लेखा नम्बर (प्यान) दर्ता, कर चुक्ता, करसम्बन्धी सिफारिसलगायतका सेवा हेलम्बु गाउँपालिकाबाटै उपलब्ध हुने भएका छन् । यसले स्थानीय नागरिक तथा व्यवसायीलाई सेवा लिन टाढा धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको उनले बताए ।
समझदारी–पत्र हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्मा, प्रमुख कर अधिकृत अनमोलकुमार दाहाल, प्रमुख प्रशासकीय अधिकृत बेनीबहादुर मोक्तान, वडा नं १ का वडाध्यक्ष दावा ग्याल्जेन लामा लगायत जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाको उपस्थिति थियो । ‘संघीयताको मर्मअनुसार सेवा नागरिकको नजिक पुर्याउने लक्ष्यसहित समझदारी गरिएको छ, अब करसम्बन्धी सेवा लिन धुलिखेल जानुपर्ने बाध्यता अन्त्य हुनेछ,’ उनले भने ।
प्रमुख कर अधिकृत दाहालले सेवा सरलीकरण नीतिअनुसार स्थानीय तहबाटै राजस्व सेवा उपलब्ध गराउने कार्य अघि बढाइएको जनाउँदै यस सहकार्यले कर प्रणालीलाई थप पहुँचयोग्य बनाउने धारणा राखे । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत मोक्तानले सेवा प्रवाहलाई प्रविधिमैत्री, पारदर्शी र प्रभावकारी बनाउँदै नागरिकलाई छिटो सेवा दिने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस !