सरकारको बागडोर बालेनको हातमा : नेपालमा को, कति समय बने प्रधानमन्त्री ?
३६ वर्षीय बालेन लोकतान्त्रिक गणतन्त्र स्थापनापश्चातका कान्छा प्रधानमन्त्री हुन्।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेपालको प्रधानमन्त्री बनेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम सांसद शाहलाई शुक्रबार बिहान नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्।

बिहीबार रास्वपाको केन्द्रीय समिति बैठकले बरिष्ठ नेता शाहलाई संसदीय दलको नेतामा सिफारिस गर्ने निर्णय गरेलगत्तै बसेको संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो। त्यसपश्चात रास्वपाले प्रधानमन्त्री कार्यालयमार्फत राष्ट्रपति कार्यालयमा संसदीय दलका नेता बालेनलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सिफारिस भएको थियो।
प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाले १८२ सिटसहित एकल बहुमत ल्याएकाले शाहलाई संविधानको धारा ७६ (१) अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। 
शाहले अब नेपालको बागडोर सम्हाल्नेछन्। वि.सं. २०४७ वैशाख १४ गते नरदेवीमा जन्मिएका र्यापरबाट परिचित शाह २०७९ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपश्चात जेठ १६ देखि २०८२ माघ ४ गते कार्यभार सम्हालेका थिए। उनी उम्मेदवारी दर्ताको केही दिन अगाडि मात्र रास्वपामा प्रवेश गरेका हुन्। प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन हुने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रहने गरी दुई पक्षबीच सात बुँदे सम्झौतामा हस्ताक्षर भएसँगै उनीहरू निर्वाचनमा होमिएका थिए।
गणतन्त्रका कान्छा प्रधानमन्त्री बालेन
गणतन्त्र घोषणापश्चात नेपालमा तत्कालीन माओवादीबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराई, एमालेबाट माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली, नेपाली कांग्रेसबाट सुशील कोइराला र शेरबहादुर देउवा, खिलराज रेग्मी (अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष) प्रधानमन्त्री बनेका थिए। वि.सं. २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले ऐतिहासिक निर्णय गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। गणतन्त्र घोषणा हुँदा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए।यसबिचमा एमाले र माओवादीको गठबन्धनबाट चुनावमा गएर एकल बहुमत प्राप्त गर्दै २०७४ सालमा ओली प्रधानमन्त्री बनेका हुन्। पछि पार्टी एकता गरेर नेकपा बनाएपनि आन्तरिक द्वन्द्वका कारण पार्टी फुटेको थियो, त्यसपश्चात संसद् विघटन गरेकाले अदालतको आदेशबाट हटेका थिए।
यता, गत भदौ २३ जेनजी आन्दोलन र २४ गतेको विध्वंसपश्चात निर्वाचन गर्नका लागि सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा चुनिएको थियो। संसद् बाहिरबाट प्रधानमन्त्री बनेकी उनले पहिलो बैठकबाटै प्रतिनिधि सभा विघटन गरेकी थिइन्। उनीविरुद्ध अदालतमा मुद्धा विचाराधिन अवस्थामा नै छ।
यस अघि पटक पटक म्याद थप गर्दा पनि पहिलो संविधान सभा नयाँ संविधान निर्माण हुन नसकेपछि तत्कालीन प्रधानमन्त्री डा. भट्टराईले २०६९ जेठ १५ गते संसद विघटन गरेका थिए। त्यसपश्चात संविधानसभाको निर्वाचन गराउन बहालवाला प्रधानन्यायाधीश रेग्मीलाई अन्तरिम सरकारमा मन्त्रिपरिषद्का अध्यक्ष बनाएर सरकार गठन भएको थियो। देउवा र कोइराला ५/५ पटक, ओली ४ पटक, प्रचण्ड ३ पटक प्रधानमन्त्री बने। रास्वपाले यस अगाडि उपप्रधानमन्त्रीमा पठाएपनि पहिलो पटक सरकारको नेतृत्व गर्न लागेको हो।
नयाँ संविधान जारी भएपछि यस अगाडि कुनै दलले एकल बहुमत नल्याउँदा धारा ७६ (२) अनुसार सरकार गठन गर्ने गरेका थिए। अहिलेको संविधानबाट कुनै एक दलले बहुमत ल्याउन सक्दैन भन्ने भाष्य गत फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनले गलत साबित गरिदिएको छ। रास्वपालाई दुई तिहाई बहुमतका लागि २ जना सांसदमात्र कम भएको हो।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झापा निर्वाचन क्षेत्र नम्बर ५ मा पराजित गर्दै सांसद बनेका ३६ वर्षीय बालेन गणतन्त्र स्थापनापश्चातका कान्छा प्रधानमन्त्री हुन्। यद्यपी, गणतन्त्रभन्दा अगाडि नेपालमा राणा शासन कालमा जंगबहादुर राणा, कार्यवाहकको रुपमा कृष्ण राणा, पञ्चायत कालमा डा. तुलसी गिरी, सूर्यबहादुर थापा बालेनभन्दा कम उमेरमा प्रधानमन्त्री बनिसकेका छन्।
नेपालमा मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, मरिचमान सिंह श्रेष्ठ, लोकेन्द्रबहादुर चन्द, नगेन्द्रप्रसाद रिजाल, कीर्तिनीधि विष्ट, सुर्यबहादुर थापा, तुलसी गिरी, विश्वेश्वर प्रसाद कोइराला, सुवर्ण शमशेर ज.व.रा., के.आई. सिंह, टंकप्रसाद आचार्य, मातृका प्रसाद कोइराला, मोहन शमशेर ज.व.रा., पद्म शमशेर ज.व.रा., जुद्ध शमशेर ज.व.रा., भीम शमशेर ज.व.रा., चन्द्र शमशेर ज.व.रा., देव शमशेर ज.व.रा., वीर शमशेर ज.व.रा., रणोदिप सिंह राणा, बमबहादुर राणा, जंगबहादुर राणा र माथवर सिंह थापाले प्रधानमन्त्रीको कार्यभार सम्हालेका थिए। फत्यजङ्ग शाह, रणजङ्ग पाण्डे, पुष्कर शाह, रङ्गनाथ पौड्याल र भीमसेन थापालाई मुख्तियार पदमा राखिएको थियो।
हालसम्म को-को कति समय बने प्रधानमन्त्री ?
३९. सुशिला कार्की (अन्तरिम प्रधानमन्त्री)
वि.सं. २०८२/०५/२७ - २०८२/१२/
३८. केपी शर्मा ओली
वि.सं. २०७२/६/२५ – २०७३/४/१९
वि.सं. २०७४/११/३ – २०७८/१/३०
वि.सं. २०७८/१/३० – २०७८/३/२९
वि.सं. २०८१/०३/३१ – २०८२/०५/२६
३७. सुशील कोइराला
वि.सं. २०७०/१०/२८ – २०७२/६/२४
३६. खिलराज रेग्मी (अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष)
वि.सं. २०६९/१२/१ – २०७०/१०/२८
३५. डा. बाबुराम भट्टराई
वि.सं. २०६८/५/१२ – २०६९/११/३०
३४. झलनाथ खनाल
वि.सं. २०६७/१०/२३ – २०६८/५/११
३३. माधवकुमार नेपाल
वि.सं. २०६६/२/११ – २०६७/१०/२२
३२. पुष्पकमल दाहाल प्रचण्ड
वि.सं. २०६५ – २०६६
वि.सं. २०७३/४/१९ – २०७४/२/२३
वि.सं. २०७९/०९/१० – २०८१/०३/३१
३१. शेरबहादुर देउवा
वि.सं. २०५२ – २०५३
वि.सं. २०५८ – २०५९
वि.सं. २०६१ – २०६१
वि.सं. २०७४/२/२४ – २०७४/११/३
वि.सं. २०७८/३/२९ – २०७९/९/१०
३०. मनमोहन अधिकारी
वि.सं. २०५१ – २०५२
२९. गिरिजाप्रसाद कोइराला
वि.सं. २०४८ – २०५१
वि.सं. २०५४ – २०५५
वि.सं. २०५५ – २०५६
वि.सं. २०५६ – २०५८
वि.सं. २०६३ – २०६५
२८. कृष्णप्रसाद भट्टराई
वि.सं. २०४७ – २०४८
वि.सं. २०५६ – २०५६
२७. मरिचमान सिंह श्रेष्ठ
वि.सं. २०४३ – २०४६
२६. लोकेन्द्रबहादुर चन्द
वि.सं. २०४० – २०४२
वि.सं. २०४६ – २०४७
वि.सं. २०५३ – २०५४
वि.सं. २०५९ – २०६०
२५. नगेन्द्रप्रसाद रिजाल
वि.सं. २०३० – २०३२
वि.सं. २०४२
२४. कीर्तिनीधि विष्ट
वि.सं. २०२५ – २०२६
वि.सं. २०२८ – २०३०
वि.सं. २०३४ – २०३६
२३. सुर्यबहादुर थापा
वि.सं. २०२१ – २०२३
वि.सं. २०२३ – २०२५
वि.सं. २०३६ – २०४०
वि.सं. २०५४ – २०५४
वि.सं. २०६० – २०६१
२२. डा. तुलसी गिरी
वि.सं. २०१९ – २०२१
वि.सं. २०३२ – २०३४
२१. विश्वेश्वर प्रसाद कोइराला
वि.सं. २०१६ – २०१७
२०. सुवर्ण शमशेर ज.व.रा.
वि.सं. २०१५ – २०१६
१९. डा. के.आई. सिंह
वि.सं. २०१४ – २०१४
१८. टंकप्रसाद आचार्य
वि.सं. २०१२ – २०१४
१७. मातृका प्रसाद कोइराला
वि.सं. २००८ – २००९
वि.सं. २०१० – २०११
१६. मोहन शमशेर ज.व.रा.
वि.सं. २००५ – २००८
१५. पद्म शमशेर ज.व.रा.
वि.सं. २००२ – २००५
१४. जुद्ध शमशेर ज.व.रा.
वि.सं. १९८९ – २००२
१३. भीम शमशेर ज.व.रा.
वि.सं. १९८६ – १९८९
१२. चन्द्र शमशेर ज.व.रा.
वि.सं. १९५८ – १९८६
११. देव शमशेर ज.व.रा.
वि.सं. १९५७ – १९५८
१०. वीर शमशेर ज.व.रा.
वि.सं. १९४२ – १९५७
९. रणोदिप सिंह राणा
वि.सं. १९३३ – १९४२
८. बमबहादुर राणा
वि.सं. १९१३ – १९१४
७. जंगबहादुर राणा
वि.सं. १९०३ – १९१३
वि.सं. १९१४ – १९३३
६. माथवर सिंह थापा
वि.सं. १९०० – १९०२
मुख्तियार
५. फत्यजङ्ग शाह
वि.सं. १८९७ – १९००
वि.सं. १९०२ – १९०
४. रणजङ्ग पाण्डे
वि.सं. १८९६ – १८९७
३. पुष्कर शाह
वि.सं. १८९५ – १८९६
२. पं. रङ्गनाथ पौड्याल
वि.सं. १८९४ – १८९५
१. भीमसेन थापा
वि.सं. १८६३ – १८९४
प्रतिक्रिया दिनुहोस !