केन्द्राध्यक्षले नै प्रश्नपत्र ‘आउट’ गरिदिएपछि पुनः परीक्षाको बोझमा विद्यार्थी
नवलपुर : नवलपुरको देवचुलीस्थित भिमसेन आदर्श माध्यमिक विद्यालयका केन्द्राध्यक्ष आफैले बिज्ञान बिषयको प्रश्नपत्र आउट गरिदिएपछि नगरभित्रका सबै विद्यार्थी पुनः परीक्षा दिन बाध्य भएका छन् ।
कक्षा ८ को नगरस्तरीय आधारभुत तह उत्तीर्ण परीक्षाको गत बिहीबार सञ्चालित बिज्ञान बिषयको परीक्षा केन्द्राध्यक्ष महेन्द्र बिकले आउट गरिदिएका हुन् । नियमित केन्द्राध्यक्ष अग्नि भुसाल पोखरा तालिममा गएका बेला सो जिम्मेवारी प्राप्त गरेका बिकले प्रश्न पत्र आउट गरेको देबचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख राम शर्माले बताए ।

‘परीक्षा सुरु हुन अगावै मोबाइलमा फोटो खिचेर बिषयगत शिक्षक हुँदै विद्यार्थीसम्म प्रश्नपत्र पुगेको पाइयो’, शर्माले भने । उनले प्रश्नपत्र आउट गरेको प्रमाण आफूहरुले भेटेको भन्दै सम्वन्धित केन्द्राध्यक्षलाई नियम अनुसार कारबाही हुने बताए । नगरपालिकाले मंगलबारका लागि सो बिषयको पुनः परीक्षा हुने तालिका प्रकाशन गरेको छ ।
भिमसेन माबिले परीक्षा अगावै प्रश्नपत्र आउट गरेर आफ्ना विद्यालयका विद्यार्थीलाई दिएको भन्दै अरु विद्यालयले आपत्ति जनाएपछि नगरपालिका सो बिषयको परीक्षा पुन गर्ने निष्कर्षमा पुगेको शर्माले बताए । भिमसेन आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक अग्नि भुसालले आफू बिदामा रहेका बेला जिम्मेवारी सुम्पिएका ब्यक्तिबाट प्रश्नपत्र आउट हुनु दुःखद भएको बताए ।
उनले भने, ‘जिम्मेवार साथिबाट यस्तो होला भन्ने अपेक्षा थिएन, उहाँलाई नियमअनुसारका कारबाही हुन्छन् ।’ निमित्त केन्द्राध्यक्षको जिम्मेवारी पाएका बिकले परिक्षा अगावै प्रश्नपत्रको फोटो खिचेर सोहि विद्यालयका बिषयगत शिक्षकलाई दिएका थिए । उनले परीक्षा अगावै आफ्ना विद्यार्थीलाई प्रश्नपत्र दिएर तयारी गराएको प्रधानाध्यापक भुसालले स्विकार गरें । ‘हुन नहुने कुरा भयो, आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता विद्यालयको तर्फबाट गर्छु’, भुसालले भने ।
एक पटक दिईसकेको परीक्षा पुनः दिनुपर्ने भएपछि यसले विद्यार्थीहरुमा बोझ थपिएको छ । यसले उनीहरुलाई मानसिक असर पर्ने बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था जागृति युवा तथा बाल सरोकार नेपालका महासचिव दिपक शर्माले बताए । उनले भने, ‘बालबालिकालाई परीक्षाको बेलामा यसै पनि मानसिक रूपमा समस्या पर्ने गरेको देखेका छौं । झन एकै बिषयलाई २ पटक परीक्षा दिन पर्दाको समस्या, सोच र मानसिक हिसाबले समेत समस्या हुन्छ ।’ बालबालिकालाई सहज तरिकाले आफ्नो परीक्षा दिन सकिने वातावरण निर्माण गर्न सवै लाग्नु पर्ने उनले बताए । देवचुली नगरपालिकामा यो पटक कुल १,२७७ जना विद्यार्थीले कक्षा ८ को आधारभुत तह उत्तीर्ण परीक्षा दिईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस !