‘अघोषित युद्धविराम’ तोड्दै मैदानमा देउवा कांग्रेस
काठमाडौं : चुनावका कारण ‘अघोषित युद्धविराम’ रहेको नेपाली कांग्रेसभित्र समानान्तर गतिविधि देखिन थालेको छ। दुई दिनअघि पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको पक्राउको विरोधमा विज्ञप्ति निकालेको देउवा समूह मैदानमा नै आएको छ।
१४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षधरले नयाँ निर्वाचित सांसद्हरूलाई बधाई दिने प्रयोजन देखाउँदै सोमबार छुट्टै भेला गरेका छन्।
कांग्रेसका नेता पूर्णबहादुर खड्काले संख्यात्मक रूपमा कम भए पनि सांसदहरूले देश र जनताको पक्षमा प्रभावकारी भूमिका खेल्नुपर्ने बताए। देउवा–शेखर कोइराला समूहको भेलामा बोल्दै खड्काले लोकतन्त्र र प्रजातन्त्रका लागि कांग्रेसले खेलेको ऐतिहासिक भूमिकालाई ध्यानमा राख्दै सांसदहरूले संसद्मा सक्रिय रूपमा प्रस्तुत हुनुपर्ने बताए। उनले भने, ‘संख्याको हिसाबले कम भए पनि तपाईंहरू लोकतान्त्रिक आन्दोलनको धरोहर बोकेर संसद्मा हुनुहुन्छ। जनताको हक–अधिकार सुनिश्चित गर्न प्रखर भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास छ। ’
कांग्रेसभित्र पछिल्लो समय आन्तरिक विवाद तीव्र बनेको छ। माघ १ मा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएसँगै पार्टीभित्रको मतभेद झनै बढेको हो। शेरबहादुर देउवा र शेखर कोइराला समूहले उक्त महाधिवेशनलाई अझै पूर्णरूपमा स्वीकार गरेका छैनन् भने विवाद सर्वोच्च अदालतमा विचाराधीन छ।
यद्यपि, निर्वाचनमा अधिकांश उम्मेदवारहरूले थापा नेतृत्वबाटै टिकट लिएर चुनाव लडेका थिए। पछिल्लो समय पार्टीभित्र समानान्तर गतिविधि बढ्दै गएको छ। केन्द्रीय कार्यालयमा गगन थापा पक्षका बैठक नियमित भइरहेका छन् भने देउवा–कोइराला समूहले होटलहरूमा छुट्टै छलफल गर्दै आएका छन्। सोमबारको भेलामा उक्त समूहका सांसद तथा शीर्ष नेताहरूको उपस्थिति थियो। कार्यक्रममा खड्काले संसद्को अनुभव भएका नेताहरूले नयाँ सांसदहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाए। ‘संसदीय अनुभव भएका साथीहरू सधैं तपाईंहरूको साथमा रहनेछन्। आवश्यक परे जुनसुकै बेला सहयोगका लागि सम्झिन सक्नुहुन्छ,’ उनले भने। उनले नवनिर्वाचित सांसदहरूलाई कानुन निर्माण, संविधानको कार्यान्वयन तथा जनअधिकारका विषयमा दृढतापूर्वक प्रस्तुत हुन आग्रह गरे।
कांग्रेसका नेता डा. शेखर कोइरालाले यस्ता भेलाहरूलाई सामान्य गतिविधि भएको बताए। ‘यस्ता भेटघाट नयाँ होइनन्, पहिलादेखि नै हुँदै आएका छन्। यसलाई ठूलो विषय बनाउनु आवश्यक छैन,’ उनले भने। उनका अनुसार भेलामा संसद्मा उठाउनुपर्ने विषय, वर्तमान राजनीतिक अवस्थाबारे छलफल तथा सुझाव आदान–प्रदान गरिएको थियो।
कांग्रेस नेता रामहरि खतिवडाले निर्वाचनपछि समीक्षा र छलफल हुनु स्वाभाविक प्रक्रिया भएको बताए। उनले पार्टीभित्र एकता कायम गर्न आन्तरिक संवाद आवश्यक रहेकोमा जोड दिए। ‘महाधिवेशनको विषयमा नेताहरूबीच मतभेद छ। पार्टी एकता कायम गर्न संवाद आवश्यक छ,’ उनले भने। नेता खड्काले प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका सांसदहरूले एकताबद्ध भएर जनताको पक्षमा काम गर्नुपर्ने धारणा राखे।
फागुन २१ मा सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ३८ सिट जितेको थियो। जितेका सांसदहरू दुवै पक्षमा छन्। पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको पक्राउको विषयमा पनि कांग्रेसमा दुई धार छ। देउवा–कोइराला पक्षधर एमालेसँगै आन्दोलनमा छ भने गगन पक्षधरले संयम अपनाउने भन्दै मौनता साँधेको छ।
प्रतिक्रिया दिनुहोस !