साउदीले फेला पार्यो तेल आपूर्तिको बैकल्पिक मार्ग, हुथीले गर्लान् अवरोध ?
बेलायत : तेलको अभाव झेलिरहेको विश्वले यस महिनाको सुरुवातमा केही राहत पायो । साउदी अरेबियाले नाकाबन्दी गरिएको हर्मुज जलडमरूमध्य हुँदै जाने कच्चा तेलका लाखौं ब्यारेललाई आफ्नो रातो सागरस्थित यान्बु बन्दरगाहतर्फ मोडेपछि केहि राहत मिलेको हो ।
तर सप्ताहन्तमा इरान समर्थित हुथी लडाकुहरू युद्धमा होमिए । जसका कारण वैकल्पिक जीवन रेखालाई समेत काट्ने खतरा बढेको छ । अनुसन्धान संस्था एनर्जी एस्पेक्ट्सका सह–संस्थापक तथा भू–राजनीति प्रमुख रिचर्ड ब्रोंज यदि रातो सागर हुँदै साउदी तेलको आपूर्ति जोखिममा परेमा विश्वव्यापी तेल मूल्यमा थप वृद्धि हुने बताउँछन् ।
पछिल्ला दुई हप्तामा यान्बु बन्दरगाहबाट दैनिक करिब ४.६ मिलियन ब्यारेल तेल जहाजमा लोड गरिएको छ । जहाजसम्बन्धी डाटा कम्पनी भोर्टेक्साका अनुसार जुन २०२५ को औसतभन्दा तीन गुणा बढी हो ।
यो मात्रा, हर्मुज जलडमरूमध्य बन्द हुँदा विश्वले दैनिक गुमाइरहेको १५ मिलियन ब्यारेलको तुलनामा सानो राहत मात्र हो । तर पनि ४.६ मिलियन ब्यारेलले आपूर्ति प्रणालीमा असर पार्न पर्याप्त छ । अत्यन्त संवेदनशील विश्व तेल बजारमा अर्को महत्वपूर्ण व्यापारिक मार्ग बन्द भएमा तेलको मूल्य अझै बढ्ने र स्थानीय रूपमा इन्धन अभाव झन चुलिने सम्भावना हुन्छ ।
२०२३ को अन्त्यतिर, यमनमा आधारित हुथी लडाकुहरूले रातो सागरको दक्षिणी छेउमा रहेको बाब–अल–मन्देब जलडमरूमध्य हुँदै जाने व्यावसायिक जहाजहरूमा आक्रमण गर्न थालेका थिए । यो क्षेत्रलाई अरबीमा ‘आँशुको ढोका’ पनि भनिन्छ । गाजामा इजरायलको युद्धको प्रतिशोधस्वरूप ती आक्रमणहरू भएका थिए।
भोर्टेक्साका अनुसार मार्च महिनाका पहिलो २८ दिनमा बाब–अल–मन्देब हुँदै जाने कच्चा तेलको मात्रा फेब्रुअरीको तुलनामा २१ प्रतिशतले बढेको थियो । अब ती ढुवानीहरू फेरि हुथी आक्रमणको सम्भावित लक्ष्य बनेका छन् । विश्वव्यापी तेलको मापदण्ड ब्रेन्टको मूल्य फेब्रुअरी २८ मा इरानसँगको युद्ध सुरु भएदेखि करिब ५० प्रतिशतले बढेर सोमबार प्रतिब्यारेल करिब ११० डलर पुगेको छ ।
प्रतिक्रिया दिनुहोस !