दाङमा थारु रैथाने खाना प्रवर्द्धन, ४० परिकार एकै स्थानमा
दाङ : दाङमा थारु रैथाने खानाको प्रवर्द्धन कार्यक्रम गरिएको छ। थारु समुदायको रैथाने खाना लोप हुन थालेपछि त्यसको प्रवर्द्धन गरिएको हो।
थारु समुदायको पहिचानसँग जोडिएका लोपोन्मुख रैथाने खानाको संरक्षण, विकास र प्रवर्द्धन गर्ने उद्देश्यले दाङको चखौरामा तीन दिने विशेष कार्यक्रम आयोजना गरी रैथाने खानाको प्रवर्द्धनका लागि ४० प्रकारका खानाहरू सार्वजनिक गरिएको छ।
थारु महिलाहरूलाई सीपमार्फत व्यावसायिक बनाउँदै स्थानीय स्वादलाई पर्यटनको मुख्य आधार बनाउने र लोप हुन लागेको रैथाने खाना संस्कृतिलाई जोगाउने उद्देश्यले खाना प्रवर्द्धन कार्यक्रम गरिएको पर्यटन डिभिजन कार्यालय कोहलपुरले जनाएको छ।
रैथाने थारु खाना प्रवर्द्धन समारोहमा लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती, पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी लगायतको सहभागिता रहेको थियो। थारु रैथाने खानाको बृहत् प्रदर्शनी समेत गरिएको थारु सांस्कृतिक संरक्षण केन्द्रका व्यवस्थापक शान्ता चौधरीले बताइन्।
पर्यटन डिभिजन कार्यालय कोहलपुरको आयोजना तथा थारु सांस्कृतिक संरक्षण केन्द्र चखौराको व्यवस्थापनमा तीन दिनसम्म सञ्चालन भएको तालिममा जिल्लाभरका ४० जना थारु महिलाहरूको सहभागितामा ४० थरी रैथाने खानाका परिकार बनाइएको हो। ती परिकारहरूको प्रवर्द्धनका लागि प्रदर्शन गरिएको थियो।
महिलाहरूलाई व्यावसायिक बनाउन र थारु रैथाने खानालाई स्थापित गर्न प्रवर्द्धनको काम गरिएको सीता चौधरीले बताइन्। प्रदर्शनीमा घोंगी, ढिक्री, सिध्रा, सुकुटी, सिन्की, गंगटा, भात, बदिया लगायतका परम्परागत स्वाददेखि लोप हुन लागेका अन्य मौलिक परिकारहरूको प्रवर्द्धन गरिएको थियो।
रैथाने थारु खाना प्रवर्द्धन कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले थारु समुदायको मौलिक खानालाई ‘ब्रान्ड’ बनाएर आन्तरिक तथा बाह्य पर्यटनसँग जोड्नुपर्ने बताए। उनले जनजाति थारु समुदायको परम्परा र इतिहास जोगाइ राख्न अनिवार्य भएको उल्लेख गरे।
पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यस्ता कार्यक्रमले महिलाहरूलाई घरको भान्साबाट बाहिर निकालेर व्यावसायिक तथा उद्यमी बनाउन ठूलो भूमिका खेल्ने बताए। लोप हुन लागेको सीप, कला जोगिने र महिला दिदीबहिनीहरूको आयआर्जनमा समेत टेवा पुग्ने उनले बताए। खाना प्रवर्द्धन कार्यक्रमले समुदायभित्र सकारात्मकता देखाएको उनको भनाइ छ।
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का र दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले स्थानीय होमस्टे र होटलहरूमा थारु परिकारलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनीहरूले रैथाने खानाको प्रवर्द्धन आवश्यक रहेको बताए।
रैथाने खाना प्रवर्द्धन अभियानमा लागेका महिलाहरू उत्साहित देखिएका छन्। उनीहरूले तालिममा सिकेको सीपलाई अब व्यावसायिक रूप दिने र स्थानीय स्तरमा ‘थारु स्वाद’को पहिचान फैलाउने अभियानमा निरन्तर लाग्ने बताएका छन्। नयाँ पुस्तामा परम्परागत सीप हस्तान्तरण हुँदा यसको स्थायित्व र परम्पराको जगेर्ना हुने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस !