एमालेमा मडारिएको ‘बादल’
नेपालगन्ज : महाभारतको युद्ध सम्झिँदा चक्रव्यूहभित्र एक्लिएका अभिमन्यु, साहसले घेरिएको तर षड्यन्त्रले थिचिएको कथा उभिन्छ। त्यसबेला कौरवहरूको निर्दयी घेराबन्दीले धर्मयुद्धकै नाममा अन्यायको रेखा कोरिएको थियो। त्यही इतिहासका पानाहरू पढेका एमालेजनले कहिल्यै सोचेका थिएनन्– त्यस्तै कुनै छायाँ र चित्र वर्तमानमा पनि देखिन सक्छ। तर, समयले फेरि उस्तै दृश्य कोर्यो। शान्त देखिने राजनीतिभित्र अदृश्य चक्रव्यूह बुनियो, जहाँ पूर्वबाट उदाएका एउटा कलिलो सांसद सुहाङ नेम्वाङ एक्लिँदै गए। आफ्नै नेताहरूको घेराबन्दीले उनलाई मौन बनायो।
परिवर्तनसँग डराउने प्रवृत्तिले नयाँ रूप लिएर एमालेको राजनीतिक आकाशमा बादल मडारियो। महासचिव शंकर पोखरेल ‘शकुनिको छायाँ’ जस्तै देखा परे। दाउपेच र चालबाजीको जाल बुन्दै न्यायको बाटोभन्दा टाढा नेतृत्वको ढोका बन्द गरियो। भनिन्छ, इतिहास दोहोरिन्छ। कथा केही फरक छ तर पात्र र प्रवृत्ति उस्तै देखिए। महाभारतको जस्तै दाउपेच अपनाउँदै र अन्यायपूर्ण ढंगले नेम्वाङलाई नेतृत्वबाट पाखा लगाइयो।
एमालेका युवाहरूको मनभित्र परिवर्तनको उज्यालो भने बलिरहेको थियो। नयाँ नेतृत्व, नयाँ बाटो र आशाले भरिएको भोलिको सपना थियो। तर, त्यो आवाज कसैले सुन्न सकेन। २५ जना सांसदको विवेक पनि हावाले उडायो। न बुझ्ने इच्छा देखियो न विवेकको उज्यालो नै बल्यो। घेराबन्दी कति गहिरो हुन्छ ? त्यो महसुस गर्न पनि एमालेजन तयार देखिएनन्, मानौं निर्णयहरू पहिल्यै कुँदिएझैं गरियो। अन्ततः नेतृत्वमा आए— रामबहादुर थापा ‘बादल’।
तर, उनको आगमनले युवाको मनमा उत्साहको कुनै लहर उठाउन सकेन। जबकि प्रतिनिधिसभाको चुनावमा पुराना अनुहारहरू मतदाताले अस्वीकार गरिसकेका थिए। त्यही समय उदाउँदै गरेको आशा बनेका सुहाङ नेम्वाङभित्रैबाट ओझेल परे, जसले डगमगाउँदै गरेको एमालेको साख जोगाउन सक्थे। बिस्तारै त्यही आशा पनि निराशामा परिणत भएको छ।
अब त थोरै बचेखुचेको साख पनि समाप्त हुने देखियो। यस्तो नेतृत्व स्वीकारेर बस्नुभन्दा ‘एमाले नै छाड्न उपयुक्त’ ठानेका युवाहरूले धमाधम राजीनामाको घोषणा गर्न थालेका छन्। २०५३ सालमा जापान गएका उनी फर्किएपछि पर्यटन व्यवसायीका रूपमा उदाए। उनको कन्सल्टेन्सी सेवा, सहकारी र शिक्षा क्षेत्रमा पनि लगानी छ।
नेपालमा मात्र होइन, विदेशमा बस्दै आएका कार्यकर्ताहरू सामाजिक सञ्जालबाटै एमालेसँगको राजनीतिक यात्रा तोडेको घोषणा गरिरहेका छन्। ‘एमालेसँगको ३५ वर्षको यात्रा आजबाट पूर्णरूपमा टुंग्याउँदै छु,’ एमालेको राजनीतिक आकाशमा थप ‘कालो बादल’ मडारिएको देखेपछि जापानमा बस्दै आएका कमलराज पाण्डेले आफ्नो फेसबुकबाट असन्तुष्टिसँगै राजनीतिक यात्रामा पूर्णविराम लगाएको घोषणा गरे।
सूर्यको प्रकाश फैलिन रोक्ने बादलको उदयसँगै एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य तथा अर्का नेता अशोक कर्माचार्य, जो केपी ओली समर्थकसमेत हुन्, उनले समेत छोटो स्टाटसमा लामो अर्थ लाग्ने प्रतिक्रिया लेखेका छन्, ‘हामी सच्चिने होइन, सकिने यात्रामा छौं।’ कतिपयलाई लागेको होला ‘बादल’ निर्विरोध भए। तर, एमालेको तल्लो तह जुन धेरै बलियो मानिन्थ्यो, त्यहाँसम्म विरोध नै विरोध भइरहेको छ। निर्विरोध नेता चयनले पूरै जग खल्बलिएको छ।
तल्लो तहमात्र होइन, केन्द्रले पनि एमालेको भविष्य बादलले छोपेको महसुस गरिरहेको छ। एमाले उपमहासचिव योगेश भट्टराई त्यस्तै नेतामध्ये एक हुन्। उनी पनि पटक्कै सन्तुष्ट छैनन्।
संसदीय दलको नेता छान्ने तरिका र शैलीले गम्भीर धक्का लागेको उनी ठान्छन्। उनी भन्छन्, ‘निर्वाचनबाट पार्टीलाई गम्भीर धक्का लागेको छ। नेतृत्वप्रति व्यापक जनगुनासो छ। एमालेको व्यापक पुनर्गठनमार्फत बलियो एकता बनाउँदै जनविश्वास जागृत गर्नुपर्ने बेलामा संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो, यसबाट सिंगो पार्टी पंक्तिलाई थप चिन्तित बनाएको छ। उच्चस्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर जे गरियो, त्यो राम्रो भएन।’
एउटा नेतालाई नेतृत्वमा ल्याउन २५ जना सांसदको विवेक प्रयोगमा रोक लगाउँदै ‘कु’ गरेर बादलको चयन गरेसँगै एमालेको बचेखुचेको साख, छवि र भविष्यमाथि संकटको थप कालो बादल मडारिँदै आएको छ। २०७७ चैतमा माओवादीबाट एमाले प्रवेश गरेका र भ्रष्टाचारको आरोपसमेत लागेर विवादास्पद हुन पुगेका बादललाई महासचिव शंकर पोखरेलले रातो कार्पेट बिछ्याएर एमाले संसदीय दलको नेता बनाएसँगै पार्टीको भविष्य ओरालो लाग्ने संकेतहरू देखिएका छन्। एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे पनि बादलसँग सन्तुष्ट छैनन्।
सुहाङभन्दा रामबहादुर थापा उपयुक्त ठान्ने शंकर पोखरेलको संरक्षण प्राप्त बादल पार्टीभित्र र बाहिरसमेत घृणाको पात्रका रूपमा आलोचित हुन थालेका छन्। पछिल्लोपटक बिहीबार प्रतिनिधिसभामा उनले दिएको विवादित अभिव्यक्तिले एमालेलाई नेपाली सेनासँग सोझो टकरावको अवस्थामा पुर्याएको छ। यद्यपि, सेनाले यस बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाइसकेको छैन।
एमाले उपाध्यक्ष विष्णु पौडेलले बादलको अभिव्यक्तिप्रति पूर्ण असहमति जनाएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले माननीय रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यताविपरीत छ।’ बादलको अभिव्यक्तिबारे शुक्रबारको केन्द्रीय सचिवालय बैठकमा गम्भीर छलफल हुने पौडेलले सामाजिक सञ्जालमा लेखे। उता, पूर्वउपाध्यक्ष पाण्डेले लेखेका छन्, ‘हिजो संसद्मा ‘षड्यन्त्र’ का लामा कथाहरू सुनियो। सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो, सबै दोष अरूलाई ! हामी पनि दोषी छौं। यो वातावरण सिर्जना गर्न हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र ? ’
बादलको विवादित अभिव्यक्तिले एमालेमा थप तरंग ल्याएको छ। केन्द्रदेखि वडा कमिटीसम्म बादलको तीव्र विरोध भइरहेको छ। थापाको अभिव्यक्ति खण्डनयोग्य भएकाले शुक्रबार एमालेले आकस्मिक बैठक बोलायो। बैठक सुरु हुनुअघि नै एमालेका युवाहरूले पार्टी पुनर्गठनका लागि फूलका थुँगा थमाएर नेताहरूको नियतमाथि चोटिलो प्रहार र आन्दोलनको सुरुवात गरेको देखियो। भित्री गेटमा बसेर उनीहरू युवा पुस्तालाई अस्वीकार गर्ने नेताहरूको हातमा पुष्पगुच्छा थमाई व्यंग्य गर्दै थिए। उनीहरूको माग थियो, ‘वर्तमान कमिटी भंग र युवाहरूसहितको नयाँ कमिटी गठन।’ तर, नेतृत्व सुन्ने र बुझ्ने पक्षमा देखिएको छैन।
शुक्रबार एमालेको सचिवालय बैठक सुरु भएलगत्तै बादलको अभिव्यक्तिको आलोचना सुरु भयो। एमाले मुख्यालय च्यासलमा कार्यवाहक अध्यक्ष ‘बादल’ को अध्यक्षतामा बैठक सुरु भएसँगै विरोध गर्ने क्रम तीव्र हुँदा बचाउ गर्नेहरू पनि देखिए, जसले उनलाई संसदीय दलको नेता बनाउन सघाएका थिए।
असन्तुष्टि, विरोध र आलोचना बढ्दै जाँदा देशभर करिब ६ लाख कार्यकर्ता भएको एमालेमा अब कति सदस्य बाँकी रहलान् भन्ने चिन्ता र चासो उत्तिकै छ। विरोध बढ्दै गएकाले बुधबार संसदीय दल नेता चयनलगत्तै युवाहरूले महासचिव पोखरेलको पुत्ला पनि जलाएका थिए।
प्रतिक्रिया दिनुहोस !