एमाले प्रदेश सांसद रेखा शर्मालाई रिहा गर्न अदालतको आदेश
काठमाडौं : काठमाडौं जिल्ला अदालतले नेकपा एमाले नेतृ एवं लुम्बिनी प्रदेशकी सांसद रेखाकुमारी शर्मालाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश जगतबहादुर पौडेलको एकल इजलासले आइतबार प्रदेश सांसद शर्मालाई रिहा गर्न आदेश दिएको हो।
महान्यायाधिवक्ताको कार्यालयले २०८२ जेठ १६ गते निर्णय भइसकेको बताउँदै काठमाडौं जिल्ला अदालतले शर्मालाई हिरासतमुक्त गर्न आदेश दिएको हो। 'महान्यायाधिवक्ताको कार्यालयबाट निर्णय भइसकेको विषयमा पुनः सोही विषयमा प्रतिवादीलाई थुनामै राखी मुद्दा गर्नुपर्ने अवस्था नदेखिँदा प्रतिवादी रेखा कुमारी शर्मालाई हिरासतबाट मुक्त गरी मुद्दाको अनुसन्धान गर्नू,' आदेशमा भनिएको छ।
मिसिल संलग्न कागजातहरु हेर्दा, पीडितको पढाईमा निरन्तरता रहेको र प्रतिवादीले संरक्षकको भूमिका पूरा गर्दै आएको देखिएको, शंकित रेखा कुमारी शर्माले पीडितलाई यातना दिई दास बनाई राखेका हुन् भन्ने आरोपित तथ्य पुष्टि गर्ने वस्तुनिष्ठ र निश्चयात्मक प्रतितलायक प्रमाण मिसिल संलग्न रहेको नदेखिएको उल्लेख छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले शर्मालाई गत आइतबार पक्राउ गरेको थियो। एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोपमा उनी पक्राउ परेकी थिइन् ।
बालश्रममा राखेको पाइएको भन्दै काठमाडौं महानगरपालिकाले उनको घरबाट बालिकाको उद्धार गरेको थियो।
प्रतिक्रिया दिनुहोस !