एमालेका महिला सांसदले ‘साइबर बुलिङ’का विषयमा दिए उजुरी
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरूले पछिल्लो समयमा किशोरीहरूमाथि भएका साइबर बुलिङका विषयमा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।
एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य पद्माकुमारी अर्याल,केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीसहित १८ महिला सांसदले भोटाहिटीस्थित सो ब्युरोमा लिखित उजुरी दिएका हुन् ।
सामाजिक सञ्जाल तथा विभिन्न भर्चुअल प्लेटहरूमार्फत् विशेष गरी साइबर बुलिङ,दुव्र्यवहार, अपमानजनक व्यवहार, घृणा र टीका टिप्पणीले किशोरीहरू मानसिक उत्पीडनको सिकार भएको उजुरीमा उल्लेख छ ।
त्यस्तो व्यवहारले उनीहरूको आत्मसम्मान,मानसिक स्वास्थ्य तथा सामाजिक सुरक्षामा गम्भीर असर पारेको उजुरीमा जनाइएको छ । यस्ता साइबर बुलिङसम्बन्धी उजुरीको छिटो र प्रभावकारी छानबिन तथा अनुसन्धान गर्न र पीडितलाई तत्काल सुरक्षा र न्याय सुनिश्चित गर्न माग गरिएको छ ।
यसअघि प्रतिनिधिसभा बैठकमा नेकपा एमालेकी सांसद विष्णुमाया विकले पछिल्ला दिनमा किशोरीहरू साइबर बुलिङको शिकार हुँदै गएको विषय उठाएकी थिइन्। उनले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा सडकमा आएको भन्दै अमिशा पराजुलीमाथि अमानवीय आक्रमण भएको बताएकी थिइन्।
उनले राजनीतिक आस्थाका आधारमा कुनै पनि व्यक्ति,विशेषगरी महिलालाई सामाजिक सञ्जालमा निशाना बनाइनु निन्दनीय रहेको भन्दै उनले यस्ता साइबर अपराध रोक्न सरकारको गम्भीर ध्यानाकर्षण गराएकी थिइन्।
पराजुलीले नेकपा एमालेका आन्दोलनमा सहभागी भएर नारा लगाएकी थिइन् । त्यसपछि उनीमाथि सामाजिक सञ्जालमार्फत साइबर बुलिङ भएको थियो। त्यसपछि उनले नेपाल प्रहरीको साइबर ब्यूरोमा गएर उजुरी दर्ता गरेकी थिइन् । उक्त घटनामा संग्लन रहेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा समेत लिएको छ ।
प्रतिक्रिया दिनुहोस !