कांग्रेसमा ‘रहस्यमय’ मौनता

कांग्रेसमा सन्नाटा : आँधीको संकेत कि पराजयको छटपटी !

कांग्रेसमा सन्नाटा : आँधीको संकेत कि पराजयको छटपटी !

काठमाडौंं : पार्टी नेता एवं पूर्वमन्त्री रमेश लेखकलाई सरकारले गिरफ्तार गर्‍यो , तर विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेस ‘मौन’ बस्यो। न कुनै नेताले सामाजिक सञ्जालमा विरोध जनाए, न त कांग्रेसले कुनै विरोधका कार्यक्रम नै सार्वजनिक गर्‍यो । 

पूर्वसंस्थापन शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले लेखकलाई तत्काल रिहा गर्न विज्ञप्ति जारी गरे, तर थापा नेतृत्वको कांग्रेसले अब त्यस्तो विज्ञप्ति जारी गरे कारबाही गर्ने चेतावनी दियो। त्यसपछि खड्का पनि चुप बसे। न त कांग्रेसका कुनै सांसदले आफ्नै नेता लेखकको पक्राउविरुद्ध संसद्मा एक मिनेट समय नै खर्चे। लेखकको पक्राउको विरोधमा मात्र होइन, सरकारका विषयमा समेत कांग्रेस ‘मौन’ छ। आन्तरिक द्वन्द्व र फुटको संघारमा पुगेको कांग्रेसमा ‘रहस्यमय’ मौनता देखिएको भन्दै नेताहरू चकित छन्।

पुरानो नेतृत्व लिएर जनताबीच जान नसकिने भन्दै तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन गरे। पूर्वसंस्थापन देउवा पक्षको सहभागिता बिनै थापालाई सभापति बनाएर चुनावमा गएको पार्टीले पनि नराम्रो धक्का बेहोर्‍यो । चुनावमा पार्टीको शर्मनाक हारको नैतिक जिम्मेवारी लिएर थापाले पदबाट राजीनामा पनि दिए। तर, विशेष महाधिवेशनबाट एकपक्षीय रूपमा निर्वाचित कार्यसमितिले थापाको राजीनामा अस्वीकृत गर्‍यो । त्यसयता पार्टी अध्यक्ष थापा पनि मौन छन्। पार्टीको विवाद समाधान गर्न न कुनै प्रयत्न भएको देखिन्छ, न त कांग्रेसलाई पुनर्जीवन दिने कुनै ठोस कार्यक्रम नै अघि सारिएको छ।

संवादहीनताले थप संकट

विशेष महाधिवेशनपछि कांग्रेस दुई चिरामा विभाजित छ। पूर्वसंस्थापन पक्ष र विशेष महाधिवेशन पक्ष भनेर कांग्रेस दुई कित्तामा बाँडिएको छ। त्यसैकारण नेताहरू मौनता छोडेर संवादमा जुट्नुपर्नेमा जोड दिइरहेका छन्। संस्थापन र संस्थापनइतर दुवै पक्षका नेता पार्टी एकताको विकल्प नभएको तर्क त गर्छन्, तर ठोस पहल कतैबाट भएको छैन। पूर्वसंस्थापन पक्ष सम्मानजनक ढंगले संवादमा बस्नुपर्ने प्रस्ताव थापा पक्षले ल्याउनुपर्ने अडानमा छ। थापा पक्षका नेताहरू संवादले नै समाधानको ढोका खोल्ने त बताउँछन्, तर त्यस्तो प्रस्ताव नआएको पूर्वसंस्थापन देउवा पक्षधर नेताहरूको गुनासो छ। पार्टी प्रवक्ता देवराज चालिसे भने पार्टी एकताका लागि संवाद भइरहेको तर्क गर्छन्। ‘संवाद जारी छ, मिल्ने र मिलाउने काम हुँदै छ,’ चालिसेले भने, ‘पार्टीको १५औं महाधिवेशनको मिति घोषणा भएको छ। महाधिवेशनमा सबैले भाग लिनुपर्छ। कार्यकर्ताको मन जित्नुपर्‍यो , आफैं नेतृत्वमा आउन सक्नुपर्‍यो । हिँड्ने बाटो एउटै हो। अधिवेशनको राजमार्गमा हिँड्न अवरोध गरिएको केही छैन। सबै नेताहरू आफ्नो प्रभाव र हैसियत राख्ने खालका हुनुहुन्छ। तर, विधानअनुसार घोषणा गरिसकेको विषय मानेर अगाडि बढ्नुपर्छ।’

पार्टी सभापति थापा र पूर्वसंस्थापन पक्षीय नेता पूर्णबहादुर खड्काबीच संवाद भएको छ ? भन्ने प्रश्नमा चालिसेको जवाफ छ, ‘तपाईंहरू संवाद गर्नुस् भनेका छौं। साइडलाइन वार्ताहरू भइरहेका छन्। १–२ दिनमा सकारात्मक सन्देश आउँछ होला।’ तर, सहमतिका लागि निर्वाचन आयोगले थापा पक्षलाई दिएको मान्यता स्वीकार गर्नुपर्ने र सर्वोच्चमा दायर मुद्दा फिर्ता लिएर सहमति खोज्नुपर्ने प्रवक्ता चालिसेको भनाइ छ।

शेखर पक्ष सहमतिको पक्षमा

डा. शेखर कोइराला पक्षका नेताहरू पूर्वसंस्थापन र वर्तमान संस्थापन पक्षका नेताहरूबीच सहमति गरेर पार्टी एकता हुनुपर्नेमा जोड दिइरहेका छन्। शेखर पक्षका नेता डा. गोविन्दराज पोख्रेल सभापति थापालाई सबै नेताहरूसँग संवाद गरेर एक जुट भई अगाडि बढ्न सुझाव दिएको बताउँछन्। ‘संवादको विकल्प छैन,’ उनले भने, ‘विशेष महाधिवेशनबाट सभापति थापा आउनुभयो। निर्वाचन आयोगले पनि उहाँलाई मान्यता दियो। अदालतमा मुद्दा छ। उहाँकै हातबाट टिकट लिएर नेताहरू चुनाव लड्न पनि जानुभयो। अब सभापतिजीले नै संवाद सुरु गर्नुपर्छ। सिनियर नेतादेखि समकालीन नेताहरूसँग उहाँले संवाद गर्नुपर्छ। अदालतको फैसलाभन्दा अगाडि नै एकताका लागि संवाद गरौं।’

पोख्रेलले सबै नेतासँग संवाद गरेर महाधिवेशनबाट निकास निकालेर अगाडि बढ्नुपर्ने बताए। ‘कसैले पनि इगो राख्नु हुँदैन,’ उनी भन्छन्, ‘दुवै पक्ष केही हदसम्म लचक हुनैपर्छ। जसलाई निर्वाचन आयोगले मान्यता दियो, त्यही नेतृत्वले संवादको पहल गर्नुपर्छ। हामीले वातावरण मात्र मिलाइदिने हो। भूमिका उहाँहरूकै हुन्छ। कांग्रेसमा संवादहीनता हुँदैन। कांग्रेसको अन्तिम समाधान नै संवाद हो।’

थापा नै संवादमा आउनुपर्ने अडान

महामन्त्री गुरुराज घिमिरे पार्टी सभापति थापाले नै संवाद गर्नुपर्नेमा पूर्वसंस्थापन पक्ष अडिग रहेको बताउँछन्। ‘सभापतिजीले संवादमा बस्न नचाहेको होइन,’ उनले भने, ‘उहाँको व्यस्तता छ। अब छिट्टै संवाद हुन्छ।’ प्रवक्ता चालिसे भन्छन्, ‘निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला निकट नेताहरूले अब अदालतमा विचाराधीन मुद्दा भन्दै हिँड्नु भएन। सहमति र एकताको प्रयास उहाँहरूको तर्फबाट पनि हुनुपर्‍यो ।’

महामन्त्री घिमिरे सर्वोच्चमा परेको पार्टीको मुद्दालाई अब कुर्न नहुने बताउँछन्। ‘संसद् विघटन असंवैधानिक भन्दाभन्दै पनि देश अगाडि बढ्यो,’ घिमिरे भन्छन्, ‘कांग्रेस विशेष महाधिवेशनविरुद्धको मुद्दा कुरेर बस्नु भनेको पुरानै समयमा धकेलिनु हो। पुराना घाउ कोट्याउने होइन, अब १५औं महाधिवेशनमा सहभागी हुनुनै मध्यमार्गी बाटो हो।’

अर्का नेता उदयशमशेर राणा भने संवादहीनताको अवस्था नरहेको बताउँछन्। ‘हामी संवादमै छौं। कांग्रेसमा दुईवटा कमिटी छ भन्नु नै गलत भ्रम हो,’ राणा भन्छन्, ‘कांग्रेस एउटै छ। कानुनी र राजनीतिक रूपमा एउटै कमिटी छ। चुनावमा टिकट लिने बेला कसैको केही अब्जेक्सन भएन। कि त त्यतिबेलै टिकट नलिनुपथ्र्यो। अहिले आएर फेरि किन विद्रोह गर्ने ? विशेष महाधिवेशनबाट आएको भनेको सिंगो कांग्रेसको एउटै कमिटी हो।’ 

१५औं महाधिवेशनले जोड्ला कि तोड्ला ? 

देउवा निकट नेता डा. प्रकाशशरण महत विशेष महाधिवेशनमा पार्टीको बहुमत संख्या सहभागी नभएको दाबी गर्छन्। विशेष महाधिवेशनले केन्द्रदेखि तलैसम्म मनोवैज्ञानिक विभाजन देखिएको र अब यो पक्ष र त्यो पक्ष भन्नुको अर्थ नभएको उनी बताउँछन्। ‘अहिलेको चुनौतीपूर्ण अवस्थामा के कारणले ठीक छौं भन्ने बहस गर्नुभन्दा पनि सबैले स्वीकार गर्ने गरी नियमित महाधिवेशन गर्नुपर्छ,’ डा. महतले भने, ‘सबैलाई स्वीकार्य अधिकारसम्पन्न संयन्त्रले महाधिवेशन गरोस्, त्यसबाट जो निर्वाचित भए पनि स्वीकार गरेर नेतृत्व सम्हाल्नुपर्छ।’

कांग्रेस संस्थापन पक्ष भने विशेष महाधिवेशनलाई इतर खेमाले पनि स्वीकार गर्नुपर्छ भन्ने पक्षमा छ। अदालतमा दायर रिट निवेदन फिर्ता लिएमा १५औं महाधिवेशन एकताको बिन्दु बन्न सक्ने उक्त पक्षको भनाइ छ। महामन्त्री घिमिरे भन्छन्, ‘एकताको निम्ति हामीहरू व्यक्तिगत रूपमा पनि एकदमै उदार र खुला छौं। त्याग गर्न तयार छौं।’

थापा निकट नेता राणा भने अब १५औं महाधिवेशनमा जुट्नु नै पार्टी हितका लागि हुने सोचेर अगाडि बढ्नुपर्ने तर्क गर्छन्। ‘अदालतमा मुद्दा छैन, निवेदन मात्र परेको हो,’ उनले भने, ‘पार्टीभित्रको आन्तरिक विवादको मुद्दा अदालतले होइन, निर्वाचन आयोगले हेर्ने हो। यसमा सर्वोच्च अदालतको हात हुँदैन। निर्वाचन आयोगको निर्णय नै अन्तिम निर्णय हो।’ 

उनले महाधिवेशनको तयारीका लागि अब विभिन्न समितिहरू बन्दै जाने र तयारीमा जुट्ने पनि बताए। ‘महाधिवेशनका लागि अहिलेको कार्यसमिति र पहिलेको कार्यसमिति मिलेर सफल बनाउन लागि पर्नेछौँ,’ उनले भने, ‘सभापतिजीले रेलगाडी अगाडि बढिसक्यो भन्नुभएको छ, पार्टी महाधिवेशनमा होमिइसक्यो। अब फेरि १४औं कै समितिले महाधिवेशन गर्छ भन्ने विषयमा हामी सहमत छैनौँ।’

स्थानीय तह र प्रदेशसभा चुनाव चुनौती बन्ने

कांग्रेसभित्र एकताको निम्ति अब १ वर्षमा हुने स्थानीय तह र त्यसपछि हुने प्रदेशको चुनावले पनि थप दबाब बढाउने देखिन्छ। संसदीय चुनावमा ठूलो हार बेहोर्दा चरम दबाबमा परेका सभापति थापाको राजनीतिक भविष्यसँग यो पाटो पनि जोडिन सक्ने देखिन्छ। संस्थापन पक्ष नियमित महाधिवेशनमा एक्लै अघि बढेमा कांग्रेस औपचारिक विभाजनमा जान सक्ने देखिन्छ। शेखर कोइराला पक्षीय नेता पोख्रेल भन्छन्, ‘विभाजनको बाटोमा हिँडेको कांग्रेसलाई नेतृत्व दिएर टाढा जान सकिँदैन भन्ने कुरा नेतृत्वले बुझ्नुहुन्छ।’

देउवा बिनाको एकता अधुरो

एकातिर संवाद र सहमतिका लागि प्रयास भइरहेको छ, अर्कोतिर पूर्वप्रधानमन्त्री तथा निवर्तमान सभापति शेरबहादुर देउवा देश बाहिर छन्। यद्यपि देउवा निकट केही नेताहरूसँग उनी निरन्तर सम्पर्कमै छन्। देउवा निकट नेता मीन विश्वकर्मा भन्छन्, ‘पार्टी एक ढिक्का बनाउनुपर्छ भन्नेमा उहाँ हुनुहुन्छ। कांग्रेस एउटा यस्तो पार्टी हो जुन टुट्दैन। त्यसका लागि संवाद एउटै माध्यम हो। संवाद गर्नुस्, मेरो सहमति हुन्छ भन्ने नै उहाँको कुरा छ। विशेष महाधिवेशन र हालैको चुनावबाट शिक्षा लिएर दुवै पक्षलाई मिलाउन सबैले आआफ्नो ठाउँबाट भूमिका खेलौं।’देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भइसकेको छ। यो विषयमा भने पार्टीपंक्ति करिब मौनप्रायः छ। यतिसम्म कि उनी निकटकै नेताहरू पनि केही बोलेका छैनन्।

गत भदौ २४ गते बूढानीलकण्ठस्थित देउवाको घरमा आगजनी भएको थियो। त्यसबेला देउवा दम्पती सख्त घाइते भएका थिए। देउवा स्वयंको पनि टाउकोमा गम्भीर चोट थियो। घरको केही भाग जलेको अवस्थामा पैसा पनि भेटिएको भन्दै भिडियोहरू सार्वजनिक भए। पार्टीले देउवाको मुद्दाका विषयमा नबोलेपछि आफैंले आफू र आफ्नो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भएको दाबी गरेका छन्। 

के गर्दै छन् सभापति थापा ? 

कांग्रेस सभापति थापाले भने चुनावी नतिजापछि सार्वजनिक रूपमा खासै प्रतिक्रिया दिएका छैनन्। बुधबार मधेस प्रदेशको जनकपुरधाममा आयोजित चुनावी समीक्षामा बोल्दै उनले अब पार्टी शुद्धीकरणमा लाग्ने बताए। ‘म नेपाली कांग्रेस पार्टीको कार्यकर्ता हुँ, एउटा चुनावको जय वा पराजयबाट डराउने वा आत्तिने होइन,’ थापाले भनेका थिए। 

सभापति थापाले पार्टीका आन्तरिक विषयमा भने खासै बोलेका छैनन्। प्रतिनिधिसभा निर्वाचनमा थापा सर्लाही ४ बाट रास्वपाका नेता अमरेश सिंहसँग पराजित भएका थिए। त्यसपछि थापा मौन प्रायः नै थिए। ‘मैले केही समय लिन खोजेको हो। किन समय लिन खोजेको भने– हामीले धेरै कुरा सुन्नुपर्ने रहेछ,’ थापाले भने, ‘धेरै नयाँ कुरा सिक्नुपर्ने रहेछ। दौडेर मात्र हुँदैन, केही तयारी गर्नुपर्छ,’ जनकपुरमा आयोजित कार्यक्रममा थापाले भने। 

समस्याको बेला पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा १ लाख प्रतिबद्ध सदस्य भए पनि संठन थप चलायमान हुने थापाले बताए। ‘पार्टीलाई एकताबद्ध, अनुशासित र नीति–सिद्धान्तमा आधारित बनाउँदै देशभर नयाँ ऊर्जा सिर्जना गरिनेछ,’ उनले भने।

पार्टीको १५औं महाधिवेशनको मिति घोषणा भएको छ। महाधिवेशनमा सबैले भाग लिनुपर्छ। कार्यकर्ताको मन जित्नुपर्‍यो , आफैं नेतृत्वमा आउन सक्नुपर्‍यो । हिँड्ने बाटो एउटै हो। अधिवेशनको राजमार्गमा हिँड्न अवरोध गरिएको केही छैन।
null
देवराज चालिसे प्रवक्ता, नेपाली कांग्रेस

अहिलेको चुनौतीपूर्ण अवस्थामा के कारणले ठिक छौं भन्ने बहस गर्नुभन्दा पनि सबैले स्वीकार गर्ने गरी नियमित महाधिवेशन गर्नुपर्छ। सबैलाई स्वीकार्य अधिकारसम्पन्न संयन्त्रले महाधिवेशन गरोस्, त्यसबाट जो निर्वाचित भए पनि स्वीकार गरेर नेतृत्व सम्हाल्नुपर्छ।
null
डा. प्रकाशशरण महत, देउवा निकट नेता
 
विशेष महाधिवेशनबाट सभापति थापा आउनुभयो। निर्वाचन आयोगले पनि उहाँलाई मान्यता दियो। अदालतमा मुद्दा छ। उहाँकै हातबाट टिकट लिएर नेताहरू चुनाव लड्न पनि जानुभयो। अब सभापतिजीले नै संवाद सुरु गर्नुपर्छ। सिनियर नेतादेखि समकालीन नेताहरूसँग उहाँले संवाद गर्नुपर्छ। अदालतको फैसलाभन्दा अगाडि नै एकताका लागि संवाद गरौं।
null
डा. गोविन्दराज पोख्रेल, कोइराला निकट नेता
 


संसदीय दलको नेता छान्नै सकस

कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रियामा देखिएको ढिलाइले राजनीतिक मात्र होइन, संवैधानिक संरचनामै असर पार्ने संकेत देखिएको छ । दलको नेता चयनमा सहमति जुट्न नसक्दा संवैधानिक परिषद् अझै अपुरो रहँदा महत्त्वपूर्ण नियुक्ति प्रक्रियासमेत अवरुद्ध हुने हो कि भन्ने प्रश्न उब्जिएका छन् । संसदीय दलका नेताका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बेले दावी गरेका छन् । यस्तै, दुई नेताबीच सहमति नभए मोहन आचार्य भरतबहादुर खड्का, निस्कल राई, वासना थापालगायतका नेताले पनि आकांक्षा राखेका छन् ।पार्टीले सोमबार दिनभर अनौपचारिक छलफल गरेर संसदीय दलको औपचारिक बैठक बोलाउने प्रयास गरे पनि सम्भव हुन सकेन । दलको नेता चयनका विषयमा कांग्रेसभित्र सहमति जुट्न सकिरहेको छैन। नेताहरूबीच आन्तरिक शक्ति सन्तुलन र आकांक्षीहरूको व्यवस्थापन मिलाउन नसक्दा नेता चुन्न सकस भएको हो । पार्टी प्रवक्ता चालिसेले भने, 'पार्टी नेतृत्व र निर्वाचित सांसदहरूबीच गहन छलफल हुन्छ, अब धेरै ढिला हुँदैन । दुई दिनभित्र निर्णयमा पुग्ने प्रयास भइरहेको छ ।' संसदीय दलको नेताका लागि कांग्रेसभित्र आकांक्षा देखिनु स्वाभाविक भएको तर्क गर्दै सहमहामन्त्री उदयशमशेर राणा सर्वसम्मत रूपमा मिलाउने प्रयास भइरहेकाले केही ढिलाइ भएको बताउँछन् ।

कांग्रेसका कारण संवैधानिक परिषद् अपुरो 

संवैधानिक परिषद्को संवैधानिक संरचनामा नेपाली कांग्रेस अत्यन्त महत्वपूर्ण निकाय हो, जसले विभिन्न संवैधानिक आयोग तथा निकायका प्रमुख नियुक्तिका लागि सिफारिस गर्ने काम गर्छ । परिषद् मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, प्रमुख प्रतिपक्षी दलको नेता, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ । हाल प्रमुख प्रतिपक्षी दलको नेता चयन नभएकाले परिषद्को संरचना पूर्ण हुन सकेको छैन। यसले गर्दा संवैधानिक निकायहरूमा भइरहेका रिक्त पदपूर्ति गर्ने प्रक्रिया प्रभावित हुन सक्ने पनि देखिन्छ । कांग्रेसले संसदीय दलको नेता चुन्न नसक्दा सरकारलाई जवाफदेही बनाउनुपर्ने भूमिकामा असर पुग्ने निश्चित छ । आफ्नै नेतृत्व चयनमा ढिलाइ हुँदा पार्टीको प्रभावकारिता कमजोर भएको सन्देश जाने जोखिम रहेको देउवा खेमाका अर्का एक नेता बताउँछन् । प्रवक्ता चालिसे भने संसदीय दलको नेताका विषयमा सहमति जुटाउन नेताहरू लागिपरेकाले अब केही दिनभित्रै संसदीय दलको नेता चयन हुने बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.