गण्डकी प्रदेशको मन्त्रिपरिषद्मा व्यापक हेरफेर, ८ मन्त्रीले लिए शपथ
पोखरा : गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् परिवर्तन भएको छ । एमाले र कांग्रेसको गठबन्धन सरकारमा दुवै दलबाट ४–४ जना नयाँ मन्त्री थपिएका हुन् । उनीहरूलाई गण्डकी प्रदेश प्रमुख डिल्ली भट्टले बुधबार मध्याह्न शपथ गराएका छन् । यससँगै गण्डकीको मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ ।
मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा नयाँ मन्त्रीहरूको नियुक्ति र शपथ भएको हो । गठबन्धनका तर्फबाट नेकपा एमालेका ४ जना सांसद सरकारमा सहभागी भएका छन् । एमालेका गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बनेका छन् ।
सोही दलकी यशोदा रिमाललाई उद्योग तथा पर्यटन मन्त्रीको जिम्मेवारी दिइएको छ । लक्ष्मण पाण्डेले कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्रीका रुपमा कार्यभार सम्हालेका छन् । भीम कार्कीले स्वास्थ्य मन्त्रीको सपथ लिएका छन् ।
नेपाली कांग्रेसका तर्फबाट पनि ४ जना मन्त्रीले नयाँ जिम्मेवारी पाएका छन् । कांग्रेसका जित शेरचन अर्थ मन्त्री नियुक्त भएका छन् । नन्दप्रसाद न्यौपानेले ऊर्जा,जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा पाएका छन् । नम्डु गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बनेका छन् । रेखा गुरुङलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी तोकिएको छ ।
मन्त्रालयको जिम्मेवारी बाँडफाँटमा केही फेरबदल भएको छ । यसअघि कृषि मन्त्रालय पद्मा जिसीले सम्हालेकी थिइन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी कृष्ण पाठकले पाएका थिए । प्रकाश केसी भौतिक पूर्वाधार र मित्रलाल बस्याल उद्योग तथा पर्यटन मन्त्री रहेका थिए । यस्तै डा.टकराज गुरुङले अर्थ र विन्दुकुमार थापाले सामाजिक विकास मन्त्रालय सम्हाल्दै आएका थिए ।
भेषबहादुर पौडेल यसअघि वन तथा वातावरण मन्त्री थिए । ऊर्जा,जलस्रोत तथा खानेपानी मन्त्रालय भने मुख्यमन्त्री सुरेन्द्र पाण्डे आफैले राखेका थिए ।
प्रतिक्रिया दिनुहोस !