विश्व कीर्तिमानी पूर्णिमा छैठौं पटक आरोहणका लागि सगरमाथातिर
गोरखा : दुई हप्तामा तीन पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकी आरोही पूर्णिमा श्रेष्ठ छैठौं पटक सगरमाथा आरोहण गर्न त्यसतर्फ प्रस्थान गरेकी छिन् । सतोरी एड्भेञ्चर प्रालिबाट छैठौँ पटक सगरमाथा आरोहण गर्न प्रस्थान गरिसकेको उनले जानकारी दिइन् ।

उनी अहिले सगरमाथा आधार शिविरमा पुगिसकेकी छिन् । केही दिनमा पहिलो शिविरतर्फ जाने तयारीमा रहेको उनको भनाइ छ । यसअघि उनले २०८१ बैशाख ३०, जेठ ६ र जेठ १२ गते सगरमाथाको चुचुरोमा पुगेकी थिइन् । १४ दिनको छोटो अवधिमा तीन पटक सगरमाथा आरोहण गरेबापत उनलाई यस बर्षको अन्तर्राष्ट्रिय नारी दिवसमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम अंकित गरेको प्रमाणपत्र प्रदान गरेको थियो ।
दुई साताभित्रै तीन पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गरेको भन्दै सन् २०२४ मा सिएनएन एथ्लेट्सको उत्कृष्ट सूचीमा पनि उनको नाम अंकित गरिएका थियो । पहिलो पटक २०७५ जेठमा सगरमाथा आरोहण गरेकी उनले गतबर्ष २०८२ जेठ ४ गते पाँचौं पटक सगरमाथाको सफल आरोहण गरेकी थिइन् । विश्वका आठ हजार मिटरभन्दा अग्ला सगरमाथा, केटु, कञ्चञ्जङ्घा, ल्होत्से, मकालु, मनास्लु, अन्नपूर्ण र धौलागिरी हिमाल विभिन्न समयमा गरी १४ पटक आरोहण गर्ने क्रममा उनले विभिन्न शीर्षकका कीर्तिमान कायम गरिसकेकी छन्। प्रसिद्ध आरोही श्रेष्ठ गोरखाको आरुघाट गाउँपालिका ९ आरुटारकी हुन् ।
प्रतिक्रिया दिनुहोस !