बृन्दावनमा अतिक्रमण गरी बनाइएका घर डोजर लगाएर भत्काइयो
रौतहट : बृन्दावन नगरपालिकाले अतिक्रमण गरेर वर्षौंदेखि बसोबास गर्दै आएका दुईजनाको घर शुक्रबार भत्काएर खाली गराएको छ । नगरपालिकाको निर्माणाधिन प्रशासनिक भवन निर्माणमा अवरोध पुगेपछि अतिक्रमति दुई घर भत्काएको पालिकाले जनाइएको छ ।
स्थानीय शैनुल नट र राम बिनय ठाकुरले अतिक्रमण गरेको २ कठा जमिन खाली गराएसँगै नगरपालिकासँग ८ कठा जमिन हुने जनाइएको छ । नगरपालिकाले पटक–पटक सूचना जारी गरे पनि अटेर गरेपछि चैत १ गते जनप्रतिनिधि,कर्मचारी र स्थानीयबीच भएको छलफलमा चैत १० गतेभित्र घर हटाउने सहमति भएको थियो ।

पालिकाको आधुनिक सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गर्न सिपी यतिआलम जेभीले ६ करोड ४६ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा निमार्णको लागि सकार गरिसकेको छ । तर, सहमति विपरीत उनीहरूले चैत १८ गते जिल्ला अदालत गौरमा मुद्दा दायर गरेका थिए। त्यसपछि अदालतले नगरपालिकाको नाममा निषेधाज्ञा जारी गरेको थियो।
चैत २५ गते अदालतले जाहेरवालाको मुद्दा खारेज गरेपछि शुक्रबार प्रहरी प्रशासनको उपस्थितिमा घर भत्काइएको हो। बृन्दाबन नगरपालिका वडा नं। २ का अध्यक्ष सिकेन्द्र पटेलका अनुसार उक्त स्थानमा अब नगरपालिकाको प्रशासनिक भवन निर्माण हुनेछ।
प्रतिक्रिया दिनुहोस !