कांग्रेस संसदीय दलको नेतामा धेरैको दाबी, प्रक्रिया मार्फत चयन हुने
काठमाडौं : नेपाली कांग्रेसको संसदीय दल नेता चयनका लागि सहमति नभए प्रक्रियामार्फत अघि बढ्ने तयारी भएको छ। कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समिति र सांसदहरूबीच शुक्रबार सिंहदरबारमा भएको छलफलमा सहमति नभए प्रक्रियामार्फत अघि बढ्ने जानकारी गराइएको हो।
छलफलपछि दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले सहमतिमा नै दलको नेता चयनका लागि आकांक्षी र नेतृत्वसँग छलफल गर्ने र सहमति हुन नसके प्रक्रिया अघि बढाउने जानकारी दिए। दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बेका साथै केही सांसदले दाबी प्रस्तुत गरेका थिए।
त्यस्तै संयोजक प्रकाश रसाइली स्नेहीले वर्तमान राजनीतिक परिस्थिति र पार्टीभित्र बृहत् एकता कायम गर्न दलको विधान संशोधन गरिने समेत जानकारी दिए। निर्वाचित भएपछि सम्पूर्ण पदाधिकारीहरू पनि दलको नेताले चयन गर्ने व्यवस्थालाई परिमार्जन गर्ने विषयमा पनि पार्टीका सांसदहरूलाई जानकारी गराइएको उनको भनाइ छ।
उनले दलको नेता चयनसँगै विधान संशोधनको प्रक्रिया पनि सँगसँगै अघि बढाइने धारणा राखे। छलफलपछि कांग्रेस सांसद अर्जुन नरसिंह केसीले सहमतिमा नै दलको नेता चयन गर्न सदस्यहरुले जोड दिएको बताए।
प्रतिक्रिया दिनुहोस !