दुई सातापछि खुल्यो बेनिघाट-लार्के सडक
गोरखा : गत चैत २२ गतेदेखि बन्द रहेको बेनिघाट-लार्के सडक दुई सातापछि सुचारु भएको छ। धार्चे ३ कालोभीरको सुक्खा पहिरो हटाइसकेपछि शुक्रबार साँझदेखि यातायातका साधन चल्न थालेको हो। सडक सुचारु भएसँगै चुमनुब्री गाउँपालिकाका बासिन्दा खुशी भएका छन्। आवतजावत तथा खाद्यान्न लगायत अत्यावश्यक सामान ढुवानी गर्न सहज भएको चुमनुब्री ३ फिलिमका सुजन गुरुङले बताए। साथै मनास्लु क्षेत्र र चुमभ्याली जाने पर्यटकलाई सहज भएको गुरुङको भनाइ छ।
लामो समयसम्म सडक अवरुद्ध हुँदा निर्माण सामग्री ढुवानी गर्न नपाउँदा विकास निर्माणका सामग्री ढुवानी गर्न नपाइएको चुमनुब्री ३ का वडाध्यक्ष रामकुमार गुरुङले बताए। साथै खाद्यान्न लगायतका सामग्रीको अभाव देखिन थालिसकेको उनको भनाइ छ।
गाउँपालिकाले स्थानीय दुईवटा हाइड्रोपावर कम्पनीलाई सो सडकको पहिरो हटाइदिन आग्रह गरेपछि साहस ऊर्जा र यारुखोला हाइड्रोपावर कम्पनीले पहिरो हटाएका धार्चेका अध्यक्ष लक्ष्मण गुरुङले बताए।
५ दिन लगातार एक्साभेटर लगाएर वैकल्पिक ट्रयाक खोलिएको उनले बताए
प्रतिक्रिया दिनुहोस !