सुरक्षण मुद्रण केन्द्रले छाप्दै १२ लाख स्मार्ट लाइसेन्स
काठमाडौं : सुरक्षण मुद्रण केन्द्रले १२ लाख स्मार्ट लाइसेन्स छाप्ने काम अन्तिम चरणमा पुर्याएको छ। केन्द्र र यातायात विभागसँग १२ लाख स्मार्ट लाइसेन्स ६ महिनामा छाप्ने गरी गत कात्तिकमा सम्झौता भएको थियो।
१२ लाख थान सवारीचालक अनुमतिपत्र (लाइसेन्स)मध्ये हालसम्म ८ लाख थान छपाइ सम्पन्न गरेको छ। केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाका अनुसार बाँकी ४ लाख कार्ड आगामी तीन–चार दिनभित्रै (वैशाख ११ सम्म) छापिसकिने तयारी छ। सुरुवाती तीन महिना परीक्षणकाल र आवश्यक सामग्रीको अभावका कारण छपाइ सुस्त भए पनि पछिल्लो तीन हप्तादेखि कामले तीव्रता पाएको र हाल दैनिक ४० हजारभन्दा बढी कार्ड उत्पादन भइरहेको उनले जानकारी दिए।
‘सुरुका तीन महिना कहिले दिनको पाँच सय त कहिले छाप्नै सकेनौं। करिब तीन हप्तादेखि दैनिक ४० हजारका दरले छापेका छौं। शुक्रबारसम्म छापिएका लाइसेन्स यातायात विभागलाई बुझाइ पनि सकेका छौं,’ उनले अन्नपूर्णसँग भने। हाल करिब २९ लाख थान लाइसेन्स छाप्न बाँकी रहेकामा १२ लाख छापिएपछि आगामी असार मसान्तसम्म करिब १७ लाख लाइसेन्स केन्द्रले छापिसक्ने बताएको छ।
विभागको तथ्यांकअनुसार हाल दैनिक करिब चार हजार नयाँ लाइसेन्सको माग हुने गरेको तिमिल्सिना बताउँछन्। उपसचिव तिमिल्सिनाले विभागले समयमै तथ्यांक उपलब्ध गराएमा केन्द्रले २४ घण्टाभित्रै लाइसेन्स प्रिन्ट गर्न सक्ने क्षमता राख्नेसमेत स्पष्ट पारे। यद्यपि, राहदानी, चेकबुक र अन्तःशुल्क स्टिकर छपाइका लागि भने थप पूर्वाधार र तयारी आवश्यक रहेको उनले बताए।
केन्द्रले लाइसेन्ससँगै हुलाक टिकटको छपाइ पनि जारी राखेको छ। हुलाक सेवा विभागसँग १ करोड ४५ लाख थान हुलाक टिकट छाप्ने सम्झौताअनुसार हालसम्म ३० लाख थान छापिसकिएको र थप ६० लाखको प्रक्रिया अर्को हप्तादेखि सुरु हुने उपसचिव तिमिल्सिनाले जानकारी दिए।
मुलुकमा चिप्ससहितको ‘स्मार्ट ड्राइभिङ लाइसेन्स’ अर्थात् स्मार्ट लाइसेन्स २०७२ असारबाट परीक्षणका रूपमा सुरु गरिएको थियो। त्यसपछि मंसिरतिर काठमाडौं उपत्यकामा वितरण सुरु गरिएको थियो।
२०७३ सालमा नेपाल सरकारले ‘सुरक्षित मुद्रण विकास समिति गठन आदेश’ जारी गर्दै प्रेस स्थापना र सञ्चालनको कानुनी आधार तयार गरेको थियो। सुरक्षण मुद्रण ऐन २०८१ असारमा र नियमावली ०८२ कात्तिक १० गते जारी भएको थियो। प्रेसमा भएको विद्युतीय ट्रान्सफर्मर खरिदसम्बन्धी भ्रष्टाचार प्रकरणका कारण सञ्चालनमा आउन सकेको थिएन। विदेशबाट उपकरण आयात भए पनि प्रेस सञ्चालनको पूर्वाधार र व्यवस्थापनमा समस्या देखिएको थियो।
केन्द्रमा सञ्चारमन्त्रीको निरीक्षण
गत शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको पनौती–५ स्थित सुरक्षण मुद्रण केन्द्र निरीक्षण गरेका छन्। उनले लाइसेन्स छपाइलाई तीव्र बनाउन निर्देशन दिए। त्यस्तै, ट्रायल पास गरी राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था लागू गरिएको बताए।
मन्त्री तिमिल्सिनाले लामो समयसम्म लाइसेन्स नपाउने समस्या अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै बाँकी सबै लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य लिइएको बताए। निरीक्षणका क्रममा उनले सुरक्षण मुद्रण केन्द्रलाई प्रभावकारी र सक्षम संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। विगतमा आवश्यक इच्छाशक्ति र व्यवस्थापन अभावका कारण काम ढिला भएको उल्लेख गर्दै अब ती समस्या समाधान गर्दै अघि बढ्ने तिमिल्सिनाको भनाइ थियो।
अर्बौं रकम खर्च गरेर खरिद गरिएका उपकरण लामो समयदेखि थन्किएकोमा तिनलाई सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिएको पनि उनले जानकारी दिए। केन्द्रमा करिब एक अर्ब रुपैयाँबराबरका उपकरण प्रयोगविहीन हुनु दुःखद् रहेको भन्दै अब त्यसको प्रभावकारी उपयोग गरिने बताए। उनले केन्द्रलाई नागरिकको डाटा सुरक्षालाई प्राथमिकतामा राख्न र सेवाग्राहीमैत्री सेवा दिन निर्देशन दिए।
प्रतिक्रिया दिनुहोस !