पासपोर्ट थन्काएर घार समाते, मौरीले फेरिदियो जिन्दगी

पासपोर्ट थन्काएर घार समाते, मौरीले फेरिदियो जिन्दगी

बर्दिबास : आहा ! महको स्वाद र मगमग सुगन्ध । औषधिका लागि होस् वा खाजाका लागि । मह मन नपराउने कमै होलान । त्यही मह उत्पादनले ४७ वर्षीय सुरेश बस्नेतको जीवनमा आर्थिक क्रान्ति ल्याइदिएको छ । 

मौरी पालनुअघि उनी २०६४ सालमा साउदी उडेका थिए । त्यहाँको दुःख र हन्डर खेप्न सकेनन् । ११ महिनामै स्वदेश फर्किए । अनि मौरी पालन थाले  ।  उनले बार्षिक रुपमा अहिले लाखौं रुपैयाँ महबाटै कमाउँछन् ।  चितवनको खैरहनी नगरपालिका— ४ का सुरेश यतिखेर मौरीको घार लिएर महोत्तरीको बर्दिबास क्षेत्रका जंगलमा रमाइरहेका छन् । सागरनाथ वन विकास परियोजनको जंगल उनका लागि मुख्य गणतव्यस्थल बनेको छ ।

null जहाँ भीक्स प्रजातिका वृक्षको जंगल छन् ।  मह उत्पादनका लागि भीक्सको वन उत्कृष्ट मानिन्छ । बस्नेतले  २८४ घार मौरी पालेका छन् । मौरी चरणका लागि उनी जस्ता दर्जनौं मौरीपालक किसान महोत्तरीको बर्दिबास र गौशालाका वन क्षेत्रमा आएका छन् ।  बिहानदेखि बेलुकासम्म मौरीलाई स्यहार्दैमा सुरेशकोे दैनिकी बित्छ । फागुन र चैत्र गरेर दुई महिनामा १८ क्विन्टल मह काढेर उनले १० लाख कमाई सकेका छन् । अब अझै बैशाखको अन्तिम हप्ता ७ क्विन्टल मह काढेर ३ लाख कमाउने लक्ष्य लिएका छन् ।

२०६४ सालमा सुरेशले पासपोर्ट बनाए । ऋण काढेर साउदी उडे ।  भनेका जस्तो काम पाएनन् । लोभ देखाएको जस्तो दाम भेटिएन । उनी विरोनो भूमिमा रोए । कान समाते । अनि स्वदेश फर्किए । उनी भन्छन्, ‘त्यहाँको दुःख देखेर कान समातेर अब कहिले जीन्दगीमा अर्काको देश नजाने भनेर घर फर्किएँ । पासपोर्ट सिरानीमुनी थन्काएर १२ घार मौरी पालन सुरु गरे । अहिले राम्रो आम्दानी मात्रै भएको छैन, सम्मान र इज्जत पनि मौरीले दिलायो ।’

null

उनका मामा अशोक बस्नेतले उनलाई मौरी पालनको सीप, शिक्षा दिएका थिए । जो अहिले बर्दिबासमा सँगै मौरीको घार लिएर आएका छन् । सानोमा छिमेकीले मौरी पालेको सुरेशले देखेका थिए । साइकल चलाएर कोसौं टाढा महको चाका खान जान्थे । अन्तमा बालपनमा चाखेको त्यही महको स्वादले उनलाई सफल मौरी पालक किसान बनायो ।  सुरेश भन्छन्, ‘स्वदेशमै मौरी पालेर मालामाल भएका छौं । अरु के चाहियो ।’

महोत्तरीको बर्दिबास शैक्षिक र व्यापारिक सहरको सम्भावना भएको  स्थान मात्रै होइन्, मौरी पालक किसानकाहरुका लागि लोभलाग्दो स्थान बनेको छ । जुन तथ्य सुरेशको दैनिकीले प्रस्तुत गरिरहेको छ । चुरिया जंगलको काखमा उभिएको बर्दिबास र गौशाला क्षेत्र मौरी पालक किसानका लागि उर्वर स्थान मानिन्छ । यहाँका वनपाखाको वृक्षमा फूल लागेपछि मौरीको घार लिएर चितवानका किसानहरु फागुन पहिलो साता आउँछन् । यो क्रम १० वर्षदेखि चल्दै आएको  छ ।

nullयहाँका प्राकृतिक वन छाँटाहरुको महत्वबारे यहाँका स्थानीय सरकार र किसानहरु अनभिज्ञ छन् । तर,  चितवनका  मौरी पालक किसानहरु १० वर्षदेखि यहाँ मौरी चराएर मह उत्पादन गरी दाम मात्रै होइन् नाम पनि कमाएका छन् । बैशाख महिनाको अन्तिम समयसम्म चितवनका सयौं किसानहरु महोत्तरी, सर्लाही रौतहटका वन क्षेत्रबाट करोडौं रुपैयाँको मह काढेर फर्किने तयारीमा रहेका छन् । 

सुरेशले मह उत्पादनका लागि बस्नेत बी फर्म नै स्थापना गरेका छन् । उनी महोत्तरीको बर्दिबास  नगरपालिका-२ स्थित  हङकङडाँडाको जंगल क्षेत्रमा मौरी घार राखेका छन् । सुरेशले यसैभूमिबाट मह उत्पादनको सफलताको कथा देशलाई सुनाइरहेका छन् । उनको प्रगति सुन्दै  लोभलाग्दो छ । तर, उनी भन्छन्, ‘मौरीको टोकाई सहन सके मात्रै हजारको बिटा लिएर घर फर्किन सकिन्छ ।’

मौरीको घार कहाँ छ भनेर खोज्नु पर्दैन । महको मगमग सुगन्धले सुरेशको फर्मको बाटोमा डोर्‍याउँछ । महको बासनाले सुरेशको पौरखको कथा बोल्छ। वैदेशिक रोजगारीबाट रित्तै हात फर्किएको व्यथालाई बिर्साउँछ । सुगन्धले मोहित भएर उपभोक्ताले उत्पादन स्थलबाटै मह किन्ने गरेका छन् । देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन सुरेशले सहिरहेका छन् असंख्यक मौरीको टोकाई अनि हावाहुन्डरी र असिनो चोट । जहाँबाट देशलाई सुरेशले सुनाइरहेका छन्,- गर्न सके देशमै आर्थिक क्रान्ति सम्भवना छ ।

null‘फागुनको पहिलो साता रातभरी गाडीमा लोड गरेर मौरीको घार लिएर आएका थियौं । दुई लट मह काढिसके । अर्को एक लटको पर्खाइमा छौं । मौरी पालनका लागि गौशाला र बर्दिबासको वन क्षेत्र उत्कृष्ट स्थान हो । भीक्स (सपेता) को जंगल छ’, उनी भन्छन्, ‘सपेताको जंगलमा फूल लागेपछि हामी यहाँ मौरी लिएर आउने गर्छौं । तोरीको मह जम्छ तर, भीक्सको फूलबाट उत्पादित मह जम्दैन । बेच्न सजिलो हुन्छ ।’ दुई लटमा  १० लाख बराबरको १८ क्विन्टल मह काढेको उनी सुनाउँछन् ।

उनका अनुसार प्याकेजिङ गरेर प्रतिकेजी ८ सयको दरले मह बिक्री हुन्छन् । होलसेल रेट करिब ६ सयको किलोमा बिक्री हुन्छ । उनी भन्छन्, ‘यसपालि मौसमले अभुतपूर्वरुपमा साथ दियो । भीक्सको बोटमा मनग्यै फूल लागेको थियो । ७ वर्षयताको सबै भन्दा राम्रो मह उत्पादन भयो । अब एक लट बैशाखा महिनाको अन्तिममा काढ्छौं ।  त्यसबाट ७ क्विन्टल मह आउँछ । त्यस्तै तीन लाखको मह काढेर अनि यो सिजन सकेर घर फर्किन्छौं।’

सुरेशका मामा ७६ वर्षीय अशोक बस्नेतको जीवन पनि मौरी पालनमा बितेको छ । उनले आफूले सिकेको सीप धेरैलाई सिकाएका छन् । उनले बर्दिबास नगरपालिका- ८ हात्तीलेटमा मौरीको घार चरनका लागि राखेका छन् । चितवनको कालिका नगरपालिका-७ उनी रागभ फर्म स्थापना गरेर मह उत्पदान गरिरहेका छन् । उनको १२५ घार मौरी छ  । बर्दिबास क्षेत्रमा एक सय घार मौरी लिएर आएको उनी सुनाउँछन् ।  यो सिजनमा ८ क्विन्टल मह उत्पादन भएको उनी सुनाउँछन् । 

उनी भन्छन्, ‘महले हाम्रो जीवन फेरिदियो । पालन सहज छ । ७६ वर्षको उमेरमा पनि मौरीको घार लिएर हिडेको छु । छोराछोरी जस्तै मौरीको माया लाग्छन् । भन्नु के गरौं, दालभात, औषधि उपचार र घर परिवार मह बिक्री गरेर चल्छ ।’ पतन्जली, डाबर कम्पनीले उत्पादित मह खरिद गरेर लाने गरेको अशोक सुनाउँछन् । गाउँतिरकाले पनि खान मह किन्छन् ।  चितवन, पोखरा, काठमाडौंका शहरहरुमा महोत्तरीको महले बजार पाउने गरेको उनी बताउँछन् । २०५८ सालदेखि मौरी पाल्न सुरु गरेको अशोकलाई मौरी पालनको आम्दानीले लोभ्याएको छ । 

त्यसैगरी चितवनको खैरहनी नगरपालिका- ८ का ३५ वर्षीय युवराज कार्की पनि मौरी पालनमै रमाएका छन् । स्कूल पढ्दा पढ्दै उनले मौरीसँग मित लगाए । त्यसले उनलाई मालामाल बनाएको छ । उनीसँग  १ सय घार मौरी छ । ७५ वटा घार लिएर उनी बर्दिबास आएका छन् । यो सिजनमा ७ क्विन्टल मह काढिसकेको  सुनाए । उनी १० वर्षदेखि   मौरी पालन गर्दै आएका छन् ।

नेपालमा चितवन जिल्लाका मौरी पालक किसानहरु व्यवसायी रुपमा मह उत्पादन गर्दै आएका छन् । सुरेश भन्छन्, ‘पहिला बाउबाजेले जहाँजहाँ घास हुन्थ्यो त्यहाँ  गाईवस्तु लान्थे । अहिले जहाँजहाँ फूल लाग्छ त्यहाँ त्यहाँ मौरीको घार लाने हो ।  रमाइलो लाग्छ यो पेशा । दुई–चार दिन बाहिर गयो भने कहिले मौरी घार हेर्न जाउँ जस्तो लाग्छ ।’ वर्षको ७ महिना महको सिजन हुने गरेको उनी सुनाउँछन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.