ट्रम्पको टिप्पणीले इरानसँगको वार्ता कहाँ पुग्छ भन्ने अनिश्चित
अमेरिका : अमेरिका र इरानबीचको सम्भावित दोस्रो चरणको वार्ता अन्योलमा परेको छ । दुई देशको अभिव्यक्तिका कारण दोस्रो चरणको वार्ता अनिश्चित बनेको हो ।
इरानसँगको युद्ध अन्त्य गर्ने सम्झौता नजिकिँदै गएका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा गरेका पोस्टहरुले अनिश्चितता बढाएको हो । केहि दिनअघिसम्म अमेरिका र इरानबीच सात हप्तादेखि जारी युद्ध अन्त्य गर्ने सम्झौता हुन लागेको संकेत देखिएको थियो । तर राष्ट्रपति ट्रम्पले आफ्ना सहयोगीहरूले नगर्ने भनेको काम गरे ।
सामाजिक सञ्जालमार्फत ट्रम्पले इरानले विभिन्न शर्तहरूमा सहमति जनाएको दाबी गरे । जबकी वार्तासँग परिचित स्रोतहरूले भने ती शर्तहरू अझै अन्तिम नभएको बताएका छन् । उनले इरानले अमेरिकाका मागहरू-जस्तै समृद्ध युरेनियम हस्तान्तरण गर्ने समेत स्वीकार गरेको बताउँदै युद्ध चाँडै अन्त्य हुने घोषणा गरे ।
तर इरानी अधिकारीहरूले यी दाबीहरूलाई सार्वजनिक रूपमा अस्वीकार गर्दै अर्को चरणको वार्ताका लागि तयारी भइरहेको कुरा पनि नकारे । यसले सम्झौता हुने आशा कमजोर बनायो । अहिले शान्ति वार्ता कहाँ पुग्छ भन्ने अनिश्चित भएको छ । ट्रम्प प्रशासनका केही अधिकारीहरूले राष्ट्रपतिद्वारा गरिएको सार्वजनिक टिप्पणीले वार्तामा नकारात्मक प्रभाव पारेको बताएका छन् ।
उनीहरूले वार्ताको संवेदनशीलता र अमेरिकाप्रति इरानको गहिरो अविश्वासलाई ध्यानमा राख्नुपर्ने बताएका छन् । अर्को जटिलता भनेको-अमेरिकी अधिकारीहरूलाई शंका छ कि इरानको वार्ता टोली (जसको नेतृत्व संसद् सभामुख मोहम्मद बाघेर घालिबाफ र विदेशमन्त्री अब्बास अराघचीले गरिरहेका छन्) र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सबीच मतभेद हुन सक्छ । यसले अन्ततः सम्झौतामा हस्ताक्षर गर्ने अधिकार कससँग छ भन्ने प्रश्न उठाएको छ ।
प्रतिक्रिया दिनुहोस !